सवारीसाधनमा यूरो ६ : ‘आयातको प्रक्रियामा रहेका गाडीलाई सरकारले समय दिनुपर्छ’

  २०८० माघ ११ गते १७:४१     विकासन्युज

काठमाडौं । सवारी प्रदूषणको नयाँ मापदण्ड बिएस/यूरो ६ कार्यान्वयनका लागि सरकारले व्यवसायीलाई निश्चित समय दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बिहीबार अटो पत्रकार संघ (जाम)ले आयोजना गरेको एक कार्यक्रमा विज्ञ तथा व्यवसायीहरूले यूरो ६को कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा वातावरण विज्ञ भूषण तुलाधरले ३० प्रतिशत प्रदूषण सवारीसधानबाटै हुने भएकाले नेपाल जतिसक्दो छिटो यूरो ६मा जानुपर्ने बताए । ‘नेपालमा अहिले आउने नयाँ प्यासेन्जर गाडीहरू यूरो सिक्समै आधारीत छन्, तर समस्या भने पुराना सवारीको व्यवस्थापन अहिलेको आवश्यकता हो, ‘तुलाधरले भने, ‘विश्वमा यूरो सिक्स विश्वमा २०१४ देखि नै सुरु भएको हो, यूरो थ्रि लागू गरेको १२ वर्ष भइसकेको हुनाले तत्काल नेपालमा यूरो सिक्समा जानु आवश्यक छ ।’

उनले डिजेल गाडीलाई प्राथामिकतामा बिएस सिक्समा जान जरुरी रहेको बताउँदै यूरो सिक्स नीतिमा सरकारले स्पष्ट नीति ल्याउनुपर्ने बताए ।
नाडा अटोमोबाइल एसोसियसन नेपाल (नाडा)का करण चौधरीले आईसीई गाडी छोडेर पछिल्लो समय विद्युतीय गाडी किन्नुपर्छ भन्ने भास्य बनाइएको बताएका छन् । उनका अनुसार आईसिई इन्जिन भएका गाडी नबिकेर यो अवस्था आएको हो ।

‘हामीले एउटा प्लानिङमा काम गरिरहेका हुन्छौं, सरकारले यूरो सिक्स लागू गर्ने निर्णय गरेको छ, तर सरकारले व्यवसायीलाई पनि समय दिनुपर्छ, सरकारले पाँच वर्षको योजना निकालेर नीति बनाओस् त्यसमा व्यवसायीले साथ दिन्छन्,’ उनले भने । देशमा गाडी मेकानिक्स र इन्जिनियर पलाएन भइरहेको उनको भनाइ छ ।

अटोमेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर न्यौपानेले अटोमेकानिक्सहरु राज्यको प्राथामिकतामा नपरेको बताए । ‘अर्बाैंकाे लगानी सवारीसाधन व्यवसायमा छ तर, नयाँ सवारी प्रदूषण मापदण्डका लागि केहि वर्ष समय दिनुपर्छ,’ उनले भने ।

यस्तै, वन तथा वातावरण मन्त्रालयका सिडि शिवराज शर्माले नाडा लगाएत सवारी बिक्रेता कम्पनीलाई यूरो सिक्सको विषयमा एलसी खुलिसकेको र आयातका लागि प्रक्रिया अगाडि बढीसकेका गाडीहरुको लागि केहि समय दिने मन्त्रालयको तयारी रहेको बताए । उनका अनुसार मन्त्रालय दुई वर्ष अघि नै यूरो सिक्समा जाने विषयमा तयार थियो । तर, सरकारलाई बुझाउन समय लागेको उनको भनाइ छ ।

‘अटोमेकानिक्सलाई तालिम दिनुपर्छ र यूरो सिक्स परीक्षण गर्ने उपकरणलाई भन्सार छुट दिनुपर्ने विषयमा पनि छलफल भएको छ र यो विषयमा अर्थमन्त्री पनि सकारात्मक भएको हामीले पाएका छौं,’ उनले भने ।

यसै गरी वातावरण विभागका दिपक ज्ञवाली यूरो सिक्सलाई लागू गराउन व्यवस्थापकीय भूमिकामा सबै व्यवसायी, सरकारले याेजना तय गरेर अगाडि बढ्नुपर्ने बताए । ‘पछिल्लो केहि समयदेखि ट्राफिक प्रहरी, वातावरण विभाग र यातायात विभागको सहकार्यमा प्रदूषण मापदण्ड चेकजाँच भइरहेको छ, ‘उनले भने, ‘सवारी मेकानिक्स व्यावसायीहरुसँग पनि सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यक्ता छ’ ।

अहिले चलिरहेको पुराना गाडीहरुलाई पनि फेजआउट गर्न पनि एउटा याेजना बनाएर जानुपर्ने उनको भनाइ छ । यसैगरी सवारी प्रदूषण जाँच केन्द्र टेकुका कार्यालय प्रमुख मणिराम भुसालले यूरो २को टुल अनुसार नै सवारी प्रदूषण चेकजाँच भइरहेको बताए । ‘अहिले मालवाहक, सरकारी निकाय र संस्थानका गाडीहररू सवारी प्रदूषणमा फेल हुने गरेको देखिन्छ, ‘उनले भने, ‘डिजेलबाट चल्ने गाडीहरुले नै प्रदूषण धेरै गर्ने गरेको पाइएको छ’ ।

२० बर्षे पुराना गाडी प्रतिस्थापन गर्ने विषयमा पनि सरकारले नीति पुनरावलोकन गर्नुपर्ने देखिएको उनले बताए । ‘पुराना गाडीहरूको विषयमा एक समिति बनाएरै जानुपर्ने अवस्था देखिएको छ, ‘उनले भने, ‘सवारी प्रदूषण चेकजाँचलाई प्रभावकारी रुपमा अघि बढाउन सरकारले पनि सहयोग गर्नुपर्छ’ ।

अटो पत्रकार संघका अध्यक्ष सागर गजुरेलले २० वर्ष पुराना सार्वजनिक सवारीलाई हटाउने नीति कार्यान्वयन हुनुपर्ने बताएका छन् । उनले भने ‘नेपालमा भएको प्रदूषणलाई हटाउन युरो सिक्स लागू गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.