यी हुन् नेपालको प्रशासन हाँक्ने आधा दर्जन महिला

  २०८० फागुन २५ गते ११:४१     नारायण अर्याल

काठमाडौं । अहिले नेपाल सरकारको सचिव स्तरमा ६९ जना कर्मचारी कार्यरत छन् । जसमध्ये ८ जना महिला सचिव छन् । ०६२/६३ को आन्दोलनपश्चात् निजामती कर्मचारी, शिक्षक लगायत सरकारका विभिन्न अंगमा जातीय, क्षेत्रीय, लैंगिक, अल्पसंख्यक लगायतका विभिन्न आधारहरूबाट कर्मचारी छनौट गर्ने प्रक्रिया सुरु भएपछि अहिले राज्यको सेवा क्षेत्रमा समावेशिताको स्वरुप देखिएको छ ।

तर, विगतमा समावेशिताको अवधारणा लागू नभएको अवस्थामा खुला प्रतिस्पर्धाको आधारमा निश्चित वर्ग तथा समुदायको तर्फबाट मात्रै बढी संख्यामा राज्यको सेवा क्षेत्रमा सहभागिता हुने स्थिति रहेको थियो । कुनैबेला महिलाको शून्य सहभागिता हुने राज्यको केन्द्रीय प्रशासन तहमा अहिले ११.५९ प्रतिशत महिला रहेका छन् ।

केन्द्रीय प्रशासन अर्थात् नेपालको ब्यूरोक्रेसीको उच्च तहमा भएर काम गरिरहेका महिलाहरू सम्पूर्ण नेपाली किशोरी, युवा र सम्पूर्ण महिलाहरूको प्रेरणा र आत्मविश्वासको स्रोत बनेका छन् ।

प्रधानमन्त्री कार्यालय हाँक्ने लिलादेवी 

पूर्वी नेपालको तेह्रथुम जिल्लामा जन्मिएकी लिलादेवी गड्तौला एसएलसी पास गरेपछि उच्च शिक्षा गर्न काठमाडौं आइन् । कानून विषय अध्ययन गरेकी गड्तौलाले ०५२ सालमा लोकसेवा मार्फत न्याय सेवामा प्रवेश गरेकी हुन् ।

२ वटा बच्चाको आमा भइसकेपछि अधिकृत स्तरबाट जागिरे जीवनको सुरुवात गरेकी उनले शाखा अधिकृत, उपसचिव र सहसचिव गरी १७ वर्ष कानून मन्त्रालयमा काम गरिन् । ऊर्जा, जलस्रोत, उद्योग, परराष्ट्र मन्त्रालय, निर्वाचन आयोग, गृह मन्त्रालय लगायतका महत्वपूर्ण निकायमामा काम गर्दै अहिले उनी प्रधानमन्त्री कार्यालयमा सचिवका रूपमा कार्यरत छिन् ।

पहिलो महिला परराष्ट्र सचिव लम्साल

यतिबेला परराष्ट्र मन्त्रालय हाँकिरहेकी सेवा लम्साल परराष्ट्र सेवा अन्तर्गत पहिलो महिला सचिव हुन् । भोजपुर दिङ्लाकी लम्साल सन् १९९८ मा शाखा अधिकृत मार्फत निजामती सेवामा प्रवेश गरेकी थिइन् ।

त्यसपछि सन् २०१० मा परराष्ट्र सेवामा उपसचिव भएकी उनी त्यसको एक वर्षमा नै सहसचिव भइन् ।

उनी महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयदेखि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग तथा पाकिस्तानका लागि राजदूत भएर काम गर्दै पछिल्लो समयमा परराष्ट्र सेवाको सचिवको जिम्मेवारी सम्हाल्ने ठाउँमा आइपुगेकी छन् ।

उनी परराष्ट्र मन्त्रालयको २५औं सचिव हुन् ।

प्राविधिक तर्फकी पहिलो महिला सचिव 

नेपालको प्रशासनमा अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय हाँकीरहेकी सचिव प्रमिलादेवी बज्राचार्य प्राविधिक तर्फकी पहिलो महिला सचिव हुन् ।

