त्रिविको उपकुलपतिमा तीन विवादित व्यक्तिको चर्चा, भ्रष्टाचार गरेकोदेखि थेसिस चोरेकोसम्म आरोप

  २०८० फागुन २ गते १०:३४     इन्द्रसरा खड्का

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अहिले उपकुलपति छनोटको प्रक्रियामा छ । यसअघिका उपकुलपति डा. धर्मकान्त बास्कोटाको चारवर्षे पदावधि कार्तिक १६ देखि सकिएपछि त्रिविमा सो पद रिक्त छ । शिक्षा मन्त्रालयअन्तर्गतको उपकुलपति सिफारिस समितिमार्फत् छनोट प्रक्रिया अघि बढिसकेको छ । हाल निमित्त उपकुलपतिको भरमा चल्दै आएको त्रिविको नेतृत्व गर्नका लागि ४३ जनाले आवेदन दिएका थिए । तर, १४ जनाको नाम सर्टलिष्टमा परेको छ ।

सर्टलिष्टमा कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्र बहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौड्याल, टंकनाथ धमला, डा. तिर्थराज खनियाँ, नारायणप्रसाद वेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भूसाल र सूर्यबहादुर थापाको नाम परेको छ ।

फागुन २ गतेसम्म उनीहरूको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण हुनेछ । त्यसपछिको अन्तिम प्रक्रिया अन्तर्वार्ता हुनेछ । सोही आधारमा त्रिविको उपकुलपति छनोट हुने बताइए पनि तीन जनाको नाम उपकुलपति बन्ने चर्चा सुरु भइसकेको छ । तर, तीनै जना विवादित छवि भएका पात्रकारूपमा परिचित छन् । हजारौं विद्यार्थीको भविश्यसँग जोडिएको त्रिविको उपकुलपति छनोट राजनीतिक भागवण्डासँग जोडिनु विडम्बना हो । तर, पछिल्लो समय सो प्रवृति मौलाइरहेको छ ।

त्रिविको उपकुलपतिका लागि केहरजंग बराल, तिर्थराज खनियाँ र शिबलाल भुसालको नाम विवादित भएको कारण चर्चामा छ ।  राजनीतिक पुहँचका आधारमा पनि बलियो यी तीन जनाले विभिन्न ठाउँमा नेतृत्व गरेर पनि बदनामी भएका छन् ।

पाल्पा जन्मघर भएका केशरजंग बरालमाथि आर्थिक अनियमितता र भ्रष्टाचारको आरोप छ । उनी पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति पनि हुन् । सो विश्वविद्यालयको उपकुलपति हुँदा उनीमाथि भ्रष्टचारको आरोप लागेको थियो । वि.सं २०७१ सालमा निजी कलेजलाई सम्बन्धन दिँदा आर्थिक चलखेल गरेको भन्दै उनी विरुद्ध अख्तियारमा समेत मुद्दा परेको थियो ।

पाल्पा घर भएका बरालमाथि प्रक्रिया नपु¥याएका कलेज तथा शैक्षिक संस्थालाई विश्वविद्यालयबाट सम्बन्धन दिई आर्थिक चलखेल गरेको आरोप लागेको छ । तर, यी आरोपमा भने उनले सफाइ पाइसकेका छन् ।

यस्तै, सर्टलिष्टमा परेका अर्का विवादित व्यक्ति हुन् तिर्थराज खनियाँ । त्रिविको पूर्वउपकुलपति समेत रहेका उनीमाथि पनि ‘बौद्धिक चोरी’को आरोप छ । उनी त्रिभुवन विश्वविद्यालयको शिक्षा शाखामा हुँदा ‘बौद्धिक चोरी’ गरेको आरोप लागेको थियो । उनले टर्कीको फेरिट मिडिल इस्ट टेक्निकल विश्वविद्यालयका प्राध्यापक फेरिट किलिकायाको थेसिस हुबहु कपि गरेको आरोप लागेको थियो ।

यस्तै, २००६मा ‘नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसियेसन’ (नेल्टा) द्वारा प्रकाशित जर्नलमा लेखेको लेख पनि चोरेको आरोप लागेको थियो । बौद्धिक चोरीको आरोप लागेकै समयमा उनलाई तत्कालीन प्रधानमन्त्री स्व.शुसिल कोइरालाले त्रिविको उपकुलपतीमा नियुक्त गरेका थिए । उनको उपकुलपतिको रूपमा सो कार्यकाल पनि विवादित नै बन्यो ।

उनले त्रिभूवन विश्वविद्यालयको जग्गा बाँडफाँड गरेको, निजी मेडिकल कलेजलाई नियम विपरित सम्बन्धन दिएको लगायतका विभिन्न आरोप उनीमाथि लागेको थियो । उनीमाथि विभिन्न आरोप लागे पनि राजनीतिक दलको संरक्षणमा रहँदै आएका छन् । उनी नेपाली काँग्रेस निकट मानिन्छन् ।

गत कात्तिक १६ गते तत्कालीन उपकुलपति धर्मकान्त बाँस्कोटाको पदावधी सकिएपछि निमित्त उपकुलपतिमा नियुक्त भएका थिए शिबलाल भुसाल । अर्घाखाँची घर भएका उनी अहिले पनि सोही पद सम्हालिरहेका छन् । उनको नाम पनि उपकुलपतिको सर्टलिष्टमा परेको छ ।

