चीनसँग बढ्यो व्यापारीको चहलपहल, व्यवसायीले दक्षिण छोडेर उत्तर रोजेका हुन् ?

  २०८० चैत ७ गते ११:१२     सन्तोष रोकाया

काठमाडौं । पछिल्लो समय नेपाली व्यवसायीहरूको रोजाइ चिनियाँ बजार पर्न थालेको छ । व्यवसायीहरूले वस्तु आयातका लागि चिनियाँ बजार छनोट गर्न थालेपछि नेपालको चीनसँगको व्यापार पनि बढ्दै गएको तथ्यांकले देखाएको हो । चिनियाँ बजारमा नेपाली व्यवसायीको चहलपहल बढ्न थालेको संकेत पनि तथ्यांकले देखाएको छ ।

२०७२ सालको भूकम्पपछि सुस्त रहेको चीनसँगको व्यापार चालु वर्षमा उल्लेख्य रूपमा बढेको तथ्यांकले देखाएको छ । चीनले लामो समयसम्म केरुङ र तातोपानी नाका बन्द गरेर वस्तु आयात निर्यातमा कडाइ गरेको थियो । सो कडाइले नेपाल र चीनबीचको व्यापारमा प्रभाव परेको थियो । तर, अहिले सो नाका खुलेपछि चीनको बजारमा नेपाली व्यवसायीको चहल पहल बढ्न थालेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आठ महिनाको अवधिमा चीनबाट हुने आयात ३३.६७ प्रतिशत बढेको छ भने निर्यात २७५.४८ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा चीनबाट १ खर्ब ९४ अर्ब ८७ करोड ४४ लाख रुपैयाँबराबरको आयात भएकोमा कुल १ अर्ब ९५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चीनबाट १ खर्ब ४५ अर्ब ७८ करोड ५७ लाख रुपैयाँबराबरको आयात भएको थियो भने ५१ करोड ९३ लाख रुपैयाँबराबरको निर्यात भएको थियो ।

यस्तै, आठ महिनाको अवधिमा भारततर्फको आयात २.८३ प्रतिशतले घटेको छ भने निर्यात पनि ७.६८ प्रतिशतले घटेको छ । आठ महिनाको अवधिमा भारतबाट कुल ६ खर्ब ३८ अर्ब १७ करोड ७७ लाख रुपैयाँको आयात भएकोमा ६८ अर्ब ५१ करोड १७ लाखको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भारतबाट कुल ६ खर्ब ५६ अर्ब ८० करोड रुपैयाँको आयात भएको थियो भने कुल ७४ अर्ब २१ करोड ८६ लाख रुपैयाँबराबर निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा कुल वस्तु निर्यात ३.९९ प्रतिशतले घटेर १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँ कायम भएको छ भने आयात २.६६ प्रतिशतले घटेर १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँ कायम भएको छ ।

यो अवधिमा कुल व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ कायम रहँदा भारतसँगको व्यापार घाटा ५ खर्ब ६९ अर्ब ६६ करोड ४९ लाख रुपैयाँ र चीनसँगको व्यापार घाटा १ खर्ब ९२ अर्ब ९२ करोड ४२ लाख रुपैयाँबराबर रहेको छ ।

यस्तै, चीनबाट आयात हुने प्रमुख ४६ वटा वस्तुहरूमध्ये १२ वटा वस्तुको मात्रै आयात घटेको छ । अन्य वस्तुहरूको आयात ठूला परिमाणमा बढेको देखिन्छ । भारतबाट आयत हुने प्रमुख ५१ वटा वस्तुहरूमा २८ वटा वस्तुको आयात घटेको देखिन्छ भने २१ वटा वस्तुको आयात बढेको छ ।

भारतमा कडाइ, चीनमा सहज

निर्यात परिषद्का अध्यक्ष नरेश लाल श्रेष्ठले अहिले भारतले केही वस्तुहरूको आयातमा कडाइ गर्दा विगतको तुलनामा भारतसँगको व्यापार घटेर चीनसँगको बढेको बताए । उनका अनुसार भारतले भटमास र पाम तेलमा भन्सार दर बढाएर कडाइ गरेको छ भने प्लाइउडमा पनि कडाइ गरेको छ । त्यसले पनि निर्यातमा केही कमी देखिएको हो ।

