२०७५ पुष ३० गते १८:४५ विकासन्युज
काठमाडौं । पुस मसान्त सकिँदा राष्ट्रिय स्तरका ‘क’ वर्गका २८ वाणिज्य बैंकहरुमध्ये १५ ओटाले मात्र साधारणसभा गरेका छन् । नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड अनुसार वित्तीय विवरण बनाउनुपर्ने भएपछि साधारणसभा ढिलो हुन जाँदा ६ महिनाभित्र उक्त संख्याका कम्पनीहरुले मात्र साधारणसभा गर्न सकेका हुन् ।
साधारणसभा बोलाइसकेका बैंकहरुमा नेपाल एसबीआई बैंक, मेगा बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, जनता बैंक, सनराइज बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बंगलादेश बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईशी एशिया बैंक र सानिमा बैंक छन् ।
बाँकी १३ ओटा कम्पनीहरुमध्ये बैंक अफ काठमाडौं र स्ट्यान्डर्ड चार्टर्ड बैंक गरी २ ओटा बैंकले साधारणसभाको मिति तोकेका छन् ।
६ ओटा बैंकहरुले लाभांश घोषणा गरेका छन् । ती बैंकहरुमा कृषि विकास बैंक, नबिल बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, प्राइम कमर्शियल बैंक र प्रभु बैंक छन् । बाँकी ५ ओटा अर्थात् राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, सेञ्चुरी बैंक, एनसीसी बैंक र सिभिल बैंकले भने न त लाभांश समेत घोषणा गरेका छैनन् ।
सामान्यतः अघिल्लो आर्थिकवर्षको लेखापरीक्षण सम्पन्न भएपछि बैंक तथा वित्तीय संस्थाले सञ्चालक समितिको बैठकमार्फत् शेयरधनीलाई बाँड्न चाहेको नगद तथा बोनस शेयर लाभांशहरु घोषणा गर्छन् भने त्यसपछिको बैठकले वार्षिक साधारणसभा बोलाउने गर्दछन् ।
अघिल्ला वर्षहरुमा अघिल्लो आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गर्नैपर्ने भए पनि यस वर्ष नयाँ लेखापरीक्षण मानक लागु गर्दा ढिलाई हुने भएपछि नेपाल राष्ट्र बैंक उदार बनेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.