नौ महिनामा एक अर्ब ७८ करोड राजस्व सकंलन

  २०८१ वैशाख १८ गते १५:५९     विकासन्युज

अत्तरिया । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा एक अर्ब ७८ करोड ९८ लाख रुपैयाँ राजस्व सकंलन गरेको छ । कार्यालयले चालु आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त राजस्व सकंलन गरेको हो ।

आयकरबाट एक अर्ब एक करोड ६७ लाख रुपैयाँ, मूल्य अभिवृद्धि करबाट ६२ करोड १० लाख रुपैयाँ, अन्तःशुल्कबाट १० करोड ५६ लाख रुपैयाँ, ब्याजबापत तीन करोड ७० लाख रुपैयाँ, बहाल करबाट ९१ लाख रुपैयाँ र स्वास्थ्य सेवा करबाट एक लाख रुपैयाँ राजस्व सकंलन भएको आन्तरिक राजस्व कार्यालय धनगढीका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार कार्यालयको चालु आवका नौ महिनामा दुई अर्ब १० करोड ९६ लाख रुपैयाँ राजस्व सकंलनको लक्ष्य रहेकामा लक्ष्यको ८४ दशमलव ८४ प्रतिशतमात्रै राजस्व सकंलन भएको छ । चालु आवमा तीन अर्ब आठ करोड ४१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य रहेकामा नौ महिनामा सकंलन भएको राजस्व वार्षिक लक्ष्यको ५७ दशमलव ८० प्रतिशत रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

‘करदाताको कारोबारमा गिरावट आएको छ, बहाल करको दायरा घटेको छ, पूँजीगत खर्च कम छ’, उनले भने, ‘आर्थिक क्रियाकलाप घटेको छ, जसले गर्दा राजस्व सकंलनमा कमी आएको छ ।’ कार्यालयको आव २०७९/८० मा तीन अर्ब ३६ करोड रुपैयाँ राजस्व सकंलनको वार्षिक लक्ष्य रहेकामा दुई अर्ब ५७ करोड ९८ लाख रुपैयाँ मात्रै राजस्व सकंलन भएको सूचना अधिकारी पौडेलले जानकारी दिए । जुन वार्षिक लक्ष्यको ७६ दशमलव ७८ प्रतिशतमात्रै थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.