शिवसताक्षी नगरपालिकामा धमाधम चक्रपथ निर्माण

  २०८१ जेठ ११ गते १०:३९     विकासन्युज

झापा । शिवसताक्षी नगरपालिकाको गौरव आयोजनाका चक्रपथ निर्माण धमाधम भइरहेको छ । हालसम्म ७५ प्रतिशत कार्यप्रगति भएको नगरपालिकाले जनाएको छ ।

नगरका सबै वडालाई पालिकासँग जोड्नेगरी निर्माण थालिएको चक्रपथको २८ किलोमिटर खण्डमा काम सम्पन्न भएको पालिकाका सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिए । चक्रपथ ३९ किलोमिटरको हुनेछ । नगर चक्रपथमा पूर्वपश्चिम राजमार्ग र शिवगञ्ज–व्याङडाँडा रोडबाहेकका खण्डमा कालोपत्र भइरहेको छ । पञ्चवर्षीय योजनाअनुरुप २०७८ सालमा निर्माण सुरु भएको हो ।

चक्रपथ निर्माणका लागि सात करोड रुपैयाँ केन्द्रीय सरकार, एक करोड ३० लाख रुपैयाँ कोशी प्रदेश सरकारले लगानी गरेको छ भने बाँकी लगानी पालिकाको आन्तरिक स्रोतबाट भएको छ ।

स्थानीय नागरिकलाई आवातजावतमा सहज पहुँच होस् भन्ने उद्देश्यले निर्माण गरिएको चक्रपथले गाउँलाई सहरसँग जोडेको छ । चक्रपथ माइधार–धरमपुर, दक्षिणमा मङ्गलबारे–घेरावारी, कमल पुल–पाँचगाछी बजार हुँदै बुलोचोकबाट वडा नं ४ र ५ हुँदै शिवगञ्जसम्म जोडिएको छ । शिवगञ्जबाट व्याङडाँडापूर्व झरना पुल हुँदै चिल्लागढ–नहरसम्म विस्तार गरिने छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.