लाभांश घोषणासँगै तीन कम्पनीमा लगानीकर्ताको आकर्षण, करोडौंको सेयर कारोबार

  २०७६ कार्तिक १८ गते १५:३८     विकासन्युज

काठमाडौं । सोमबार तीन कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ । नबिल बैंक, प्रभु बैंक र चिलिमे हाइड्रोपावरले लाभांश घोषणा गरेसँगै लगानीकर्ताहरुको यी कम्पनीमा आकर्षित भएका हुन् ।

कूल १९ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा उक्त तीन कम्पनीको एकैदिन करोडौं रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नबिल बैंकको एक करोड ९८ लाख रुपैयाँ, त्यसपछि प्रभु बैंकको एक करोड ६१ लाख र चिलिमेको एक करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रस्तावित लाभांश पाउने आशामा लगानीकर्ताले यी कम्पनीका सेयर किनेका हुन् । साथै, बजारमा उल्लेखित कम्पनीको सेयर मूल्य सस्तो भएपछि यी कम्पनीको बढी सेयर कारोबार भएको हो ।

नबिल र प्रभु बैंकले हालै मात्र गत आर्थिक वर्षको नाफाबाट क्रमशः ३४ प्रतिशत र १६.८४ लाभांश दिने घोषणा गरेका थिए । त्यस्तै, चिलिमेले सोमबार मात्रै आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । लाभांश प्रस्तावसँगै चिलिमेको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ६.२४ प्रतिशतले बढेको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६० रुपैयाँ रहेको छ । सो दिन सबैभन्दा बढी ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ ।

सोमबारको नेप्से परिसूचक सामान्य अंकले बढेर ११४० अंकमा पुगेको छ । सो दिन कूल १६३ कम्पनीको ७ लाख ५९ हजार ७१२ कित्ता सेयर किनबेच भएको छ ।