‘हामीले भारतमा बढी निर्यात गर्ने भनेको प्लाइउड हो, अहिले भारतले त्यसमा कडाइ गरेको छ, वस्तुको माग भारतमा घटेको छ, भटमास र पाम आयलमा पनि भन्सार बढाउँदा निर्यात कम भइरहेको छ, त्यसको प्रभावस्वरुप भारततर्फको व्यापार बढेको देखिएको हो,’ उनले भने ।

उनका अनुसार विगतका चीनतर्फको नाका बन्द हुँदा व्यापार नभएको र अहिलेको खुल्दा व्यापार बढेको हो । रसिया र युक्रेनबिचको युद्धले पनि मागमा कमी आएको उनको तर्क छ ।

तथ्यांकअनुसार जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, अलैंची, चिया, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ ।

यस्तै, तयारी पोशाक, सवारी साधान तथा स्पेयर पार्टपुर्जा, हवाइजहाज स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, एम.एस. तार, छड, बार तथा क्वाइल लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, धान तथा चामल, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।

नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता डा.डिल्लीराम पोखरेल पनि अहिले चिनियाँ नाका खुलेपछि चहल पहल बढेको बताउँछन् । उनले विगतमा चीनतर्फको केरुङ र तातोपानी नाका बन्द हुँदा व्यापार पनि कम भएको र अहिले नाका खुला हुँदा व्यापार बढेको देखिएको धारणा राखे ।

सुस्ताए भारततर्फका भन्सार

आयात-निर्यातमा आएको उचार चढावको प्रभाव भन्सार कार्यालयमा पनि देखिएको छ । भारततर्फका भन्सार कार्यालयको व्यापार घटेको देखिन्छ भने चीनतर्फका भन्सार कार्यालयको व्यापार बढेको देखिन्छ ।

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको देखिन्छ ।

यस्तै, आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

तथ्यांकअनुसार विराटनगर भन्सार कार्यालयबाट आयात ९.८६ प्रतिशत कमी आएर १ खर्ब १२ अर्ब ४५ करोड २१ लाख रुपैयाँबराबरको कारोबार भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस भन्सार कार्यालयबाट १ खर्ब २४ अर्ब ७५ करोड ७४ लाख रुपैयाँबराबरको आयात भएको थियो ।

यस्तै, सबैभन्दा बढी आयातको हिस्सा भएको भारततर्फको भन्सार कार्यालय बिरगञ्ज भन्सार कार्यालयबाट हुने आयात पनि घटेको छ । गत आर्थिक वर्षको फागुनमा ३ खर्ब ९१ अर्ब ३ करोड रुपैयाँबराबरको आयात भएकोमा चालु आर्थिक वर्षको फागुनमा ३ खर्ब ५३ अर्ब ४ करोड रुपैयाँ बराबरको आयात भएको देखिन्छ ।

कैलाली भन्सार नाका २१.५८ प्रतिशत कमी आएर १४ अर्ब ७४ करोड २२ लाख रुपैयाँबराबरको कारोबार भएको छ । झापाका मेची भन्सार कार्यालयमा ९.८ प्रतिशतको घटेर २८ अर्ब १४ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट हुने कारोबारमा ठूलो गिरावट आएको छ । चीनतर्फका भन्सार कार्यालयमा भने कारोबार बढेको देखिन्छ । रसुवा भन्सार कार्यालयबाट हुने आयात १११.८८ प्रतिशतले बढेर ३५ अर्ब बढीको आयात भएको छ ।

तातोपानी भन्सार कार्यालयबाट हुने आयातमा पनि ठूलो छलाङ मारेको छ । यो भन्सार कार्यालयबाट कुल आयात २२२.८ प्रतिशत बढेर २३ अर्ब १४ करोड ८३ लाख रुपैयाँको आयात भएको छ ।

यस्तै, निर्यातमा पनि अधिकांश चीनका भन्सार कार्यालयको व्यापार बढेको देखिन्छ भने भारततर्फका भन्सार कार्यालयको व्यापार बढेको देखिन्छ । तर, कारोबार रकम भने चीनभन्दा भारततर्फका भन्सार कार्यालयको उच्च छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.