२०७८ साउन ४ गते १२:३३ विकासन्युज
काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै नेपाल स्टक एक्स्चेञ्जको प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिहं साउदले निरन्तरता पाउने भएका छन् । साउदले आफ्नो पद सुरक्षित भएपछि जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा गर्दै आएको दावी छोडेका छन् ।
साउदले उक्त पदमा आफ्नो दावी छोडेपछि जनरल इन्स्योरेन्स कम्पनीले पनि कामु प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरेको छ । उनलाई सीईओ बनाउन कम्पनीले बीमा समितिसँग सहमति माग गर्दै पत्र पनि पठाएको छ ।
‘जनरल इन्स्योरेन्स कम्पनीको सीईओमा रामचन्द्र श्रेष्ठको नाम प्रस्ताव आएको छ, उनको योग्यता, अनुभव सबै मिल्छ, तर प्रक्रियागत त्रुटी देखिएकोले सच्याएर ल्याउन भनेको छौं’ बीमा समिति स्रोतले भन्यो । प्रक्रिया पुरा गरेर आएलगत्तै स्वीकृति दिने मनस्थितिमा बीमा समितिका अधिकारीहरु रहेका छन् ।
स्थापनाको ३ वर्षपछि यस कम्पनीमा प्रमुख कार्यकारी अधिकृत पदपूर्ति हुँदैछ । लामो समय कम्पनीको महाप्रबन्धकको जिम्मेवारी एसके टमोटले लिएका छन् । उमेरका कारण कम्पनीबाट उनले अवकाश पाएपछि कम्पनीले नयाँ सीईओ राख्न लागेको हो ।
रामचन्द्र श्रेष्ठ केही समयअघि मात्र लुम्बिनी जनरल इन्स्योरेन्स छोडेर जनरल इन्स्योरेन्स कम्पनीमा आएका हुन् । उनीसँग बीमा क्षेत्रको दुई दशक भन्दा लामो अनुभव रहेको छ ।
उता नेपाल स्टक एक्स्चेञ्जमा साउदको कार्यकाल सकिन लागेको छ । साउद जनरल इन्स्योरेन्स कम्पनीका प्रवद्र्धक हुन् । उनले आफन्तहरुको नाममा सो कम्पनीमा सेयर लगानी गरेका छन् ।
नेप्सेमा ४ वर्ष कार्यकाल पुरा भएपछि जनरल इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अघिकृत बन्ने उनको योजना थियो । अर्थमन्त्रालय र धितोपत्र बोर्डसँगको द्वन्द्वका कारण उनले नेप्सेमा निरन्तरता पाउने सम्भावना शुन्य थियो ।
तर सरकार परिवर्तन भएपछि साउदलाई नेप्सेमा निरन्तरता पाउन सजिलो भएको छ । चार वर्षअघि प्रधानमन्त्री शेरबहादुर देउवा भएको बेलामा नै साउद नेप्सेको सीईओ भएका थिए । राजनीतिक रुपमा माओवादी निकट र भौगोलिक हिसावले देउवा निकट भएकोले संयुक्त सरकारले साउदलाई निरन्तरता दिने सम्भावना बलियो भएको जानकारहरु बताउन्छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.