डिएभी विद्यालयमा बुद्धको जीवन र दर्शनमा आधारित गीतिनाटक मञ्चन

  २०८१ जेठ १३ गते १५:४७     विकासन्युज

काठमाडौ । डिएभी सुशील केडिया विश्व भारती विद्यालयले शुक्रबार भगवान गौतम बुद्धको जीवन र दर्शनमा आधारित रहेको गीतिनाटक एक भव्य समारोह बीच प्रदर्शन गरेको छ ।

विद्यालयको बुद्ध सभागृहमा प्रदर्शन भएको उक्त गीतिनाटकमा कक्षा १ देखि १२ सम्मका १५० बढी विद्यार्थीहरूले अभिनय गरेका थिए ।

करिव ३ घण्टा लगातार प्रदर्शन भएको गीतिनाटकमा विद्यार्थीहरूले गौतमबुद्ध जन्मिनु पूर्वको परिदृश्य, राजश्री बाल्यकाल, शिक्षा–दिक्षा, गृहस्थ जीवन, गृहत्याग, जीवनको चिन्तन र दुःख मुक्ति मार्गको खोजी र बुद्धत्व प्राप्तिका साथै विभिन्न समयमा उनले सामना गरेका कठिन परिस्थितिलाई प्रस्तुत गरेका थिए ।

नाट्यकलाकार विद्यार्थीहरुलाई हौँसला र प्रोत्साहन गर्न सिद्धिमंगल विहार, ललितपुरका प्रमुख भिक्षु विमलो, डिएभी विद्यालयका अध्यक्ष अनिल केडिया, त्रिभुवन विश्वविद्यालय बौद्धशिक्षा केन्द्रीय विभागकी प्रमुख डा. चन्द्रकला घिमिरे, त्रिविका सह–प्राध्यापक त्रिरत्न मानन्धर र योगविशेषज्ञ डा. राजेन्द्र न्यौपाने उपस्थित रहेको थिए ।

नाटक प्रदर्शन पूर्व भिक्षु विमलोले गीति नाटकको सफलताको शुभकामना दिँदै वर्तमान समयमा बुद्ध शासनको लहर चलेको बताए । उनले डिएभी विद्यालयका अध्यक्ष अनिल केडिया स्वंयम बुद्ध मार्गि भएको र उनले भविष्यका कर्णधार बालबालीकाहरुका लागी परियत्ति, योग र ध्यानका कक्षाहरु निरन्तर रुपमा सञ्चालन गरिरहेको देख्दा आफू निकै हर्षित भएको बताए । सोही अवसरमा उहाँले बुद्ध शिक्षाको विभिन्न आयामहरूलाई संक्षेपमा चर्चा गरेका थिए । उक्त गीतिनाटक डिएभी विद्यालयले आयोजना गर्ने ‘एक आध्यात्मिक सन्ध्याको’ अंश रहेको विद्यालयले जनाएको छ ।

बुद्ध जीवनको गीति नाटकको लेखन, स्टेजको सजावट, अभिनय र प्रस्तुती, गीत संगीतको संयोजन लगायत सम्पूृर्ण विषयवस्तुको मुख्य निर्देशकको भूमिकामा विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी राव रहेका थिए । करिब एक हप्ताको तयारीमै यस स्तरको नाटक मञ्चन हुनुमा विद्यार्थी भाइबहिनीहरूको मिहिनेत र लगाव संगसंगै सम्पूर्ण शिक्षक र कर्मचारीहरुको उल्लेख्य भुमिका रहेको विद्यालयले जनाएको छ ।

यसअघि अध्यक्ष अनिल केडियाले विश्व शान्ति बिहार बानेश्वरका भिक्षुलाई निमन्त्रणा गर्दै विद्यालयमा धम्म देशना र संघदान कार्यक्रमको आयोजना गरेका थिए । बुद्ध जयन्तिको अवसरमा विद्यालयले कक्षा नर्सरी देखि १२ सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई ‘बुद्ध र शान्ति’ विषयक चित्रकला प्रतिस्पर्धामा सहभागी गराएको थियो ।

विद्यालयले प्रत्येक शनिबार आयोजना गरिरहेको एक दिवशीय विपश्यना ध्यान समेत बुद्ध जयन्तीको दिन संञ्चालन गरिएको थियो । यस विपश्यना ध्यान कक्षा १० दिनको ध्यान कक्षा पुरा गरेका सबैको लागी खुला रहेको विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.