२०७३ साउन १० गते ६:५६ विकासन्युज
तपाईको नेतृत्वमा नेपाल टेलिकममा के के कामहरु भए ? आफ्नो कार्यकालको समीक्षा कसरी गर्नुहुन्छ ?
नेपाल टेलिकमको नेतृत्व सम्हालेको करिब दुई वर्ष हुन लाग्यो । यो छोटो अवधिमा संस्थाले धेरै फड्को मारेको छ । आम्दानीको वृद्धि, खुद मुनाफा र ग्राहक संख्याको वृद्धिलाई हेर्ने हो भने म आउनु भन्दा पहिलेको तुलनामा कम्पनीले निकै फड्को मारेको छ । त्यतिबेला कम्पनीका नयाँ योजनाको कार्यान्वयन अवस्था सुस्त थिए । तीन वटा आयोजना त अघि जाँदैनन भन्ने अवस्थामा थिए । म आएपछि सुधार गरेर सम्पन्न हुने अवस्थामा पुगिसकेका छन् । सीआरटीपी बिलिङ र सीडीएमएको योजना सुसुप्त अवस्थामा पुगिसकेका थिए । फाइबर टु द होम सेवा हामीले नै पहिले सुरु गरेका हौं । त्यसपछि वाइम्याक्सलाई हट स्पटका रुपमा अघि बढाएका छौं । अहिले पनि विस्तारको काम भैरहेको छ । संस्थागत सुधारको काम पनि निकै भएका छन् । कम्पनीको पुनसंरचना र स्वेच्छिक अवकास लागू गर्ने कुरा पनि अघि बढेको छ । ८ सय भन्दा बढी कर्मचारीलाई स्वेच्छिक अवकास मार्फत विदा दियौं ।
कम्पनीमा ३० औं वर्षदेखिको सांगठनिक संरचना थियो । केही लाख उपभोक्ता हुँदाको संरचना डेढ करोड ग्राहक संख्या पुगेपछि पुरर्सरचना गर्नु पर्ने थियो । हामीले केन्द्रिकृत संरचनालाई विकेन्द्रित गरिदिएका छौं । नयाँ संविधानको मर्म अनुसार विकेन्द्रित पनि गरेका छौं । सेवा विस्तार, आम्दानी, मुनाफा र संस्थागत सुधारका सबै कोणबाट हेर्ने हो भने मेरो कार्यकालमा धेरै कामहरु भए भन्ने मलाई लाग्छ ।
वित्तीय सुधार के के भयो ?
विगत दुई तीन वर्षदेखि कम्पनीको आम्दानी वार्षिक एक अर्बले मात्रै बढिरहेको थियो । खुद नाफा त बढेकै थिएन । म आउने वित्तिकै पहिलो वर्ष नै आम्दानी तीन अर्ब रुपैयाँले बढ्यो र खुद आम्दानी पनि तीन अर्बले नै वृद्धि भयो । ग्राहक संख्या वृद्धि र सर्भिसमा आएको सुधारका कारण नाफा बढेको हो । हामीले डाटा सेवालाई अलि प्राथमिकता दिएका छौं । आम्दानीमा पनि डाटाको योगदान बढेको छ । यसपाली लगानी कर्तालाई ५० प्रतिशत लाभांश दिएका छौं । समग्रमा आम्दानी बढिरहेको छ ।
यति हुँदाहुँदै पनि सुधार गर्नुपर्ने कुरा पनि धेरै छन् । सार्वजनिक खरिद ऐन संसोधन भएको छ । त्यसमा नेपाल टेलिकम जस्ता संस्थालाई स्वायत्तता दिने भनिएको छ । निजी क्षेत्रसँग प्रतिष्पर्धा गर्नु पर्ने सार्वजनिक संस्थानले खरिद ऐन पालना गर्नु नपर्ने भनिएको छ । त्यसको कार्यान्वयन भयो भने आगामी दिनमा सुधार कार्यक्रमलाई, नयाँ कार्यक्रमलाई कार्यान्वन गर्न सहज बनाउँछ ।
आगामी वर्ष टेलिकमका लगानी कर्ताले कति लाभांश पाउँछन् ?
