पर्यटक आगमन ५ वर्ष यताकै उच्च, चिनियाँ पर्यटक ३५९ प्रतिशतले बढे

  २०८० चैत १९ गते १३:४८     विकासन्युज

काठमाडौं । मार्च महिनामा नेपाल भित्रिने विदेशी पर्यटककाे संख्या २८.९ प्रतिशतले बढेको छ । गत वर्षको मार्चको तुलनामा यो वर्षको मार्चमा विदेशी पर्यटकको संख्या २८ हजार ७४१ ले बढेर १ लाख २८ हजार १६७ पुगेको हो ।

नेपाल पर्यटन बोर्डकाअनुसार गत वर्षको मार्चमा कूल ९९ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार एसिया (सार्क)देशहरूबाट ४० हजार ७२७ जना, एसिया (अन्य) बाट २८ हजार ६४८ जना, यूरोपबाट २७ हजार ५८२ जना, अमेरिकाबाट १२ हजार ६१४ जना र मध्य पूर्वबाट १ हजार ३४५ जना र अन्यबाट १२ हजार ४७१ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

नेपालमा भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका, जर्मनी, थाइल्याण्ड, अष्ट्रेलिया, फ्रान्स र म्यानमारबाट बढी पर्यटक आउने गरेका छन् ।

मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । भारतबाट सो अवधिमा ३० हजार ६९८ पर्यटक नेपाल आएका छन् । यस्तै, चीनबाट आउने पर्यटकको संख्यामा भने ठूलो वृद्धि देखिएको छ । गत वर्षको मार्चमा २ हजार ६३५ जना पर्यटक मात्रै आएकोमा यो वर्षको मार्चमा भने १२ हजार ९३ जना भित्रिएका छन् ।

बोर्डकाअनुसार सो अवधिमा अमेरिकाबाट १० हजार ७७३ र बेलायतबाट ७ हजार २४१ जना, श्रीलङ्काबाट ५ हजार ७४१, जर्मनीबाट ५ हजार २५५, थाइल्याण्डबाट ४ हजार ३४५, फ्रान्सबाट ३ हजार २४० र म्यानमारबाट ३ हजार १३१ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

यस वर्षको जनवरीमा ७९ हजार एक सय र फेब्रुअरीमा ९७ हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२३ को पहिलो तीन महिनामा दुई लाख २७ हजार सात सय ५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकोमो सन् २०२४ को पहिलो तीन महिनामा तीन लाख चार हजार छ सय ९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

पाँच वर्षकै उच्च

बोर्डका अनुसार यो वर्ष हालसम्मकै बढी पर्यटक भित्रिएका छन् । सन् २०२३ को मार्चमा ९९ हजार ४२६ जना पर्यटक भित्रिएकोमा सन् २०२२ को मार्चमा ४२ हजार १५२, २०२१ को मार्चमा १५ हजार २५४ जना, सन २०२० को मार्चमा ४२ हजार ७७६ जना र सन् २०१९ को मार्चमा १ लाख २७ हजार ३५१ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

कुन देशबाट कति आए पर्यटक ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.