डेढ सय संस्थामा लगानी गर्दा १५ बाट मात्रै प्रतिफल, राष्ट्र बैंकले खुवायो ११ अर्ब लाभांश

  २०८१ जेठ १४ गते १३:२८     विकासन्युज

काठमाडौं । सरकारको विभिन्न १४८ वटा संस्थान (कम्पनी)हरूमा लगानी गरेको छ । आर्थिक वर्ष २०७९/८० को असारसम्मको तथ्यांक अनुसार १४८ संस्थान पौने ८ खर्बको लगानी रहेको छ ।

सेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन सरकारले १४८ संस्थामा ७ खर्ब ८३ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ लगानी गरेको महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । जसमध्ये सेयरमा ३ खर्ब ८६ अर्ब ७ करोड २८ लाख रुपैयाँ अर्थात् ४९.२५ प्रतिशत र ऋणमा ३ खर्ब ९७ अर्ब ८० करोड ४८ लाख रुपैयाँ अर्थात् ५०.७५ प्रतिशत लगानी रहेका छन् ।

नेपाल सरकारको बढी लगानी रहेका सार्वजनिक १० संस्थानहरूमा नेपाल विद्युत प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, जलविद्युत लगानी तथा विकास कम्पनी, निक्षेप बीमा तथा कर्जा संरक्षण निगम, अन्तर्राष्ट्रिय मुद्रा कोष, नेपाल बैंक र नलगाड हाइड्रो पावर कम्पनी हुन् ।

विद्युत प्राधिकरणमा १ खर्ब ७४ अर्ब रुपैयाँ, नागरिक उड्डयन प्राधिकरणमा ६२ अर्ब ७४ करोड रुपैयाँ, टेलिकममा १६ अर्ब ४६ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा १५ अर्ब ६३ करोड रुपैयाँ, कृषि विकास बैंकमा १३ अर्ब २९ करोड रुपैयाँ लगानी रहेको छ ।

यस्तै, जलविद्युत लगानी तथा विकास कम्पनीमा १२ अर्ब ४७ करोड रुपैयाँ, निक्षेप बीमा तथा कर्जा संरक्षण निगममा ९ अर्ब रुपैयाँ, अन्तर्राष्ट्रिय मुद्रा कोषमा ६ अर्ब ५८ करोड रुपैयाँ, नेपाल बैंकमा ५ अर्ब ७५ करोड रुपैयाँ र नलगाड हाइड्रोमा ४ अर्ब ९४ करोड रुपैयाँ लगानी रहेको तथ्याङ्क छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको नाफाबाट १५ वटा संस्थाले साढे २७ अर्ब रुपैयाँ नगद लाभांश सरकारलाई बुझाएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले ५ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ, नेपाल नागरिक उड्ययन प्राधिकरणले ५८ करोड ४४ लाख रुपैयाँ, औद्योगिक क्षेत्र व्यवस्थापनले १ करोड ८९ लाख रुपैयाँ, नेपाल टेलिकमलले ६ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ र बुटवल पावर कम्पनीले १ करोड ८१ लाख समेत ६ अर्ब ६० करोड ५८ लाख रुपैयाँ नगद लाभांश सरकारलाई बुझाएका हुन् ।

यसैगरी वित्तीय क्षेत्रतर्फ कृषि विकास बैंकले १ अर्ब ६ करोड ५८ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ४ करोड ५२ लाख रुपैयाँ, नेपाल बैंकले ७३ करोड २७ लाख रुपैयाँ, नेपाल स्टक एक्सचेञ्जले ५८ करोड ६६ लाख रुपैयाँ, नेपाल इन्फ्रास्टक्चर बैंकले ८ करोड ६४ लाख रुपैयाँ र नेपाल राष्ट्र बैंकले ११ अर्ब ७ करोड रुपैयाँ नगद लाभांश सरकारलाई प्रदान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.