नेपाल बङ्गलादेश बैंकले ५ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश दिने, गत वर्षकाे भन्दा बढी

  २०७६ कार्तिक १७ गते १४:०२     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले ५ प्रतिशत बोनस र ७ प्रतिशत नगद (कर सहित) लाभांश दिने प्रस्ताव गरेको छ । कात्तिक १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई कूल १२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव राखेको हो । यसअनुसार बैंकले सेयरधनीहरुलाई ४० करोड ४४ लाख १४ हजार ९६१ रुपैयाँ बराबरको बोनस र ५६ करोड ६१ लाख ८० हजार ९४५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । उक्त प्रस्तावित लाभांश अघिल्लो वर्षकोभन्दा २ प्रतिशत बढी हो । बैंकले अघिल्लो वर्ष सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ रहेको छ । बोनस पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४९ करोड रुपैयाँ नाघ्ने छ । त्यस्तै, आइतबार बैंकको सेयर मूल्य अधिकतम प्रतिकित्ता २१० देखि न्युनतम २०८ रुपैयाँमा कारोबार भइरहेको छ ।