घट्दो बजारमा लगानीकर्तालाई मलम, अब अधिकतम ०.३६ र न्यूनतम ०.२४ प्रतिशत कमिसन

  २०८१ वैशाख २४ गते १५:२५     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ । बोर्ड सञ्चालक समितिको आइतबार बसेको बैठकले जेठ १ गतेदेखि लागु हुने गरी ब्रोकर कमिसन घटाउने निर्णय गरेको बैठकमा सहभागी एक सञ्चालकले विकासन्युजलाई जानकारी दिए ।

बोर्डले ब्रोकर कमिसन १० प्रतिशत घटाउने निर्णय गरेको ती सञ्चालकको भनाइ छ । हाल कायम कमिसनमा १० प्रतिशत घटाउने निर्णय गरिएको हो ।

उनका अनुसार नेपाल स्कट एक्सचेञ्ज (नेप्से) र सीडीएर एण्ड क्लियरिङ लिमिटेडलाई व्यवस्थापन गर्न समय दिइएकाले जेठ १ गतेदेखि लागु हुनेछ ।

‘यो निर्णय ४/५ महिना पहिला नै भएको हो । तर, अर्थमन्त्रालयमा अड्किएको थियो । २/३ साता अघि अर्थमन्त्रालयबाट स्वीकृत भएर आएको हो । हिजो (आइतबार) बसेको बैठकले जेठ १ गतेदेखि लागु हुने गरी निर्णय भएको हो,’ बोर्ड स्रोतले भने ।

हाल ५० हजार रुपैयाँसम्म कारोबारमा ०.४० प्रतिशत, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत कमिसन लाग्दै आएको छ । यस्तै, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ ।

बोर्डले घटाउने निर्णय गरेसँगै अब ब्रोकर कमिसन १० प्रतिशत कम हुनेछ । जेठ १ गतेदेखि ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३१ प्रतिशत, २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.२७ प्रतिशत र १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२४ प्रतिशत ब्रोकर कमिसन लाग्नेछ ।

पछिल्लो समय निरन्तर घटिरहेको बजारमा ब्रोकर कसिमन घटेसँगै लगानीकर्ताहरूलाई राहत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.