जापानको विमानस्थलमा भीषण हिमपात, हजारौँ यात्रु अलपत्र

  २०७३ पुष १० गते १७:३८     विकासन्युज

टोकियो, १० पुस । उत्तरी जापानमा भएको भीषण हिमपातका कारण हवाई तथा रेलसेवा अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । होकाइदो द्विपमा शुक्रबार बेलुका ९६ सेन्टीमिटरसम्म हिउँ जमेको थियो । जापानको मौसम विज्ञान निकायले आधा शताब्दीकै सबैभन्दा धेरै हिउँ परेको बताएका छन् ।

उत्तरी क्षेत्रमा जाने प्रमुखद्धारको रुपमा रहेको न्यु चिटोसे विमानस्थलका सयौँ उडान हिमपातका कारण स्थगित भएका छन् । विमानस्थलका सुरक्षा अधिकारीहरुले बिहीबार दुई हजार पाँच सय, शुक्रबार छ हजार र शनिबार दुई छ सय जना विमानस्थलमै जवरजस्ती रातभरी बसेका बताएका छन् ।

बिदा मनाउनका लागि सबैजसो उडानहरु भरिएकाले विमानस्थलमा यात्रुहरुको दुर्दशा भएको जापानको राष्ट्रिय प्रसारण एनएचकेले जनाएको छ । शुक्रबार मात्रै २८० भन्दाबढी उडान र हप्तान्तमा सयभन्दा बढी रेलसेवा रद्ध भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर आइतबारदेखि भने मौसममा धेरै सुधार आएको बताइएको छ ।

निकै ठूलो पहाडी क्षेत्र र धुले हिउँका लागि प्रख्यात होकाईदोमा जापानका नागरिकबाहेक अस्ट्रेलिया र चीनबाट पनि पर्यटक आउने गर्दछन् । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.