पुनर्बीमा कम्पनीहरूले २० अर्ब पुँजी पुर्‍याउनु पर्ने, १५ दिनभित्र योजना पेस गर्न निर्देशन

  २०८० माघ १७ गते १२:४७     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएको छ । प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई हालको पुँजी वृद्धि गराएर २० अर्ब पुर्याउन निर्देशन दिएको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

उनका अनुसार एक वर्षभित्र २० अर्ब पुँजी पुर्याउन कम्पनीलाई निर्देशन दिएको हो । नेपाल पुनर्बीमा कम्पनी र हिमालयन पुनर्बीमा (रिइन्स्योरेन्स) कम्पनी सञ्चालनमा छन् । यी दुई कम्पनीले अबको एक वर्ष अर्थात २०८१ माघ १० गतेभित्र पुँजी बढाएर २० अर्ब पुर्याउनु पर्ने कार्यकारी निर्देशक पौडलले बताए ।

नेपाल पुनर्बीमा कम्पनीको हाल चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४४ हजार रुपैयाँ रहेको छ । प्राधिकरणको निर्देशनपछि यस कम्पनीले एक वर्षभित्र ५६ प्रतिशत अर्थात् ७ अर्ब १८ करोड ६४ लाख ५६ हजार रुपैयाँ थप गर्नु पर्नेछ ।

यस्तै, हिमालयन रिन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुगेको छ । प्राधिकरणको निर्देशनपछि अब यस कम्पनीले १ सय प्रतिशत अर्थात् १० अर्ब पुँजी थप गर्नु पर्ने देखिन्छ ।

बीमा कम्पनीहरूको जोखिम बहन क्षमता बढाउन पुनर्बीमा कम्पनीहरूको पुँजी वृद्धि गराउन निर्देशन दिएको पौडेलले बताए । पुनर्बीमा कम्पनीहरू बीमा कम्पनीको पनि बीमा गर्ने भएकाले पुँजी बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

‘निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब र जीवन बीमाको पुँजी ५ अर्ब पुगिसकेको छ, बीमा कम्पनी जोखिम बहन गर्ने संस्था हुन्, ती संस्थाको पनि जोखिम बहन गरिदिने संस्था पुनर्बीमा कम्पनी हुन्, त्यसैले त्यो जोखिम बहन क्षमता बढाउन पुनर्बीमा कम्पनीहरूको पुँजी वृद्धि गर्न भनेका हौं,’ उनले भने ।

साथै, पुनर्बीमा कम्पनीहरूले विदेशमा पनि व्यवसाय गर्नु पर्ने भएकाले पुँजी बढाउन आवश्यक रहेको उनको भनाइ छ । उनका अनुसार दुइटै पुनर्बीमा कम्पनीलाई पुँजी वृद्धिको योजना पेश गर्न १५ दिनको समय दिएको छ ।

‘नेपाल रिन्स्योरेन्सको १२/१४ अर्ब पुँजी छ, अर्काे वर्षको नाफा जोडिएपछि १५/१६ अर्ब पुग्छ, ४/५ अर्ब अपुग हुन्छ,’ उनले भने, ‘हिमालयन रिले आईपीओ जारी गरेर १० अर्ब पुर्याइसकेको छ, अब १० अर्ब पुर्याउनु पर्छ, अब त्यो रकम उनीहरू कसरी पुर्याउने भनेर योजना पेश गर्छन्, प्राधिकरणले अध्ययन गरेर अनुमति दिनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.