निजी क्षेत्र भन्छ : लगानी सम्मेलनबाट उत्साहित छौं

  २०८१ वैशाख १८ गते १०:५७     विकासन्युज

काठमाडौं । दुई दिन सञ्चालन भएको तेस्रो लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिवद्धताबाट नेपालको निजी क्षेत्र उत्साहित भएको छ ।

सरकारले आयोजना गरेका विगतका दुई लगानी सम्मेलन भन्दा अहिलेको लगानी सम्मेलन सफल र फलदायी भएको भन्दै निजी क्षेत्र उत्साहित भएको हो । लगानी सम्मेलनमा सरकारले निजी क्षेत्रलाई सह-आयोजकको रुपमा सँगै लिएर जाँदा निजी क्षेत्र सन्तुष्ट देखिएको छ । तेस्रो लगानी सम्मेलनमा करिव ९ अर्ब भन्दा बढीको लगानी स्वीकृत समेत भएको छ । निजी क्षेत्रले नेपालमा अब लगानीको ठूलो सम्भावना रहेको सन्देश विश्वमा पुगेको भन्दै अब मुलुकको आर्थिक गतिविधि चलायमान बनाउन समेत सहयोग पुग्ने वातावरण बन्ने अपेक्षा निजी क्षेत्रको छ ।

व्यवसायीहरुले विगतका लगानी सम्मेलनमा सन्तोषजनक प्रतिफल लिन नसकेको भएपनि अहिलेको लगानी सम्मेलनमार्फत प्रतिफल समेत प्राप्त हुने आशा निजी क्षेत्रको छ । निजी क्षेत्रले सरकारले लगानी सम्मेलनको मुखमा निजी क्षेत्रले माग गरे अनुसार विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउनको लागि केही कानूनहरु संशोधन समेत गरेकाले थप आशा जागेको उनीहरुको भनाई छ । सरकार लगानी प्रवद्र्धन तथा सहजता बनाउनको लागि प्रतिवद्ध रहेको सन्देश दिन सकेकाले पनि विगतको भन्दा यो लगानी सम्मेलन उत्साहका साथ सफल भएको निजी क्षेत्रको दाबी छ ।

देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा लिइएको निजी क्षेत्रलाई साथमा लिएर हिँड्ने सरकारी घोषणा र नेपालमा लगानी गर्न तयार रहेको विदेशी लगानीकर्ताको घोषणापछि निजी क्षेत्र उत्साहित बनेको देखिन्छ । सरकारले कानून संशोधन मात्रै भन्दा पनि कार्यान्यनमा पनि तदारुकता देखाउन आवश्यक रहेको निजी क्षेत्रको माग छ । उनीहरुले सरकारले लगानी सम्मेलनमा आएका प्रतिवद्धतालाई सदुपयोग गर्नेगरी भावी दिनमा काम गर्नुपर्नेमा जोड दिए । तर विगतका लगानी सम्मेलनमा भएका प्रतिवद्धता अनुसार काम नदेखिएकाले थप चुनौतीपूर्ण छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई सहआयोजक बनाएर गरेको लगानी सम्मेलनमा निजी क्षेत्रको पनि स्वामित्व रहेको बताए । उनले विगतका लगानी सम्मेलन भन्दा यो केही फरक भएकाले प्रतिफल आउने गरी सम्पन भएको दाबी गरे । उनले स्वदेशी तथा विदेशी लगानीको लागि बाधक रहेका पुराना कानूनहरुलाई सरकारले संशोधन गरेकाले आशा जगाएको बताए ।

उनले निजी क्षेत्रले दिएका सबै सुझावका आधारमा कानूनहरुलाई संशोधन गरेकाले लगानीको प्रतिवद्धता जनाउन लगानीकर्तालाई सहज भएको बताए । लगानी सम्मेलनको मुखमा आएर बिआईए गर्नसक्ने ऐन मन्त्रीपरिषद्बाट पास हुँदा सरकार लगानी प्रवद्र्धनमा प्रतिवद्ध रहेको सन्देश बाहिर गएको बताए ।

भारत, चीन लगायतका मुलुकबाट आएका प्रतिनिधिहरुले धेरै क्षेत्रमा लगानीको सम्भावना रहेको बताएकाले आगामी दिनमा लगानी आउने थप वातावरण बनेको उल्लेख गरे । उनले सरकारको मात्रै नभएर सरकार बाहिरका राजनीतिक दलहरुको समेत आर्थिक एजेण्डा र लगानी बढाउने कुराहरुमा एक ठाउँमा उभिएकाले सम्मेलन सफल भएको बताए । नेपालमा लगानीको सम्भावना र आकर्षण रहेको सन्देश सबैतिर गएको जानकारी दिए ।

