धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

  २०८१ वैशाख २३ गते ७:४१     विकासन्युज


खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन् ।

त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उहाँले प्रदेशका तीन धार्मिकस्थललाई जोड्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले हलेसी, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङको पाथीभरालाई जोड्नुपर्ने बताउँदै केबुलकार र जल यातायातका माध्यमबाट त्यसो गर्न सकिने बताए । उनले पर्यटन पूर्वाधार निर्माणका आधारभूत संरचना निर्माण गर्न वडा र पालिका अग्रसर हुनुपर्ने बताए ।

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको १ करोड ४४ लाख ८४ हजार ४ सय ९० रुपैयाँ लगानीमा हलेसीमा हवन कुण्ड बन्दैछ । आगामी असार १६ गतेसम्ममा सम्पन्न गर्नेगरी काम सुरु भएको हो ।

शिलान्यासपछि खोटाङ प्रदेशसभा (१) का सदस्य पाँचकर्ण राईले हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए ।

हलेसी आउने दर्शनार्थीको सुविधाका निम्ति मन्दिर परिसरमा नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको लगानीमा अतिथिगृह निर्माणाधीन छ । निगमबाट २ करोड प्राप्त भएपछि नगरपालिकाले आव २०७९/८० मा २ करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.