लाखौं लगानीको वडा कार्यालय भत्काएर आफ्नै घर नजिक सार्दै वडाध्यक्ष विष्ट

  २०८० माघ २१ गते १९:४६     विकासन्युज

काठमाडौं । बझाङको केदारस्यूँ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष शेर बहादुर विष्टले वडा कार्यालय सार्ने निर्णय गरेका छन् । हाल काँकरतोला (जुणेढुङ्गा)मा रहेको वडा नम्बर २ को कार्यालय सारेर विष्टले आफ्नै घर नजिक पर्ने सुङ्ग्रेखाली (कोटीगाउँ)मा सार्ने निर्णय गरेका हुन् ।

स्थानीयका अनुसार उनले हालको वडा कार्यालय आफ्नो घरभन्दा टाढा रहेको भन्दै एकलौटीरूपमा निर्णय गरेर कार्यालय सार्ने योजना बनाएका हुन् । हालको वडा भवन तीन वर्षअघि मात्रै निर्माण भएको हो । स्थानीय रमेश रावलले तीन वर्षअघि मात्रै ३५/४० लाख रुपैयाँको लगानीमा निर्माण भएको भवन अहिले एक्कासी भत्काउन खोज्दा स्थानीयले विरोध गरिरहेको बताए । उनका अनुसार अहिले स्थानीयहरू वडाअध्यक्ष विष्टविरुद्द नारावाजीमा पनि उत्रिएका छन् ।

वडाध्यक्ष विष्टले वडा सदस्यहरूसँग हाल रहेको कार्यालयमा खेल मैदान निर्माण गर्ने भनेर झुक्याएर माइन्युटमा हस्ताक्षर गर्न लगाएको एक सदस्यले बताए ।

‘हामीले यही भवन नजिक खेल मैदान निर्माण गर्ने भनेर माइन्युटमा हस्ताक्षर गरेका थियौं । तर, उहाँले कार्यालय नै अन्तै सारेर यहाँ खेल मैदान निर्माण गर्ने योजना बनाउनु भएको रहेछ, हामी पनि अहिले यसको विरोधमा छौं,’ ती सदस्यले नाम नराख्ने सर्तमा भने ।

अहिले स्थानीयले वडा कार्यालयमा ताला समेत लगाएका छन् । उनीहरूले वडाध्यक्ष यो निर्णयबाट पछि नहटे थप कदम चाल्ने पनि बताएका छन् ।

स्थानीय भानुभक्त रावलले आफूहरू वडा कार्यालय सार्ने निर्णयविरुद्द रहेको बताएका छन् । ‘अहिले सञ्चालन भइरहेको वडा भवन बनेको तीन वर्ष मात्रै भयो, अध्यक्षले वडा सदस्यहरूलाई नै झुटो निर्णयमा हस्ताक्षर गर्न लगाएर अहिलेको भन्दा तीन किलोमिटर पर सार्ने योजना बनाउनु भएको छ,’ उनले भने ।

वडाध्यक्ष विष्टले वडाभित्रको खानेपानी, बिजुली, सिचाइँ तथा अन्य भौतिक पूर्वाधार निर्माणमा जोड नदिएर आफ्नो गाउँ नजिक पर्ने ठाउँमा वडा भवन सार्नका लागि जोड गरिरहेको गुनासाे उनकाे छ ।

वडा अध्यक्ष विष्ट भने हालको वडा कार्यालयको भवन मापदण्ड विपरित रहेकोले सार्नु परेको धारणा राख्छन् । उनले आफ्नो घर नजिक सार्न लागेको विषय पनि अस्वीकार गरे । वडा कार्यालयका लागि चार रोपनी जग्गा आवश्यक भएको र अहिलेको ठाउँमा जग्गा अपुग भएपछि आफूले सार्न खोजेको उनको भनाइ छ ।

‘हामीले यसअघि जग्गा प्राप्तिको लागि पटक-पटक सूचना निकाल्यौं । तर, जग्गा उपलब्ध भएन, वडा भवन बनाउनको लागि ठूलो बजेट पर्याे भने भवन निर्माणमा बजेट अभाव हुन्छ, अहिलेको ठाउँमा थप जग्गा उपलब्ध नभएकै कारण सार्न लागेका हौं, यसलाई अन्यथा लिनु हुँदैन,’ उनले भने ।

उनका अनुसार हाल वडा कार्यालय भएको ठाउँमा पनि कुनै व्यक्तिले जग्गा दान दिन चाहेमा त्यहीँ बन्छ । तर, त्यसका लागि कोही तयार नभएको उनको भनाइ छ ।

तर, स्थानीयहरूले भने हाल कार्यालय भएकै ठाउँमा पनि थप जग्गा दान गर्न तयार भएको बताएका छन् । उनीहरूले संयुक्तरूपमा पत्र बुझाउँदै आफूहरू थप जग्गा दिन तयार भएको तर वडा कार्यालय नसार्न वडाध्यक्ष विष्टलाई आग्रह गरेका छन् ।

सो वडाका पूर्व अध्यक्ष चक्रबहादुर बिकले अहिलेको वडा कार्यालय रहेको ठाउँमा स्थानीयले जग्गा दिन तयार रहेकाे भएपनि बिष्टको एकलौटी निर्णयले सार्न खोजिएको धारणा राखे । भवन सार्नका लागि नयाँ जग्गा पनि खोजिसकेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.