हामी असार मसान्तको रिपोर्ट निकाल्ने तयारीमा छौं । यसपालि भिआरएस (स्वेच्छिक अवकास)मा पनि केही खर्च भएको छ । तैपनि गत वर्षभन्दा नामामा अझै सुधार आउँछ ।
सेयर बजार दैनिक दोहोरो अंकले बढिरहेको छ तर नेपाल टेलिकमको मूल्य किन बढेन ?
नेपाल टेलिकमको सेयर संख्या निकैै ठूलो छ । अहिले नै नेपाल टेलिकमको पूँजी अहिले नै ठूलो छ । हामीले ५० प्रतिशत लाभांश दिँदा साढे सात अर्ब रुपैंयाँ बाहिरिन्छि । नेपालमा यतिधेरै लाभांश बाँड्ने कम्पनी अहिलेसम्म टेलिकम बाहेक कुनै छैन ।
तैपनि लगानीकर्ताले टेलिकमलाई पत्याएनन् नि ?
नेपाल टेलिकमको सेयरमा मानिसले विश्वास नभएको होइन । आज किनेर भोली बेच्ने र नाफा आर्जन गर्ने उदेश्यले सेयरमा लगानी गर्नेले नेपाल टेलिकमको सेयर किनेको छैनन् । तर लाभांश खानेहरुले किनिरहेका छन् ।
नेपालको सेयर बजारमा कम्पनीले कति बोनस र राइट सेयर दिँदैछ भनेर लगानी गर्नेहरु हावी भएका छन् । यस्तो बजारलाई राम्रो मानिदैन । नेपालको पुँजी बजार त्यति वैज्ञानिक आधारमा अघि बढेको छैन । नेपाल टेलिकमको बुक भ्याल्यु पाँच सय रुपैयाँ छ, साधारण सिद्धान्तले पनि टेलिकमको सेयर मूल्य १५ सय हुनुपर्ने हो । अहिले हाम्रो नेटवर्थ एक खर्ब १५ अर्ब छ । यत्रो नेट वर्थ भएको कम्पनीको सेयर मूल्य ६ सय, यस्तो पनि हुन्छ ?
टेलिकमसँग १५ अर्ब सेयर पुँजी छ । यसलाई ३० अर्ब पुर्याउने भनेर निर्णय गर्ने हो भने सेयर मूल्य प्रतिकित्ता ३ हजार रुपैयाँ पुग्छ । तर ५० प्रतिशत नगद लाभांश दिँदा पनि बजार भाउ २५ प्रतिशत लाभांश दिँदाको समयमा जति छ ।
सेयर बजारको इकोनोमिक्स पनि हेर्नु पर्छ । अहिले इन्स्योरेन्स कम्पनीको बजार मुल्य बढेको छ । त्यसमा पोलिसीगत कुराले प्रभाव पारेको छ । टेलिकम चलाउने कम्पनीले कम्तिमा पनि ३० अर्ब लगानी नगरी हुँदैन भनेर नियामक निकायले भन्यो भने नेपाल टेलिकमको सेयर मूल्य पनि ह्वात्तै बढ्छ । नेपाल राष्ट्रले बैंकलाई ८ अर्ब सेयर पुर्याउन भन्यो । त्यसले हरेक बैंकको सेयर मुल्य बढ्यो । आठ अर्ब सेयर पुगेको दिन बैंकको सेयर मुल्य हेर्नु होस कुन अवस्थामा आउनेछ ।
नेपाल टेलिकमका उपभोक्ताले चाँही के पाए, गुणस्तरमा कति सुधार भयो ?
उपभोक्ताले पहिलेको भन्दा सजिलोसँग सेवा प्राप्त गर्ने मौका पाएका छन् । पछिल्लो समयमा सेवालाई केही गुणस्तरीय बनाएका छौं । गुणस्तर सापेक्षित कुरा हो । अझै धेरै सुधार गर्न बाँकी नै छ । हाम्रा विधि प्रक्रिया र कानुनी सीमाहरु पनि छन् । त्यसका बाबजुद पनि गुणस्तर सुधारका यथेष्ठ काम भएका छन् । ग्राहकका लागि विभिन्न किसिमका प्याकेजहरु सुरु गरेका छौं । डाटा प्याकेजहरु पनि ल्याएका छौं । ग्राहकले असीमित वा सीमित डाटाका प्याकेज प्रयोग गर्न सक्छन् । थ्रीजी सेवा धेरै विस्तार भैसकेको छ ।
नेपाल टेलिकमका प्रतिस्प्रर्धी कम्पनी एनसेलको लगानीकर्ता परिवर्तन भएको छ, आक्रामक रुपमा अगाडि बढ्ने संकेत गरेको छ, अब यस कम्पनीको भविष्य के हुन्छ ?
