बोनस घोषणापछि प्रभु बैंकको सबैभन्दा बढी सेयर कारोबार, सर्वसाधारणको स्वामित्व ४९ प्रतिशत पुर्याउने

  २०७६ कार्तिक १७ गते १५:३८     विकासन्युज

काठमाडौं । बोनस घोषणा गरेसँगै आइतबारको बजारमा प्रभु बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकले आइतबारमात्रै सेयरधनीलाई १६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८४ प्रतिशत नगद दिने प्रस्तावलाई एक सूचनामार्फत सार्वजनिक गरेको थियो । जसको असर सेयरबजारमा परेको देखिन्छ ।

लाभांश घोषणा गरेकै दिन आइतबारको बजारमा बैंकको एक करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन कारोबारमा आएका अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी हो ।

लाभांश घोषणासँगै, बैंकले कात्तिक २६ गतेदेखि मंसिर ८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंकले आगामी मंसिर ६ गते सभामा जाने प्रयोजनको लागि उक्त दिन बुक क्लोज गर्न लागेको हो । उक्त सभा बैंकको केन्द्रिय कार्यालय काठमाडौंको बबरमहलमा दिनको २ बजे बस्दै छ ।

सभामा संस्थापक सेयरधनीहरु र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व बढाउने विशेष प्रस्ताव लैजाँदै छ । संस्थापक सेयरधनीको सेयर स्वामित्व ५५ प्रतिशतबाट ५१ पुर्याउने र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ४५ बाट ४९ प्रतिशत पुर्याउने विशेष प्रस्ताव रहेको छ ।

आइतबारकाे बजारमा कूल १६१ कम्पनी कारोबारमा आएका थिए । उक्त कम्पनीको कूल ७ लाख ८४ हजार कित्ता अर्थात १७ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् । त्यस्तै, देवः विकास बैंकको एक करोड ४३ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ ।

साताको पहिलो कारोबारमा नेप्से परिसूचक ६.८८ अंकले घटेर ११३९ अंकमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.६० प्रतिशत बढी हो ।

सो दिन कारोबारमा आएका १२ समूहमध्ये म्युचअल फण्ड समूह सामान्य अंकले बढेर हरियो देखिएको छ भने बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी उत्पादनमूलक समूह ३७ अंकले ओरालो लागेको छ ।