डा. खतिवडाको प्रश्न- बिग मर्जर नगरेर धमाधम लाइसेन्स बाँडेको भए अहिले अवस्था के हुन्थ्यो ?

  २०८१ वैशाख २७ गते ११:३१     विकासन्युज

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बिग मर्जरका कारण बैंकिङ क्षेत्र सुरक्षित रहेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै डा. खतिवडाले अहिलेको संकटमा बैंकहरू बिग मर्ज भएकाले धराशयी हुनबाट जोगिएको बताएका हुन् ।

‘पछिल्लो १५ वर्षदेखि बैंक तथा वित्तीय संस्थाको लाइसेन्स रोकिएको छ, मर्जर र पुँजी वृद्धिको विषयले प्राथमिकता पाएको छ,’ उनले भने, ‘बैंक लाइसेन्सको वितरण निरन्तर भएको भए, पुँजि वृद्धि नगरेको भए र मर्जर नगरेको भए के हुन्थ्यो ? अहिलेको संकटमा अधिकांश धराशायी हुन्थे ।’

बैंकरहरूसँगको अनौपचारिक कुराकानीमा खराब कर्जा (एनपीएल) १० प्रतिशत रहेको उनले सुनाए । अहिले रिकभरीको समस्या र कर्जाको मागमा आएको सुस्तताले बैंकिङ क्षेत्रमा चाप रहेको उनको भनाइ छ ।

‘अर्थतन्त्र विकासका लागि बैंकिङ क्षेत्रको महत्त्वपूर्ण योगदान छ, अनौचारिक कुराकानीमा बैंकरहरूले एनपीएल १० प्रतिशत रहेको सुनाउनुहुन्छ,’ उनले भने, ‘बैंक मात्र होइन गैर बैंकिङ संस्थाले पनि लगानी गरिरहेका छन्, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषले पनि सेवाग्राहीलाई सेवा दिइरहेका छन्, त्यहाँ पनि माग छैन, पैसा थुप्रिएर बसेको छ ।’

अर्थतन्त्रमा आत्मबल बढाउन आवश्यक रहेको उनले बताए । लगानीकर्ताहरूको मनोबल बढाउन सके मात्रै वर्तमान सकस सहज हुने उनको धारणा छ । साथै, विभिन्न नियामक निकायसँग सरोकारवालाहरू खुसी छन् कि छैनन् ? भनेर ध्यान दिनु पर्ने उनले बताए ।

‘वित्तीय अवस्था कमजोर भएका र प्रतिफल नदिने कम्पनीको सेयर मूल्य धेरै छ, हामी कहाँ गइरहेका छौं ? कसरी वित्तीय योजना बनाइरहेका छौं ?,’ उनले  प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.