मेरियट होटल पनि पब्लिक कम्पनी बन्दै, सय रुपैयाँमा साधारण सेयर

  २०७८ पुष २६ गते ९:०४     विकासन्युज

काठमाडौं । पाँच तारे नयाँ होटेल मेरियट पनि पब्लिक कम्पनी बन्ने भएको छ । व्यवसायी शशिकान्त अग्रवालको प्रमुख लगानी रहेको मेरियट होटल अहिले प्राइभेट लिमिटेड कम्पनी छ ।

पब्लिक कम्पनीको रुपमा परिणत गरी साधारण सेयर निष्कासन गर्ने प्रक्रिया सुरु भइसकेको होटलका प्रमुख लगानीकर्ता अग्रवालले जानकारी दिए ।

‘हामीले प्रालि कम्पनी बनाएर होटल संचालन गरेका हौं, होटल संचालनमा आएको ३ वर्ष भयो, अब पब्लिक कम्पनी बनाएर सर्वसाधारणलाई पनि सेयर जारी गर्ने भनेर प्रक्रिया सुरु गरेका छौं,’ अग्रवालले विकासन्युजसँग भने ।

होटल संचालनमा आएको केही समयपछि नै विश्व महामारीको रुपमा फैलिएको कोभिड महामारी नेपालमा पनि फैलन सक्ने भन्दै सरकारले २०७६ चैत दोस्रो सातादेखि नै देशव्यापी लकडाउन गरेको थियो । कोभिड महामारीको कारण विदेशी पर्यटक नेपाल आउन पाएका थिएनन् भने लकडाउन, त्यसपछिको सटडाउन र निषेधाज्ञाका कारण होटल खुल्न पाएका थिएनन् ।

यस्तै कारणले मेरियट होटलले पनि अपेक्षाकृत व्यवसाय बढाउन पाएको थिएन । परिस्थिति प्रतिकुल भएपनि अहिलेसम्म होटल संचालन नाफामा नै रहेको अग्रवालले बताए । बैंकको व्याज र ह्रासकट्टी हिसाव गर्दा भने होटल नोक्सानीमा रहेको उनको भनाई छ ।

‘यो बीचमा अपेक्षाकृत व्यवसाय बढ्न सकेन, कारण सबैलाई थाहा नै छ तर, पनि हामी संचालन नोक्सानीमा छैनौं, बैंकबाट लिएको कर्जाको किस्ता तथा व्याज तिर्नुपर्ने भएकोले होटल नोक्सानीमै छ,’ अग्रवालले भने ।

उनका अनुसार मेरियट होटलले बैंक तथा वित्तीय संस्थाबाट करिब ३ अर्ब रुपैयाँ कर्जा लिएको छ ।

होटललाई पब्लिक कम्पनी बनाएर सर्वसाधारणलाई पनि सेयर विक्री गर्ने प्रक्रिया सुरु भइसकेको अग्रवालले जानकारी दिए ।

‘होटलको चुक्ता पुँजी करिब २ अर्ब रुपैयाँ छ, चुक्ता पुँजीको १५ प्रतिशत सर्वसाधारणको लागि आईपीओ जारी गर्दैछौं, एफपीओ वा बुक विल्डिङ विधिबाट आईपीओ निकाल्ने होइन, प्रतिकित्ता सय रुपैयाँको दरमा नै आईपीओ जारी हुन्छ,’ अग्रवालले थपे ।

उनले आईपीओ विक्रीबाट आएको रकमले होटलको ऋण तिर्न प्रयोग गरिने पनि बताए ।

‘करिब ३ अर्ब रुपैयाँ कर्जा छ, आईपीओ विक्री गरेर आएको पैसाले बैंकको ऋण तिर्छाैं, आईपीओ जारी गरेपछि सर्वसाधारणले पनि स्वामित्व लिन्छन्, व्यवसायिक रुपमा अघि बढ्न पनि थप सजिलो हुन्छ, यसैकारण पब्लिकमा जान लागिएको हो,’ उनले भने ।

चुक्ता पुँजी २ अर्ब रुपैयाँ भएको होटलले १५ प्रतिशत आईपीओ जारी गर्दा करिब ३० करोड रुपैयाँ बराबरको आईपीओ आउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.