निर्माणाधीन संसद भवनको भौतिक प्रगति ७९ प्रतिशत, बैठक बोलाउन अझै अनिश्चितता

  २०८१ वैशाख १७ गते १६:०६     विकासन्युज

काठमाडौं । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको काम सम्पन्न नहुँदा सोही स्थानबाट सभाको बैठक चलाउने कुरा अनिश्चित बनेको छ ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको काम सम्पन्न नहुँदा सोही स्थानबाट बैठक आगामी संसद बैठक चलाउने संघीय संसद सचिवालयको चाहना अनिश्चित बनेको हो । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक रुपमै छिटोभन्दा छिटो संसद भवन निर्माणको काम सम्पन्न भएमा नयाँ संसद भवनबाट बैठक चलाउने चाहाना व्यक्त गरिरहेका छन् । तर संसद भवन निर्माणको काम सम्पन्न हुन नसक्दा सभामुख र राष्ट्रिय सभाका अध्यक्षको चाहना अनिश्चित बनेको हो ।

सिंहदरबारस्थित कुल १५६.७७ रोपनी जग्गामा ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँ(भ्याटसहित) मा बन्न लागेको संसद भवन ३ वर्षमा निर्माण सम्पन्न गरिसक्ने भनि २०७६ साल असोज १६ गते सम्झौता भएको थियो । सम्झौता अनुरुप २०७९ असोज १६ गते निर्माण सम्पन्न भइसक्नुपर्ने भएपनि निर्माण सम्पन्न हुन नसक्दा २०८० साल चैत्र १९ गतेसम्मका लागि म्याद थप गरिएको थियो । सो मितिपनि नाघिसकेको अवस्था छ । हाल भवन निर्माणका लागि पुनः म्याद थपको तयारी भइरहेको जनाइएको छ ।

राजनीतिक तहबाट पटक–पटक छिटो निर्माण सम्पन्न गर्न आग्रह गरिएपनि हालसम्म बैठक सञ्चालन नै गर्नेगरी परिणाम आइसकेको छैन । तर कहिलेसम्म सो स्थानबाट बैठक सञ्चालन हुनेछ भन्ने ठोस जवाफ न सम्बन्धित सरकारी निकायसँग छ । न त निर्माण व्यवसायीसँग नै छ । संघीय संसद सचिवालयसँग पनि यसको ठोस जवाफ छैन । यद्यपी भवन निर्माणको काम भने आफ्नै गतिमा अगाडी बढिरहेकै छ ।

संघीय संसद भवन परिसरभित्र १२ वटा भवनहरु निर्माणाधीन अवस्थामा रहेका छन् । प्रतिनिधि सभा भवन, राष्ट्रिय सभा भवन, कमन लवि, अति विशिष्ट व्यक्तिहरुको कार्यालय भवन, पुस्तकालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेस भवन, सवारी साधन पार्किङ भवन र सुरक्षाकर्मी भवन निर्माणाधिन अवस्थामा रहेका छन् ।

विशेष भवन निर्माण आयोजनाका आयोजना निर्देशक मचाकाजी महर्जनले समग्रमा संघीय संसद भवन निर्माणको भौतिक प्रगति ७९ प्रतिशत भएको बताए । १२ वटा भवनहरुमध्ये सबै भवनहरुमा छाना छाउने काम सम्पन्न भइसकेको जानकारी दिए । प्रतिनिधि सभा र राष्ट्रिय सभाको लागि भने अन्य निर्माणका कामहरु पनि भइरहेको उल्लेख गरे । भवन निर्माणको अलावा भित्रि साजसज्जाको काम, फर्निचर, कुर्सी, सुरक्षा लगायतको काममा छुट्टै ठेक्का लगाइएको र सोको कामपनि अगाडी बढिरहेको उनले जानकारी गराए । त्यसैगरी ६९ प्रतिशत वित्तीय प्रगति भएको उनले बताए ।

