बालेनलाई सडक डिभिजनको चेतावनी- अराजकता देखाए प्रतिकार हुन्छ

  २०८१ जेठ १३ गते ६:५२     विकासन्युज

काठमाडौं । काठमाडौं महानगर प्रहरीले सडक विभाग अगाडि ट्रकमा लगेर धुलो फालिदिएपछि सडक विभागअन्तर्गतको सडक डिभिजनले प्रतिकारको चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा शनिबार चक्रपथ निर्माणमा  ढिलासुस्ती भएकाले  प्रदुषण बढेको भन्दै महानगरको ट्रकले विभाग अगाडि धुलो फालिदिएको थियो ।

मेयर शाहले विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको र यसले गर्दा काठमाडौं महानगरले अकारण गाली खानु परेको भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका थिए ।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई दैनिक एक ट्रक धुलो उपहार पठाउने पनि सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए ।

यसकै प्रतिवादमा सडक डिभिजनले शनिबार राति एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सडक डिभिजन काठमाडौंको कार्य क्षेत्रभित्र भएका त्रुटि औँल्याइ आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सोको प्रतिकार गर्न समेत सडक डिभिजन बाध्य हुने ब्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।’

मिनभवनस्थित कार्यालयको गेटमा कार्यालय परिसर छिर्नसमेत अवरोध हुने गरी फोहोर फालिएको विज्ञप्तिमा उल्लेख छ ।

‘काठमाडौं जिल्ला भित्रका सडक निर्माण तथा मर्मत सम्भारको महत्त्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापी नबढ्ने विषय छर्लंग छ’, विज्ञप्तिमा उल्लेख छ ।

शनिबार न्यूरोड क्षेत्रमा सडक डिभिजनको जिम्मामा रहेको सडकमा विना अनुमति सडक काटी सडकको स्ट्यान्डर्ड चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको पाइएपछि रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई बालेनले यस्तो हर्कत गरेको विज्ञप्तिमार्फ सडक डिभिजनले आरोप लगाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.