गर्मी बढेसँगै रामेछापमा दैनिक साढे ३ लाखको जुस बिक्री

  २०८१ वैशाख २० गते ९:०१     विकासन्युज

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ ।

स्थानीय उत्पादन यहाँका होटल तथा पसलमा मात्र होइन यहाँ आउने जोकोहीले कोसेलीका रूपमा पनि खरिद गर्न थालेका छन् ।

विशेष गरी काठमाडौं र तराईका विभिन्न जिल्लामा कोसेलीका रुपमा लैजानका लागि बढी बिक्री हुने गरेको यो जुस जिल्लाका दुईवटा उद्योगबाट दैनिक ३ लाख ५० हजार रुपैयाँबराबरको बिक्री हुने गरेको उत्पादकहरूले बताएका छन् ।

जिल्लामा निजी क्षेत्रका डिलक्स एग्रो फरेस्ट्री प्रडक्ट र मन्थली डिलक्स एग्रो फरेस्ट्रीले ‘स्क्वास’ बनाएर बिक्री गरेका छन् । दुवै कम्पनीले अलावा, कागती, किवी, अमला र बेलका जुस पनि उत्पादन गर्दै आएका छन् । जिल्लामा जुनारको स्क्वास प्रतिलिटर एक सय ५० र किवीको प्रतिलिटर २ सय रुपैयाँमा बिक्री हुने गरेको छ ।

एक भागमा चार भाग पानी मिसाएर पिउनुपर्ने स्क्वास रामेछाप जिल्ला सदरमुकाम मन्थलीका साथै जिल्लाका विभिन्न बजार केन्द्र, सिन्धुलीको खुर्कोटलगायत विभिन्न बजार, दोलखा, ओखलढुंगा, काठमाडौं, ललितपुर भक्तपुर र तराईका जिल्लामा कोसेलीका रूपमा लैजाने गरिएको र दैनिकरुपमा दुवै कम्पनीबाट गरी ३ लाख ५० हजार रुपैयाँको बिक्री हुने गरेको डिलक्स एग्रो फरेस्ट्री प्रालि रामेछापका सञ्चालक रामबाबु गिरीले बताए ।

त्यसैगरी गर्मीको समयमा चिया पिउनेको भन्दा बढी जुस पिउने आफ्नो कम्पनीमा आइर जुस खाने र किनेर लैजाने गरेको मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालि रामेछापका सञ्चालक लोकेन्द्र श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.