दुई हजारको बिन्दुबाट झर्यो नेप्से परिसूचक, कारोबारमा पनि संकूचन

  २०८० फागुन १३ गते १५:५१     विकासन्युज

काठमाडौं । साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक दुई हजार बिन्दुबाट पनि तल झरेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक एकैदिन २६.८१ अंकले घटेर १९७९.०२ बिन्दुमा झरेको हो । जुन गत बिहीबारको तुलनामा १.३३ प्रतिशतले घटी हो ।

बजारमा परिसूचकसँगै कारोबार रकम पनि घट्दो क्रममा छ । बिहीबार तीन अर्ब २० करोडको कारोबार भएको थियो भने आइतबार थप घटेर तीन अर्ब आठ करोडको सेयर किनबेच भएको छ ।

पछिल्लो समय हिमालयन रि इन्स्योरेन्सको निरन्तर सर्वाधिक कारोबार हुँदै आएको थियो । तर आइतबारको बजारमा भने उक्त रेकर्ड ब्रेक भएको छ । यससँगै हिमालयन रि सर्वाधिक कारोबार गर्नेको तेश्रो स्थानमा रहेको छ ।

आइतबारको बजारमा सर्वाधिक कारोबार गर्नेमा सूर्या नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । जसको एकैदिन २५ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने सेयर मूल्य पनि बढेर प्रतिकित्ता ५९९.८० रुपैयाँ पुगेको छ । कम्पनीले बोनसपछि हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेसँगै कम्पनीको कारोबारसँगै सेयर मूल्य पनि बढेको हो । इन्स्योरेन्सले आइतबार मात्रै २३.८० प्रतिशत बोनसपछि २७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेको थियो ।

बजारमा टप गेनरको शीर्ष स्थानमा बोटलर्स नेपाल (बालाजु) नै रहेको छ । जसको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४ हजार ७५६ रुपैयाँ पुगेको छ । यता टप लुजरको शीर्ष स्थानमा समाज लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता १९५८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । करिब दुई साता निरन्तर १० प्रतिशतले बढेको संस्थाको सेयर मूल्य आइतबार भने १० प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.