संकलित पुँजीको उचित परिचालन नहुँदा सहकारीमा समस्या देखियो : रजिष्ट्रार घिमिरे

  २०८१ वैशाख २६ गते १५:३२     विकासन्युज

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीलाई पूँजी संकलन गर्ने साधनको रूपमा मात्र प्रयोग गरिएको बताएका छन् ।

बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा भएको गोष्ठीमा बोल्दै सदस्यबाट संकलित पुँजीको उचित परिचालन हुन नसक्दा सहकारीमा समस्या भएको उनले बताएका हुन ।

नियमाकीय दृष्टिकोणमाः ‘सहकारी क्षेत्रको विद्यमान समस्या, समाधानमा सदस्य र समितिको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै घिमिरेले लेखा सुपरिवेक्ष समिति भनेको सहकारी संस्थाको वाच डगको संज्ञा दिए ।

लेखा समितिले संस्थाको सुपरिवेक्षण प्रभावकारी रूपमा गर्नुपर्ने उनको भनाइ छ । सहकारी क्षेत्रलाई समाजवादउन्मुख अर्थतन्त्र निमार्णका लागि सशक्त आधारशिलाको रूपमा स्थापना गर्नका लागि संविधानले नै अंगिकार गरेको छ । तर, अहिले सहकारीमा धेरै समस्या छन् । नीतिगत तथा संस्थागत संरचनामा धेरै समस्या देखिएको उनको बुझाइ छ ।

‘सहकारीमार्फत आर्थिक समृद्धिको सम्भावना प्रसस्तै छ, अर्र्थतन्त्रमा सहकारीको महत्वपूर्ण योगदान छ, मुलुकको कूल ग्राहस्थ्य उत्पादनमा करिब ४ प्रतिशत योगदान छ, ९३ हजार ७ सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ, दिगो विकास लक्ष्य प्राप्तिका लागि वार्षिक १४.८१ प्रतिशत लगानी यो क्षेत्रको छ, तर हाम्रो आफ्नै कारणले सहकारीमा समस्यामा छ,’ उनले भने ।

सहकारीमा आन्तरिक समस्या धेरै देखिएका छन् । लेखा समितिले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा वहन नगर्ने , बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने, कानुन कार्यान्वयनमा उदासिनता , संस्थागत संरचनामा समस्या, कार्यगत समस्या र प्रभावकारी नियमन नहुँदा सकारीलाई पिरोलिएको घिमिरेले उल्लेख गरे ।

कोभिड १९सँगै विश्वमा आएको महामारी, सहकारीमा भाखा नाघेका कर्जाका साथै असुलीमा समस्या, बिना धितो कर्जा प्रवाह, कर्जा वर्गीकरणमा प्रभावकारीता नहुँदा, ऋण जोखिमलाई ध्यान पुर्याउन नसक्दा र तरलता व्यवस्थापन गर्न नसक्दा सहकारीमा समस्या देखिएको उनले बताए ।

समस्या समाधानका लागि सैद्धान्तिक मूल्य मान्यताप्रति प्रतिबद्ध हुदै, सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिले प्रभावकारी रूपमा आन्तरिक नियन्त्रण गर्दै सहकारी संस्थाका जागरुक सदस्यहरूले खबरदारी गर्नुपर्नेमा घिमिरेको जोड छ ।

उक्त टिप्पणीकर्ताका रूपमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष काशिराज दाहालले संस्थाको अनुगमनको क्रममा एउटै सहकारीबाट बिनाधितो ५ अर्ब सम्मको कर्जा आफ्नै श्रीमतीलाई जमानी राखेर वितरण गरेको देखिएको बताए ।

अन्धाधुन्ध र खुद्रा पसल जस्तै सहकारी संस्थाको दर्ता प्रक्रिया रोक्नुपर्ने उनको भनाइ छ । यसरी दर्ता भएका सहकारी संस्थाहरूले राम्रा काम गर्ने सहकारी संस्थालाई विस्थापित गरेको दाहालले औंल्याए । सहकारी संस्थालाई तीन तहमा नियमन गर्ने व्यवस्था गरिएसँगै सहकारी क्षेत्रमा ठूलो समस्या आएको उनको भनाइ छ ।

त्यस्तै अधिकांश सहकारी संस्थाहरूको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिमा परिवारिक एकाधिकार भएका कारण पनि सहकारीमा समस्या देखिएको उनले बताए । उनले भने, ‘लेखा समितिले आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने ८० प्रतिशत समस्या समाधान हुन्छ । ’

कार्यक्रममा सहभागीबाट हरेक सहकारी प्रकृति फरक भए पनि मूख्यत कारोबार बचत ऋणको मात्र गरेका कारण सहकारीमा समस्या देखिएको उनको भनाइ छ । सात वर्ष पहिले ऐनमा गरको व्यस्था कर्जा असुली न्यायधिकण, कर्जा सूचना केन्द्र र बचत तथा ऋण सुरक्षण कोष स्थापना नहुनु नै समस्या देखिएको उनले औंल्याए । त्यसैगरी, उक्त प्रस्तुतिको सहजकर्ताका रूपमा राष्ट्रिय सहकारी महांसघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.