साझा यातायातले सञ्चालनमा ल्यायो सबैभन्दा बढी पावरको चार्जिङ स्टेसन

  २०८० चैत २७ गते १७:१२     विकासन्युज

काठमाडौं । साझा यातायात सहकारी संस्थाको १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन भएको छ । मंगलबार उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उक्त स्टेसनको उद्घाटन गरेका हुन् ।

साझा यातायातले पहिलो पटक ललितपुरको पुल्चोकमा नेपालकै सबैभन्दा बढी पावर भएको चार्जिङ स्टेसनको शुरुवात गरेको हो । चार्जिङ स्टेसनसहित मंगलवार नै ४० वटा विद्युतीय बस पनि औपचारिक रुपमा सञ्चालनमा आएका छन् ।

साझा यातायातले आउँदो दिनमा डिजेल गाडीलाई रूपान्तरित बिजुली गाडी बनाएर परीक्षण गर्न लागेको साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले जानकारी दिए । उनले अहिले सञ्चालनमा आउने बसमा २६ सिट रहेको र ४५ मिनेटमा बस पूर्ण चार्ज (फुल चार्ज) हुने बताए । उनले एक पटक फुल चार्ज गरेपछि साझा यातायातका विद्युतीय सवारी २ सय किलोमिटरसम्म गुड्नसक्ने बताए । १.१ मेगावाट क्षमताका २४ वटा समानान्तर चार्जिङ पोइन्ट रहेको बताउँदै उनले अब आउने विद्युतीय साझा बसको लागि साझासँग स्थान नभएको जानकारी गराए ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले साझा यातायातमा काठमाडौं महानगरपछि ललितपुर महानगरपालिकाको धेरै लगानी भएको बताए । उनले ललितपुर महानगरको बाहिर क्षेत्रमा साझाका बस चल्ने र भित्रि कोर क्षेत्रमा सटलबस चलाउन साझालाई रकम दिइसकेको बताए । उनले ४५ सिट भएका सटलबस पुल्चोक, पाटनदबार, महाबौद्ध र लगनखेल क्षेत्रमा चलाउन गइरहेको बताए । सटलबस सञ्चालनमा लाग्ने खर्च बिइपीमा हुनुपर्ने नभए ललितपुर महानगरपालिकाले सहयोग गर्ने उनको भनाई छ ।

साझाले २०७९ असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० वटा बस खरिदका लागि सम्झौता गरेर बस नेपालमा ल्याएको थियो । साझा यातायातले आफ्नै जग्गामा चार्जिङ स्टेसन बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.