राजेश मेटल क्रयाफ्टको व्यापार ४८ प्रतिशतले घट्यो, दबाबमा साढे ५ अर्ब ऋण 

  २०८० चैत १५ गते १२:४७     विकासन्युज

काठमाडौं । स्टील पाइप र सिटहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आएको राजेश मेटल क्रयाफ्ट (आरएमसी) को व्यापार ४८ प्रतिशतले घटेको छ । विगत एक वर्षको तुलनामा सन् २०२३ मा कम्पनीको व्यापार ४७.९२ प्रतिशतले घटेको हो ।

उद्योगले सन् २०२२ मा ८ अर्ब ५७ करोड ९० लाख रुपैयाँ व्यापार गरेको थियो । तर २०२३ मा व्यापार घटेर ४ अर्ब ४६ करोड ८० लाख रुपैयाँमा खुम्चिएको छ । कोरोना महामारीपछि लय समातेको कम्पनीको व्यापारमा पुनः ब्रेक लागेको छ ।

२०१९ मा कम्पनीको व्यापार ७ अर्ब ८२ करोड ९१ लाख रुपैयाँ थियो । त्यसपछि २०२० मा झन् घटेर ५ अर्ब ५६ करोड ४३ लाख रुपैयाँमा झरेको थियो । र, २०२१ र २०२२ मा भने कम्पनीको व्यापार बढेर क्रमशः ७ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ र ८ अर्ब ५७ करोड ९० लाख रुपैयाँ बराबरको पुगेको थियो । तर उक्त वृद्धिमा ब्रेक लागेर पुनः २०२३ मा कम्पनीको व्यापार खस्किएको छ ।

सन् १९९३ मा पब्लिक लिमिटेडको रुपमा स्थापना भएको राजेश मेटल क्राफ्ट उद्योग सन् २०१६ मा प्राइभेट लिमिटेडमा रुपान्तरण भएको थियो । पारिवारिक स्वामित्वमा रहेको यस उद्योगमा श्रवण अग्रवाल र उनका दुई छोराहरु (राजेश के. अग्रवाल र विष्णु के. अग्रवाल) को लगानी रहेको छ ।

स्टील पाइप र सिटहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आएको आरएमसीले हट रोल क्वाइल्स (एचआरसी) को आयात गरेर यसलाई कोल्ड रोल क्वाइल्स (सीआसी)मा प्रशोधन गर्छ । त्यसपछि तयारी वस्तुको उत्पादन गर्छ । कम्पनीले कच्चा वस्तु भने भारतबाट आयात गर्दै आएको छ ।

यसअघि पनि ५ अर्ब ५० करोडको ऋणको लागि रेटिङ्ग गराएको कम्पनीले पुनः ५ अर्ब ५० करोडको ऋण रेटिङ्ग गराएको छ । कम्पनीले रेटिङ्ग एजेन्सी इक्रा नेपालमा दीर्घकालीन कर्जाको लागि एक अर्ब ५० करोड र अल्पकालीन कर्जाको लागि ४ अर्ब रुपैयाँ बराबरको रेटिङ्ग गराएको छ । तर इक्रा नेपालले दुबैलाई कर्जाको रेटिङ्गलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेशन’ मा राखेको छ । जसले क्रेडिट मूल्याङ्कनमा डाउनग्रेड हुने सम्भावना बढी रहेको बुझाउँछ । यससँगै कम्पनीको उक्त साढे ५ अर्बको ऋण दबाबमा रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.