नेपाल टेलिकमलाई अरुसँग सिधा दाज्नु भयो भने अन्याय हुन्छ । नेपाल टेलिकम एउटा त्यस्तो संस्था हो जसले विभिन्न किसिमका सेवा दिन्छ । एउटा घरमा टेलिफोन मर्मत गर्न त्यो स्टेशनमा दुई जना मान्छे, एउटा गाढी र जेनेरेटर राख्नुपर्छ । हामी नाफा कम भएपनि सेवा दिने दायित्व पुरा गरिरहेका छौं । जुन स्रोतबाट ८० प्रतिशत आम्दानी भइराखेको छ त्यो स्रोतको २० प्रतिशत लगानी भैरहेको छ । जुन क्षेत्रबाट २० प्रतिशत मात्रै आम्दानी भईराखेको छ त्यस क्षेत्रमा स्रोतको ८० प्रतिशत लगानी भैरहेको छ ।
आजको दिनमा हामीले हुम्लामा पाँच लाख ढुवानी खर्च गरेर भिस्याट चलाएर सेवा दिईरहेका छौं । त्यहाँबाट खासै आम्दानी हुन्न । हामी यसरी पनि समाजिक रुपमा जिम्मेवार भएर लगानी गरिरहेका छौं । हाम्रो लगानी धेरै छ । हामीले वायरलेसमा भन्दा अरु सेवामा धेरै ध्यान दिईरहनु परेको छ । हाम्रो फोकस धेरै कुरामा छ । ग्राहकले जे खोजे त्यो सर्भिस दिनुपर्छ भन्ने मान्यतामा काम गरिरहेका छौं । त्यसलै संस्थाको पुनसंरचनाको काम सुरु गरेका छौं । अब वायरलेस, वायरलाइन, पूर्वाधार, बिजनेश, ग्राहक सेवा सबै क्षेत्रको छुट्टा छुट्टै जिम्मेवारी दिने काम गर्दैछौं ।
यद्यपी हाम्रो पहिलो प्राथमिकता व्यापार नै हो । तर सामाजिक उत्तरदायीत्वसहितको व्यापार हाम्रो उदेश्य हो । हामीले विदेश जानेका परिवारलाई सित्तैमा सिमकार्ड दिएका छौं । बहिराहरुका लागि ५० पैसामा भिडियो कल गर्ने व्यवस्था मिलाएका छौं । जनआन्दोलनका घाइतेलाई पनि सम्मान गरेका छौं । यो भनेको सेवा उपभोग गर्ने जनताकै कम्पनी हो । हामीले कमाएको पैसा जनतामै जाने हो । कर्मचारीले तलब खाने बाहेक सबै काम जनताकै लागि गर्ने हो ।
नयाँ योजना के के छन् ?