‘सरकारले निजी क्षेत्रलाई सहआयोजक बनाएर गरेको लगानी सम्मेलन हो । लगानी सम्मेलनमा निजी क्षेत्रको पनि स्वामित्व रहेको छ । विगतका लगानी सम्मेलन भन्दा यो केही फरक भयो । किन भन्दा पुराना कानूनहरु जुन स्वदेशी तथा विदेशी लगानीको लागि बाधकका रुपमा रहेका थिए । सरकारको मात्रै नभएर सरकार बाहिरका राजनीतिक दलहरुको समेत आर्थिक एजेण्डा र लगानी बढाउने कुराहरुमा एक ठाउँमा उभिएका छन् । नेपालमा लगानीको सम्भावना र आकर्षण रहेको सन्देश सबैतिरबाट गएको छ । समग्रमा लगानी सम्मेलनले विश्वमा नेपालमा लगानीको सम्भावना छ भन्ने सन्देश गएको छ’, उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले समग्रमा लगानी सम्मेलनले राम्रो सन्देश दिएको बताइन् । उनले लगानी सम्मेलनमा सरकारले निजी क्षेत्रका माग अनुसार केही कानूनलाई संशोधन गरेर लगानीको वातावरण बनाउने प्रतिवद्धता जनाएर कानून संशोधन गरेकोमा थप उत्साहित भएको बताइन् । पूर्वअध्यक्ष राणाले निजी क्षेत्रले माग गरेको ऐनहरु सरकारले संशोधन गरेर लगानीकर्ताहरुलाई राम्रो सन्देश दिन सकिएको बताइन् ।

उनले कानून संशोधन गरेर सरकार लगानीको वातावरण बनाउनको लागि प्रतिवद्ध छ भन्ने सन्देश दिइएको पनि दाबी गरिन् । स्वदेशी र विदेशी लगानीकर्ताको लागि अफ्ठ्यारो अवस्थालाई सहज बनाएको बताइन् । सरकारले प्रश्तुत गरेका आयोजनाहरुमा लगानीको प्रतिवद्धता लगायत केहीमा सम्झौता पनि भएको उल्लेख गरिन् । उनले सरकारले गरेको कोभिड पछिको लगानी सम्मेलन विगतको भन्दा सफल भएको पनि दाबी गरिन् ।

सरकार र निजी क्षेत्रले सोचे जस्तो लगानी सम्मेलन सफल भएको उनको भनाई थियो । उनले लगानी सम्मेलनमार्फत टेक्नोलोजी,जलविद्युत र कृषि क्षेत्रमा विभिन्न सम्झौता समेत भएकाले नेपाल लगानीको आकर्षण बन्न सफल भएको पनि बताइन् । नेपालमा भएका स्रोतहरुलाई लगानीमा परिणत गर्न सक्नुपर्ने भन्दै ठूला पूर्वाधारमा लगानीको आवश्यकता देखिएको र विदेशी लगानीकर्ताको चासो पनि त्यसैमा रहेको बताइन् । लगानी सम्मेलनमा ठूला लगानीसँगै लघुघरेलु उद्योग क्षेत्रमा समेत लगानीको कुरा गरेकाले त्यसमा जिटुजीमार्फत संयुक्तहरुमा लगानीको वातावरण बन्ने अवस्था बनेको बताइन् । उनले लगानीको लागि भएका प्रतिवद्धता अनुसार तत्काल सरकारले गर्न सक्नुपर्नेमा जोड दिइन् । सरकारले गरेका कानूनहरु संशोधन भएपनि कार्यान्वयन गर्नसके मात्रै विदेशी र स्वदेशी लगानीलाई फस्टाउन मद्दत पुग्ने बताइन् ।

