सेयर निष्कासन गर्न लागेको अर्घाखाँची सिमेन्टको यस्तो छ वित्तीय अवस्था

  २०८१ वैशाख १९ गते १२:३८     विकासन्युज

काठमाडौं । आईपीओ निष्कासन तयारीमा रहेको अर्घाखाँची सिमेन्ट लिमिटेड (एसीएल) को ‘क्रेडिट रेटिङ’ घटेको छ । इक्रा नेपालले अर्घाखाँची सिमेन्टको दीर्घकालीन र अल्पकालीन दुवै कर्जाको सीमालाई तोकिएको रेटिङ घटाएको हाे ।

अर्घाखाँची सिमेन्टले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) पनि जारी गर्न लागेको छ । त्यसका लागि एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरू पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडि बढाइने पनि कम्पनीले बताएको छ ।

अर्घाखाँची सिमेन्टले आर्थिक वर्ष २०२३ मा बेहोरेको आम्दानी र नाफाको मार्जिन दबाबका कारण उसको दीर्घकालीन र अल्पाकालीन दुवै ऋण रेटिङ घटेको इक्राले जनाएको छ।

रेटिङ घटे पनि अर्घाखाँची सिमेन्टका प्रवर्द्धकहरू सिद्धार्थ ग्रुप, केडिया अर्गनाइजेसन र मुरारका ग्रुपजस्ता व्यावसायिक घराना तथा तिनका अनुभवी व्यक्तिहरूका कारण रेटिङ भने जारी रहेको इक्राको भनाइ छ ।

इक्राका अनुसार अर्घाखाँची सिमेन्टको आम्दानी आर्थिक वर्ष २०२२ मा १३ प्रतिशत र २०२३ मा २४ प्रतिशतले घटेको छ । अर्थतन्त्रमा आएको मन्दी र सञ्चालन नाफाको अन्तर ७ प्रतिशतले घटेका कारण आम्दानीमा गिरावट आएको हो । २०२१ मा नाफाको अन्तर २३ प्रतिशतले घटेको थियो । जसले गर्दा कम्पनीको कर्जा सेवा सूचक पनि खस्किएको छ ।

सन् १९९८ मा स्थापना भएको डाइनेस्टी इन्डस्ट्रिज नेपाल प्रालिको नाम परिवर्तन भई २०११ जुनमा अर्घाखाँची सिमेन्ट प्रालि भएको थियो । २०२१ जुलाईमा पब्लिक कम्पनी बनेपछि यसको नाम अर्घाखाँची सिमेन्ट लिमिटेड भएको हो ।

अर्घाखाँचीको वार्षिक जडित क्षमता १० लाख टन हो । सिमेन्ट कारखाना रुपन्देहीमा छ । यसले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

कम्पनीमा सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, मुरारका ग्रुपको ३० प्रतिशत, केडिया ग्रुपको १७.५ प्रतिशत र भारती कम्पनी उमा सिमेन्ट इन्टरनेसनलको १७.५ प्रतिशत लगानी छ ।

इक्राका अनुसार सन् २०२४ को आठ महिनामा अर्घाखाँची सिमेन्टले ३ अर्ब ३६ करोड ७० लाख सञ्चालन आम्दानी गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.