हेटौंडा उद्योगको सवा २ लाख बोरा सिमेन्ट ६०० मा पनि बिकेन, नाफामा लैजान डेढ अर्ब पुँजी आवश्यक

  २०८० माघ २३ गते १७:०१     नारायण अर्याल

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहको हेटौंडा सिमेन्ट उद्योगको सिमेन्ट बिक्री हुन छाडेको छ । कहिले बन्द त कहिले सञ्चालनमा रहेर काम हुँदै आएको यो उद्योगबाट उत्पादित मौज्दात दुई लाख २५ हजार बोरा सिमेन्ट बिक्री गर्न उद्योगलाई सकस भएको हो । उत्पादन भएको सिमेन्ट बिक्री नहुँदा नयाँ उत्पादन पनि हुन छाडेको बताइएको छ ।

विगतमा दैनिक ५/७ हजार बोरा सिमेन्ट बिक्री गर्दै आएको उद्योग पछिल्लो दिनमा २ हजार बोरामा मात्रै सिमित छ । हेटौंडा सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १५ हजार बोरा सिमेन्ट हो ।

उद्योगका प्रवक्ता नवीनकुमार कर्णका अनुसार अहिले दैनिक २ हजार बोरा सिमेन्ट बिक्री भइरहेको छ । प्रतिस्पर्धात्मक बजारमा उद्योगको नियमित उत्पादन नहुनु र भएको उत्पादनको पनि ब्राण्डिङ र बजारीकरण गर्न नसक्दा समस्या भइरहेको उनको भनाइ छ । उनले अहिले मौज्दात अवस्थामा रहेको एक लाख बोरा सिमेन्ट बिक्री हुन नसकेको पनि बताए ।

हालै सिमेन्ट उद्योगले उत्पादन गरेका करिब दुई लाख २५ हजार बोरा सिमेन्ट काठमाडाैं, पोखरा, विराटनगर, जनकपुरलगायत अन्य सहरमा खपत हुन नसक्दा उद्योगले आर्थिक सङ्कटबाट मुक्त हुन नसकेको पनि कर्णले बताए ।

नाफामा लैजान असम्भव

सरकारले पछिल्लो समयमा रुग्ण उद्योगहरूलाई सञ्चालन गर्ने अभियान अगाडि बढाएको छ । तर, झण्डै ५ दशक अगाडि स्थापना भएको सिमेन्ट उद्योग पुरानै मोडेल, मेसिन र व्यवस्थापनबाट सञ्चालन हुँदा समस्या भइरहेको बुझिएको छ ।

उद्योगले अवकास भएका दर्जनौं कर्मचारीलाई समेत अवकासको ६९ करोड रुपैयाँ भुक्तानी गर्न सकेको छैन । व्यापारिक दायित्व, कर्जा सापटी, वित्तीय दायित्व र अन्य दायित्व गरेर उद्योगको ७७ करोड भन्दा बढी ऋण तिर्न बाँकी रहेको उनको भनाइ छ ।

प्रवक्ता कर्णका अनुसार उद्योगलाई अहिलेको मेसिनरी अवस्थामा राखेर पूर्ण क्षमतामा सञ्चालन गर्दा पनि नाफामा लैजान सकिँदैन । ‘अहिले भन्दा ५० वर्ष पुरानो प्रविधि भएकाले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नेगरी सञ्चालन गर्न सकिँदैन, यसका लागि थप पुँजी आवश्यकपर्छ,’ उनले भने ।

उद्योगका छैठौं तहका कर्मचारी निर्मल पौडेलले अहिले उद्योगले उत्पादन गरेको सिमेन्टको प्रतिबोरा उत्पादन लागत ८ सय रहेको तर बजारमा ६ सय रुपैयाँ पनि बिक्री नभएको जानकारी दिए ।

उद्योगले डेढ वर्ष अगाडि प्लान्टको अडिट गरेर उद्योग मन्त्रालयलाई बुझाएको छ । सो अडिटले उद्योगको प्रविधि तथा संरचनाको कार्यक्षमता ४० प्रतिशत मात्रै रहेको देखाएको छ । प्रवक्ता कर्णका अनुसार उद्योगलाई अहिलेको प्रविधिका आधारमा सञ्चालन गर्न एक अर्ब ६० करोड बढी पुँजीको आवश्यकता पर्छ । २८ सय मेट्रिक टन दैनिक क्लिङकर र दैनिक ३०/४० हजार बोरा सिमेन्ट उत्पादन क्षमताको उद्योग निर्माण गर्न उक्त पुँजी आवश्यकता पर्ने उनको भनाइ छ ।

यस्तै, उद्योगको प्रविधि पुरानो भएको कारण इन्धन र कर्मचारी तथा कामदारमा समेत बढी खर्च हुने गरेको अवस्था रहेको छ । तर, उद्योगले आफ्नो तालुकदार निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाएको अडिट प्रतिवेदनको विषयमा भने मन्त्रालयले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

सरकारको पूर्ण स्वामित्व भएको उद्योगमा अर्थ मन्त्रालय र महालेखापरीक्षकको कार्यालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र महालेखा नियन्त्रण कार्यालय, उद्योग मन्त्रालय, उद्योग विभाग र खानी तथा भूगर्भ विभागको बराबर शेयर लगानी रहेको छ । त्यसैले उद्योगको अवस्थामा परिवर्तनको लागि सरकारकै तहबाट निर्णय हुनुपर्ने प्रवक्ता कर्णको भनाइ छ । हेटौंडा सिमेन्ट उद्योगले आर्थिक वर्ष २०७५/७६ यता करिब ९० करोड रुपैयाँ घाटा ब्यहोरेको छ ।

सो सिमेन्ट उद्योगले विसं २०४३ मंसिर २६ गतेदेखि व्यावसायिकरूपमा सिमेन्ट उत्पादन गरी काठमाडौँलगायत विभिन्न सहरमा खपत गर्दै आएको थियो । अहिले सो उद्योगमा प्रशासन, प्राविधिक र मजदुर गरी एक सय ५० जनाले प्रत्यक्ष रोजगारीका अवसर प्राप्त गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.