‘समग्रमा लगानी सम्मेलनले राम्रो सन्देश दिएको छ । लगानी सम्मेलनमा सरकारले निजी क्षेत्रका माग अनुसार केही कानूनलाई संशोधन गरेर लगानीको वातावरण बनाउने प्रतिवद्धता जनाएर कानून संशोधन गरेको छ । स्वदेशी र विदेशी लगानीकर्ताको लागि अफ्ठ्यारो अवस्थालाई सहज बनाएको छ । सरकारले प्रश्तुत गरेका आयोजनाहरुमा लगानीको प्रतिवद्धता लगायत केहीमा सम्झौता पनि भएको छ । लगानीको लागि भएका प्रतिवद्धता अनुसार तत्काल सरकारले गर्न सक्नुपर्छ । सरकारले गरेका कानूनहरु संशोधन भएपनि कार्यान्वयन गर्न आवश्यक छ । त्यो भए मात्रै विदेशी र स्वदेशी लगानीलाई फस्टाउन मद्दत गर्छ’, उनले भनिन् ।

फेडरेशन अफ नेपाल एक्सपोर्ट एशोसिएशनका अध्यक्ष पवनकुमार गोल्यानले लगानी सम्मेलनले लगानीको वातावरण बनाउन खाजेको बताए । उनले हरेक लगानी सम्मेलनमा लगानीको भाईब्रेट सिर्जना गरेको बताए । सम्मेलनबाट मुलुकको लागि आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने आशा गरेको बताए ।

उनले सरकारको लगानीका प्राथमिक क्षेत्रहरु पर्यटन,जलविद्युत क्षेत्रमा होमवर्क कम भएको बताए । सरकारले सम्मेलनमा कृषिलाई प्राथमिकता नदिएको भन्दै असन्तुष्टि जनाए । उनले कृषि प्रशोधन उद्योगमा विदेशी लगानी ल्याउने गरी योजना बनाउनुपर्ने बताए । समग्रमा लगानी सम्मेलनमार्फत लगानीको वातावरण बनाउने राम्रो प्रयास भएको जानकारी दिए ।

उनले क्षेत्रलाई समेटेर भन्दा पनि अब क्षेत्रगत प्राथमिकताका आधारमा गर्न आवश्यक देखिएको बताए । नेपाल लगानीको लागि सधैँ आकर्षण देश रहेको उल्लेख गरे । लगानी सम्मेलन सफल हुदाँ खुशी हुने मात्रै नभएर अब परिणाम आउने गरी काम गर्न जरुरी रहेको बताए । लगानी सम्मेलनमा अन्तर्राष्ट्रिय देशहरुबाट भएको सहभागितालाई लगानीको रुपमा सरकारले ग्रहण गर्नसके मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने जाानकारी दिए ।

‘लगानी सम्मेलनले लगानीको वातावरण बनाउन खाजेको छ । हरेक लगानी सम्मेलनमा लगानीको भाईब्रेट सिर्जना गर्छ । सम्मेलनबाट मुलुकको लागि राम्रो हुन्छ भन्ने आश गरेको छु । तर सम्मेलनमा सरकारको लगानीका प्राथमिक क्षेत्रहरु पर्यटन,जलविद्युत क्षेत्रमा होमवर्क कम भएको छ । लगानी सम्मेलनमा आएका प्रतिवद्धताहरु कार्यान्वयनको लागि सरकारले केही कानूनहरु संशोधन गरेको छ । तर यति लामो समय हुँदा पनि धेरै कानूनहरुमा सहजता ल्याउन सकिएको छैन । सरकारले मौखिक रुपमा भनेर भन्दा पनि कामले एक्सनमा गएर देखाउनु पर्छ’, उनले भने ।

त्यस्तै, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य मनोज पौडेलले नेपाल वैदेशिक लगानीको लागि राम्रो गन्तव्य भएको सन्देश दिएको बताए । लगानीको लागि सरकारले वातावरण बनाए लगानी निजी क्षेत्रले गर्ने बताए । सरकारले कानूनी समस्याहरुलाई समाधानको लागि सरकारले कानूनहरु संशोधन गरेर राम्रो काम भएको बताए । सरकारले गरेका कानून संशोधनले विदेशी लगानीकर्तालाई आकर्षण गरेको जानकारी दिए ।

उनले लगानी सम्मेलनमा उल्लेखिय सहभागिता रहेको भन्दै सम्मेलनमा विदेशी सरकारी निकायको प्रतिनिधि भन्दा पनि विदेशी निजी क्षेत्रलाई ल्याउन आवश्यक देखिएको बताए । लगानीको लागि नयाँ क्षेत्रमा युवाहरुलाई सहभागिता गराउने गरी सरकारले पनि सहजिकरण गर्न आवश्यक रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.