फुटपाथ व्यवसायीले सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने

  २०८० माघ १२ गते १४:४९     विकासन्युज

काठमाडौं । संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले माघ १६ र २८ गते वृहत सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने भएको छ ।

शुक्रबार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १५ गते महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएर १६ गते व्यापक जनप्रदर्शनसहित महानगरमा धर्ना दिने र बीचमा सबै फुटपाथ व्यवसायीहरुलाई एक ठाउँमा ल्याएर माघ २८ गते वृहत सडक आन्दोलन गर्ने कार्यक्रम तय गरिएको बताएको हो ।

नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले स्वरोजगार श्रमिकको अधिकार स्थापित गर्नको लागि माघ १७ गते जिल्ला प्रशासन कार्यलय,१८ गते गृह मन्त्रालय, १९ गते प्रधानमन्त्री कार्यालयमा र प्रमुख दलका पार्टी कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताए ।

एक हप्ता सबै स्वरोजगार श्रमिकहरुलाई एक ठाउँमा ल्याएर माघ २८ गते थाल चम्चा सहित ठूलो जनसहभागितामा सडक आन्दोलन तथा महानगर घेराउ गर्ने कार्यक्रम तय भएको बताए । उनले काठमाडौं महानगरपालिकाले फुटपाथ र साना व्यवसायीहरुको माग अहिलेसम्म सम्बोधन नगरेको कारण आन्दोलन गर्न बाध्य भएको बताए ।

उनले महानगरले फुटपाथ व्यापारीहरुको जफथ गरेको सामान फिर्ता गर्न माग गरे । उनले निम्न वर्गका व्यवसायीहरुको सामान कब्जा गरी लिलाम गर्ने कार्य महानगरले तत्काल रोक्नुपर्ने बताए । उनले स्वरोजगार श्रमिकको लागि वैकल्पिक कार्यस्थलको सुनिश्चित गरी महानगरभित्रका सबै वडामा सस्तो बजार व्यवस्था गर्न माग गरे ।

उनले वैकल्पिक व्यवस्था नगरेसम्म महानगरपालिकाले अहिले फुटपाथ व्यवसायीहरुले व्यवसाय गरिरहेको स्थानमा उचित समय निर्धारण गरी व्यवसाय सुचारु गर्न दिन माग गरे । उनले महानगरपालिकाले स्वरोजगार व्यवसायीहरुलाई पञ्जिकरण गर्न सम्झौता भएपनि कार्यान्वयन गर्ने भन्दा बढी व्यवसायीहरुलाई धरपकट गर्ने काम भएको बताए ।

फुटपाथ व्यापारीको उचित व्यवस्थापनको लागि मेयर तथा उपमेयरको संयोजकत्वमा संघर्ष समितिका प्रतिनिधिसहित उच्चस्तरीय व्यवस्थापन कार्यदल बनाउनुपर्ने उनको माग छ । महानगरले फुटपाथ र साना व्यवसायीलाई निर्मम ढंगले लखेट्ने धरपकट गर्ने काम तत्काल रोक्नुपर्ने नेपाल स्वरोजगार व्यापार श्रमिक संघकी अध्यक्ष माया गुरुङले बताए ।

उनले ७ बजेपछि सडक पेटीमा व्यापार गर्ने महिलाहरुलाई महानगर प्रहरीले अमानवीय व्यवहार गरी सामान लुट्ने गरेको बताए । फुटपाथमा बेलुका दुई घण्टा व्यापार गरेर बिहान बेलुकाको दुई छाक टार्ने निम्न वर्गका व्यापारीहरुलाई महानगरले अमानवीय व्यवहार गर्ने गरेको बताए ।

उनले फुटपाथ व्यवसायीहरुको समस्या समाधानको लागि भएका महानगरले गरेको ४ बुँदे सम्झौता कार्यान्वयनमा नगरेको आरोप लगाए । उनले महानगरपालिकाले कार्यदलमा फुटपाथ व्यवसायीलाई भुलाएर सडकमा व्यापारीहरुलाई धरपकट गर्ने काम गरेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.