‘संघीय संसद भवनको ७९ प्रतिशत भौतिक प्रगति भएको अवस्था छ । १२ वटा भवनहरुमध्ये सबै भवनहरुको छानाको काम सम्पन्न भइसकेको छ भने प्रतिनिधि सभा र राष्ट्रिय सभाको भवनको छानाको काम अन्तिम चरणमा आइपुगेको छ । ट्रसका सम्पूर्ण काम इन्स्टलेसनका सम्पूर्ण काम सकिसकेका छौँ । त्यसमा टायल लगाउने, छाना छाउने काम अगाडी बढाउने तरखरमा छौँ । अन्य भवनमा राख्नुपर्ने कुर्सि टेबल लगायतको काम भइरहेको छ । वित्तीय प्रगति भन्नुपर्दा, ६९ प्रतिशत वित्तीय खर्च भइसकेको अवस्था । घरहरुलाई छिटोभन्दा छिटो सम्पन्न गरेर प्रयोगमा ल्याउन केन्द्रित छौँ’, उनले भने ।

आयोजना प्रमुख महर्जनले आफूहरुले छिटोभन्दा छिटो काम सक्न निर्देशन दिइरहेको बताए । उनले हाल २५० जनामात्रै कामदारले काम गरिरहेको जानकारी दिँदै बाँकी काम सम्पन्न गर्नका लागि प्रतिदिन ६०० देखि ९०० जना कामदार परिचालन गर्नुपर्ने अवस्था रहेको बताए । आफूहरुले निर्माण व्यवसायीलाई कामदारको संख्या बढाएर काम गर्न पटक–पटक आग्रह गरेपनि सो अनुरुप हुन नसक्दा काममा ढिलाई भइरहेको उनले जानकारी दिए ।

‘छिटोभन्दा छिटो बनाउनका लागि लक्ष्य लिएर हामीले काम गरिराखेको अवस्था छ । निर्माण व्यवसायीलाई हतार गराएर मात्रै भएन । निर्माण व्यवसायी त्यही अनुसार छिटो छिटो काम अगाडी बढाउन सक्ने क्षमता बढाउने तरखरमा रहेको भए अहिलेसम्म यो भन्दा बढी प्रगति हामीले पाइसक्थ्यौँ । २५० जना मात्रै कामदार छन् अहिले । बिहान ९ देखि बेलुकी ६ बजेसम्म काम गरिरहेका छन् । उनीहरुलाई प्रोत्साहन गरेर दुई सिफ्टमा काम गर्नुस् भनेर हमीले भनिरहेका छौँ । अहिलेको हिसावले हेर्दा बाँकी काम सम्पन्न गर्नलाई प्रतिदिन ६०० देखि ९०० मान्छे परिचालन गर्नुपर्ने अवस्था छ । हामीले राख्नुस् भनेका छौँ तर राखेको छैन’, उनले भने ।

यता, संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पनि नयाँ संसद भवनबाट प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने कुरामा अनिश्चिता रहेको बताए । उनले सभाकक्षको निर्माण भएर मात्रै पनि बैठक बस्न नसक्ने भन्दै साजसज्जादेखि प्रविधि लगायत सम्पूर्ण प्राविधिक पक्षको निर्माण पूरा भएपछि मात्रै बैठक सञ्चालन गर्न योग्य हुने बताए । तोकेरै भन्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै अझै केही समय लाग्ने जानकारी दिए ।

‘भौतिक निर्माण मात्रै भएर पनि हुँदैन । त्यहाँभित्रको इन्टेरियर डेकोरेशन पनि सकिनुपर्छ । सबै पक्षको निर्माण सम्पन्न हुनुपर्छ । प्रविधिको पक्षपनि छ । सभा सञ्चालनका लागि माइकको व्यवस्था, अडियो, भिडियोको व्यवस्था छ । विभिन्न प्राविधिक पक्षहरुको पूरा भएको हुनुपर्छ । अहिले भौतिक प्रगति ७९ प्रतिशत भएको छ भने अझैपनि २१ प्रतिशत भौतिक प्रगति त बाँकी नै छ । त्यो समग्रताको कुरा हो । सभाको कुरा गर्दा छाना हाल्ने काम ७५ प्रतिशत भ्याइएको हो । एकदमै छिटोभन्दा छिटो गरेको खण्डमा पनि अझै केही समय त लाग्ने नै देखिन्छ । तोकेरै भन्नसक्ने अवस्था छैन’, उनले भने ।

प्रवक्ता गिरीले संघीय संसद सचिवालयले पनि निर्माण व्यवसायीहरुलाई छिटोभन्दा छिटो नयाँ संसद भवनबाट बैठक सञ्चालन गर्न सक्नेगरी निर्माण सम्पन्न गर्न झक्झकाइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.