हामीले सानादेखि ठूला कार्यक्रम कार्ययोजनामा राखेका थियौं । केहि दिन भित्रै कस्टुमर केयर सेन्टर सञ्चालन हुँदैछ । देशैभरका कस्टुमरले एउटै नम्बरमा फोन गरेर गुनासो दर्ता गराउने व्यवस्था हुन्छ । ग्राहकले आफ्नो क्षेत्रमा के समस्या छ भन्ने आफैं पत्ता लगाउन सक्ने व्यवस्था हुँदैछ । त्यस बाहेक हामी चौथो पुस्ताको फोर जी सेवामा जाँदैछौं ।
जीएसएम नपुगेको ठाउँमा सिडिएमए फोन अझै विस्तार गर्दैछौं । दुर्गममा सिडिएमए प्रविधि अझै उपयुक्त नै छ । काठमाडौं उपत्यकालाई हटस्पटका रुपमा विकास गरिँदैछ । कुनै ठाउँमा पुग्दा एनटी वाइफाइ देखिन्छ । १६०९, १६०५ मा एसएमएस गरेपछि पासवर्ड आउँछ, त्यसबाट आफुले चाहेजति डाटा चलाउन सकिन्छ । एक घण्टाको १० रुपैंयाँ र पाँच घण्टाका लागि ३० रुपैंयाँ लाग्छ । थ्रीजीको ग्राहकले वाइफाई नेटवर्कमा पुगेपछि वाइफाइमा अपलोड गरिनेछ ।
इन्टरनेट ट्राफिक म्यानेजमेन्ट सिस्टमले डाटाको खर्च कम गराउँछ । टेलिकमको पूर्वाधार विकासका लागि नेपाल दुरसञ्चार प्राधिकरणसँग मिलेर पूर्वी क्षेत्रको पुष्पपाल लोकमार्गदेखि गोरखासम्म अप्टिकल फाइबर विस्तार गरिँदैछ । चार अर्बको त्यो प्रोजेक्टबारे साउन १५ गते सम्झौता गर्दैछौं ।
चीनसँग अप्टिकल फाइबर जोडिसकिएको छ । साउन १५पछि चीनको अप्टिकल फाइबर सञ्चालनमा आउँछ । नेपालको टेलिकम गेटवेको नयाँ विकल्प खडा हुन्छ ।
फोरजी के हो र यो कसरी आउँछ ? मूल्य कति हुन्छ ?
फोरजी भनेको ब्रोड ब्याण्ड मोबाइल डाटा सर्भिस हो । थ्रीजी भन्दा धेरै राम्रो डाटा स्पिड हुन्छ । भिडियो डाउनलोडदेखि च्याटसम्मका सुबिधा द्रुत बनाउँछ । फोरजीको मुख्य उदेश्य भनेको वायरलेस डाटा सेवा बिना कुनै अवरोध प्रयोग गर्न पाउने सुबिधा हो । थ्रीजीको विकसित रुप हो । तर फोरजीमा भ्वाइस सर्भिस हुँदैन । भ्वाइस आयो भने त्यो अटोमेटिक रुपमा थ्रीजीमा अपलोड गरेर कुरा गर्न सकिन्छ ।
दुई वर्षको कार्यकाल सकिदै छ, पुनःनियुक्तीको दौडमा हो ?
पहिलो कार्यकालमा अधुरै रहेका काम सम्पन्न गर्ने र गर्न नसकेको कामहरु पर्ने चाहाना छ । पूर्वाधार विकास पहिलो प्राथमिकता हो । अर्काे एक वर्षपछि फोरजीबाट फाइभजीमा जानुपर्छ । देशभर कार्पेट कभरेजका रुपमा थ्रीजी सेवा विस्तार पहिलो लक्ष्य हो । दुई वर्षको अनुभवले धेरै कुरा सिकाएको छ । विकसित प्रविधि र बजारले मागेका अनुसार अरु धेरै काम गर्न सकिन्छ । त्यसैले पुनः जिम्मेवारी लिएर काम गर्ने चाहाना छ । काम गर्ने मौका मिल्यो भने धेरै काम गर्न सकिन्छ । प्रतिष्पर्धाको चरण रहेकाले धेरै कुरा गर्नु उपयुक्त नहोला ।
टेलिकमले रणनीतिक साँझेदार ल्याउन नचाहेको हो वा चाहेर पनि ल्याउन नसकेको हो ?
रणनीतिक साँझेदारले सार्वजनिक खरिद ऐन पालना गरेर काम गर्दैन । नेपाल सरकारले भनेका सबै कुरा मानेर रणनीतिक साँझेदारले काम गर्ने गरि यहाँ अरर्बौ रुपैंयाँ लगानी गर्दैन । यदि रणनीतिक साझेदारको रुपमा विदेशीलाई प्रवेश दिएर स्वतन्त्र रुपमा निर्णय गर्न दिने हो, उसलाई सार्वजनिक खरिद ऐन पनि नलाग्ने, प्राइभेट कम्पनीले झै निर्णय गर्ने अधिकार दिन राजी हुनेहरु किन नेपाली व्यवस्थापनलाई त्यो अधिकार दिन राजी हुँदैनन ? जुन सर्तमा विदेशी साझेदार ल्याउने कुरा गरिदै छ त्यो सुविधा नेपाली व्यवस्थापकलाई दिने हो भने नेपालीले नै राम्रोसँग यो कम्पनी चलाउन सक्छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.