उनी पनि विवादरहित व्यक्ति भने होइनन् । उनीमाथि सूचना लुकाएको आरोप छ । त्रिभुवन विश्वविद्यालयमै रहँदा विद्यार्थीलाई सूचना नदिएको आरोप लागेपछि भुसाललाई राष्ट्रिय सुचना आयोगले कारवाही गरेको थियो । वि.सं २०७७ सालमा विद्यार्थीलाई सूचना नदिएर लुकाएको आरोप लागेपछि भुसाललाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

यसरी विभिन्न विषयमा विवादमा रहेका व्यक्तिको नाम सर्टलिष्टमा परेको भन्दै सर्वसाधारणले पनि विरोध गरिरहेका छन् भने संसदीय समितिमा पनि सांसदहरूले छनोट समितिलाई समेत प्रश्न गरिरहेका छन् ।

छनोट मापदण्ड नै गलत

त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको लागि बनाएको मापदण्ड नै गलत रहेको शिक्षाविद्हरू बताउँछन् । शिक्षाविद प्राध्यापक डा. विनय कुशियत सर्टलिष्टमा पर्ने उम्मेदवारभन्दा पनि सर्टलिस्टमा पर्ने प्रक्रिया गलत भएको बताउँछन् ।

‘यो प्रक्रिया उपकुलपति छनोट गर्नेभन्दा पनि विभिन्न प्राध्यापक, सहायक प्राध्यापक छान्ने जस्तो भयो,’ उनी भन्छन्, ‘सरकारको काम खोजी गर्ने हो । तर, यहाँ खोजी नगरेर छनोट गर्न खोजियो, व्यक्ति को आउँछ भन्दा पनि यो प्रक्रिया नै गलत भयो ।’

उनी कुनै व्यक्तिलाई आक्षेप लागेको छ भने त्यसको सोधखोज हुनुपर्ने बताउँछन् । ‘कुनै पनि सार्वजनिक व्यक्ति यस्तो विवादमा मुछिन्छ र पब्लिकले नै प्रश्न गरिसकेपछि सोधखोज हुनुपर्छ,’ उनी थप्छन्, ‘कसैलाई बौद्धिक चोरीको आरोप लागेको छ, कसैलाई सूचना चोरीको आरोप छ, यदि यो सत्य हो भने त्यही अनुसारको दण्डित गर्नुपर्छ ।’

उपकलपति छनोट गर्दा उसको भिजन कस्तो छ ? उसले अरु ठाउँमा कस्तो नेतृत्व गरेको छ ? त्यो व्यक्तिबाट के-कस्तो आशा गर्न सकिन्छ ? भन्ने लगायतका अपेक्षा हुने भए पनि आरोप लागेका व्यक्तिहरूलाई सर्टलिष्टमा राखेर उपकुलपतिका लागि योग्य बनाउन खोज्नु विडम्वना भएको बताउँछन् ।

‘सिंगो विश्वविद्यालयको छवि धमिलो बन्न सक्छ’

कुनैपनि आरोप लागेका व्यक्ति सार्वजनिक पदमा रहन उचित हुँदैन । वरिष्ठ अधिबक्ता दिनेश त्रिपाठी विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थामा छनोट हुने व्यक्ति विवादित हुन नहुने धारणा राख्छन् ।

‘शिक्षा जस्तो पवित्र संस्थाको कार्यकारी व्यक्तित्व चरम विवादमा परेको राम्रो हुँदैन, विवादित व्यक्तिलाई उपकुलपति बनाउन खोज्नु र सर्टलिष्टमा नै राख्नुले राम्रो सन्देश प्रवाह हुँदैन, यस्ता व्यक्तिले विश्वविद्यालयमा कसरी प्राज्ञिक वातावरण बनाउन सक्छन् ? यसमा स्वच्छ वातावरण हुनै सक्दैन,’ उनी भन्छन् ।

उनी प्रतिस्पर्धाबाट उत्तम व्यक्तिलाई छनोट गर्नु पर्ने बताउँछन् । राजनीतिक पहुँचका आधारमा उपकुलपति छनोट गर्दा त्यसले सिंगो विश्वविद्यालयको छवि माथि नै प्रश्न उठ्ने धारणा उनको छ ।

‘छनोट समितिले सत्ताको ग्यालरीबाट आएका नामहरूलाई प्रस्ताव गरेको देखियो, यो प्रक्रिया नै स्वच्छ, स्वतन्त्र र निस्पक्ष भएन,’ उनी भन्छन्, ‘योग्य, विवादरहित र स्वच्छ छवि भएको उम्मेदवारलाई छनोट समितिले छनोट गर्नुपर्छ, यो छनोट समितिको क्षमता परीक्षण गर्ने समय पनि हो,’ उनले भने ।

एक पटक उपकुलपति भएर धेरै विवादमा परेकोलाई पुनः उपकुलपतिका लागि छनोट गर्दा शिक्षा क्षेत्र नै पतनको बाटोमा जाने र सिंगो विश्वविद्यालयको छवि धमिलो हुन सक्ने तर्क उनको छ । उनी भन्छन्, ‘उपकुलपति एउटा प्राज्ञिक व्यक्ति हुनुप¥यो, शिक्षा क्षेत्रमा ठूलो योगदान भएको हुनुप¥यो, जसको चरित्र, नैतिकताबारे कहीँ पनि प्रश्न र विवाद उठेको हुनु हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.