उनी २०५६ सालमा शाखा अधिकृत (इन्जिनियर)बाट निजामती सेवा प्रवेश गरेकी थिइन् । २०६४ सालमा खुला प्रतिस्पर्धाबाट उपसचिव (सिनियर डिभिजनल इन्जिनियर) र त्यसको चार वर्षपछि खुला प्रतिस्पर्धाबाट नै सहसचिवमा नाम निकालेकी थिइन उनले ।

राष्ट्रिय सतर्कता केन्द्र, रेल विभाग, सडक विभाग, भौतिक पूर्वाधार मन्त्रालय र खानेपानी मन्त्रालय हुँदै उनी अहिले शिक्षा मन्त्रालयमा कार्यरत छन् ।

उपमहालेखापरीक्षक बिन्दु 

सुनसरीको धरानमा जन्मेकी बिन्दु बिष्ट २०५७ सालमा प्रशासन सेवाको खरिदार पदबाट नेपालको निजामती सेवामा प्रवेश गरेकी थिइन् ।

त्यसपछि २०५९ सालमा लेखापरीक्षण सेवामा शाखा अधिकृतबाट फरक सेवामा प्रवेश गरेकी उनी अहिले महालेखापरीक्षक कार्यालयको उपमहालेखापरीक्षक अर्थात नेपाल सरकारको सचिव सरहको जिम्मेवारीमा काम गर्दै आएकी छिन् ।

उनले २०६८ सालमा आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव र २०७१ फागुनमा खुला प्रतिस्पर्धाबाट सहसचिवसरह नायब महालेखापरीक्षकमा नाम निकालेकी थिइन् ।

बिन्दुलाई २०७९ साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले उपमहालेखापरीक्षकमा बढुवा गरेको थियो ।

गण्डकी प्रदेश हाँकिरहेकी बस्नेत

सुर्खेतमा जन्मेकी लक्ष्मीकुमारी बस्नेत ०६३ सालमा शाखा अधिकृतबाट निजामती प्रशासनमा प्रवेश गरेकी थिइन् ।

अधिकृत भएको साढे चार वर्ष अर्थात् ०६७ सालमा नै उनले सहसचिवमा नाम निकालेकी थिइन् । ०६७ सालदेखि ०८० असारसम्म सहसचिवको रुपमा नेपाल सरकारका विभिन्न निकायमा काम गर्दै आइन् ।

गत असार २६ गतेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गरेको थियो ।

यतिबेला सचिव बस्नेत गण्डकी प्रदेशको मुख्य सचिवको रुपमा काम गरिरहेकी छन् ।

लुम्बिनी प्रदेशमा अर्याल

राजधानी काठमाडौंमै जन्मेकी राधिका अर्याल विसं २०६१ सालमा खुला प्रतिस्पर्धाबाट शाखा अधिकृतमा प्रवेश गरेकी थिइन् । उनले अहिले नेपाल सरकारको सचिव स्तरको जिम्मेवारीमा रहेर लुम्बिनी प्रदेशको मुख्यसचिवको भूमिका निर्वाह गरिरहेकी छन् ।

उनले जागिरे जीवनको आठ वर्षपछि २०६९ मा खुला प्रतिस्पर्धाअन्तर्गत महिलातर्फ सहसचिवमा नाम निकालेकी थिइन् ।

सहसचिवको ११ वर्षे कार्यकालयमा उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेर काम गरिन् ।

गत कात्तिक १६ गते सचिवमा बढुवा भएर उनले अहिले लुम्बिनी प्रदेशको मुख्य सचिवको रुपमा काम गर्दै आएकी छन् ।

 बिदा भइन् देवकुमारी 

सरकारले शनिबारबाट अवकास हुन लागेकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंलाई बिहीबार नै बिदाइ गर्ने निर्णय गरेकाे छ ।

२०५१ सालमा प्राविधिक सहायक पदवाट निजामती सेवामा प्रवेश गरेकी उनले शिक्षा सेवा, शिक्षा प्रशासन, निर्वाचन आयोग, सार्वजनिक खरिद अनुगमन कार्यलय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा काम गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.