नेपालमा युरोपेली लगानी भित्र्याउन संघले सघाउने

  २०८१ वैशाख २८ गते १०:५८     विकासन्युज


काठमाडौं । नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली संघले सघाउने बताएको छ । नेपालका लागि संघका राजदूत भेरोनिक लोरेञ्जोले युरोपेली लगानी ल्याउन आगामी साता काठमाडौंमा ‘इयू–नेपाल व्यापार मञ्च’को बैठक हुन लागेको बताइन् ।

नेपाल र युरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सव तथा युरोप दिवसका अवसरमा बिहीबार यहाँ आयोजित स्वागत समारोहमा राजदूत लोरेञ्जोले नेपालको वैदेशिक लगानी अभाव परिपूति गर्ने उद्देश्यले आगामी जेठ २ र ३ गते काठमाडौंमा मञ्चको दोस्रो बैठक आयोजना गरिने जानकारी दिइन् ।

बैठकमा नेपालका लगानीका सम्भावित क्षेत्रमा छलफल गर्न युरोपेली संघमा आबद्ध मुलुकका कम्पनीले भाग लिने उनले बताए । राजदूत लोरेञ्जोले सन् २०२६ मा नेपाल अतिकमविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुनुपर्ने लक्ष्यका साथ अघि बढेकाले त्यस निम्ति आर्थिक विकास र रोजगारीका अवसर सिर्जना गर्न आवश्यक भएको बताउँदै संघमा आबद्ध सदस्य देश र विकासका लागि युरोपेली वित्तीय संस्थाबाट नेपाललाई प्रदान गरिने सहायता ‘ग्लोबल गेट वे’मार्फत प्रवाह हुने जानकारी दिइन् ।

राजदूत लोरेञ्जेले शान्तिप्रिय नेपालीलाई रुस–युक्रेन द्वन्द्व र इजरायलमा भएको आतंकवादी हमलाबाट चोट पुगेको चर्चा गर्दै उनले बन्दी बनाइएका विपिन जोशी र उनको परिवारप्रति ऐक्यबद्धता व्यक्त गरिन् । उनले विश्वव्यापी रूपमा संघ शान्ति, विधिको शासन, मानवअधिकार, बहुपक्षीयता, मानवीय सहायता तथा साझेदारीलगायत साझा मूल्यमान्यता प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताइन् ।

राजदूत लोरेञ्जेले नेपालको विकास साझेदार संघले २०७२ सालको भूकम्प होस् या कोरोना महामारी यहाँको विकास र विषम परिस्थितिमा सक्दो सहयोग गर्दै आएको बताइन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपसभामुख इन्दिरा राना, सांसद, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीका साथै नेपाल सरकारका अधिकारीहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.