…त्यसपछि बने गोल्ड मेडल पाएकै विषयको विभागीय प्रमुख

  २०८० पुष २ गते १३:५४     इन्द्रसरा खड्का

काठमाडौं । जब कक्षा ५ मा उनी जिल्ला टपर भए, १०५ रुपैयाँ पुरस्कार पाए । यो पुरस्कारले उनको जीवनमा ठूलो प्रभाव पार्यो । त्यसपछि उनले अझ बुझेर पढ्न थाले । उनी जहिले कक्षामा प्रथम हुन्थे । उनको प्रथम हुने क्रम कहिल्यै रोकिएन । पाँच कक्षामा जिल्ला टप गरेका उनी वि.सं. २०६८ सालमा स्नातकोत्तर तहमा द्वन्द्व, शान्ति र विकास विषयमा पनि टप गरे । र, भए त्रिभुवन विश्व विद्यालयका गोल्ड मेडलिस्ट । अहिले उनी त्रिभुवन विश्व विद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागको प्रमुखकारूपमा काम गरिरहेका छन् ।

उनी अर्थात् पीताम्बर भण्डारी । उनको घर तनहुँ हो । उनले कक्षा ५ सम्म गाउँकै विद्यालयमा पढे । ४ कक्षा पढ्दा एबीसीडी लेख्न सुरु गरे । सरकारी विद्यालयमा त उनलाई गाह्रो परेन । जब उनी सदरमुकाम बसेर निजी विद्यालयमा पढ्न थाले त्यसपछि उनलाई समस्या भयो । पहिलो दिन विद्यालय जाँदा उनलाई साथीहरुले अंग्रेजीमा सोधे, उनलाई बुझ्नै गाह्रो हुन्थ्यो । ती दिनहरू स्मरण गर्दै पीताम्बरले भने, ‘एबीसीडी लेख्न नजान्ने मान्छे कहाँ बोल्न सक्थें, साथीहरूले जेभन्दा पनि म टाउकोमात्र हल्लाएर जवाफ दिन्थें ।’

पीताम्बरले ५ कक्षादेखि १० कक्षासम्म दमौलीमा रहेको कन्काइ आवासीय माविमा पढे । सोही स्कुलबाट उनले एसएलसी (हालको एसईई) दिए । एसएलसीमा सर्वोत्कृष्ट अंक ल्याए । एसएलसी पास गरिसकेपछि पीताम्बरको यात्रा काठमाडौंतर्फ लाग्यो ।

काठमाडौं आएर नेपाल साइन्स क्याम्पसमा विज्ञान पढ्न सुरु गरे । त्यसपछि उनले त्रिचन्द्र कलेजबाट बीएस्सी सके । आइएस्सी साइन्स क्याम्पस, बीएस्सी त्रिचन्द्र कलेजबाट गरेका उनले त्रिभुवन विश्व विद्यालयबाट द्वन्द्व, शान्ति र विकास विषय लिएर पढे । अन्ततः उनी २०६८ सालमा द्वन्द्व, शान्ति र विकास विषयबाट गोल्ड मेडल हात पार्न सफल भए ।

डाक्टर बन्न दबाब

पीताम्बरका तीन जना दाजुभाइ र एक दिदी छन् । उनीहरू सबै पढेलेखेका छन् । उनका बुबालाई छोराछोरी पढाउनुपर्छ भन्ने ज्ञान थियो । बुबा आफैं पनि भारतको बनारसमा पढेर गाउँमै शिक्षण पेशामा आवद्ध थिए ।

‘बुबा जहिले बिहानै उठ्नुहुन्थ्यो, मैले बुबालाई देखेर नै पढ्नुपर्छ भन्ने लागेको हो, बुबाले पनि हामीलाई पढ्नुपर्छ भन्नुहुन्थ्यो, त्यही भएर पनि हुनुपर्छ हामी सबै भाइबहिनी पढाइमा ध्यान दिन्थ्यौं,’ पीताम्बरले पढाइको पारिवारिक माहोल सुनाउँदै भने ।

पीताम्बरले आइएस्सी सकेपछि एमबीबीएस पढ्नुपर्छ भन्ने दबाब घरबाट थियो । उनले थपे, ‘दाइ र बुबालाई म डाक्टर भएको हेर्न मन थियो । तर, मलाई फिटिक्कै थिएन, म स्कुल पढ्दै सामाजिक विषयतिर ढल्किसकेको थिएँ ।’

डाक्टर बन्नुपर्ने दबाबपछि मन नलगाइ भएपनि एक/दुई ठाउँ परीक्षा दिए । तर, उनको नाम निस्केन । उनले भने, ‘नोट नबनाउने, घोकेर नपढ्ने बानीले यहाँ आएर असर गर्यो, परिवारको इच्छा डाक्टर, मेरो इच्छा समाजशास्त्रतिर, तालमेल मिलेन ।’

उनलाई आलेख लेख्न मन पर्थ्याे । कक्षा १० मा पढ्दै गर्दा जिल्लामा रहेका पत्रिकामा राजनीतिक स्तम्भमा विचार लेख्थे । रेडियो सुन्ने र पत्रिका पढ्ने बानी उनको धेरै थियो । त्यो बेला निस्कने मुना पत्रिका नछुटाएर पढ्थे । ‘पाठ्यपुस्तक भन्दा बढी रेडियो सुन्ने पत्रपत्रिका हेर्ने बानी थियो, बीबीसी नसुनेर राती कहिल्यै सुत्दिन थिएँ,’ उनले आफ्नो अनुभव सुनाउँदै भने ।

विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा आवद्ध भएर भाग लिँदा पनि पढाइलाई नै सहयोग पुग्थ्यो । ‘अहिले विद्यालय, विश्व विद्यालयमा यस्तो पाइँदैन, औपचारिक शिक्षामा मात्र पढाइ सीमित भएको पाइन्छ, धेरै भए मनोरञ्जनात्मक दृष्टिमा होमिने या त जीविकोपार्जनका लागि कमाइमा ध्यान दिनुपर्ने यस्तो हुँदापनि सीपमूलक शिक्षा भएन,’ उनले भने ।

समाजसँग नजिक हुने विषयवस्तुमा आवद्धता बढाउन थालेपछि उनलाई दुईवटा खुट्टामा उभिएर जानु राम्रो लागेन । त्यहीबेला उनले त्रिभुवन विश्व विद्यालयमा पहिलो पटक द्धन्द्ध, विकास र शान्ति विभागको भर्ना खुलेको सूचना देखे । त्यसपछि उनले इन्ट्रान्समा नाम निकालेर त्यही भर्ना भए । पहिलो ब्याजमा उनी सर्वोत्कृष्ट भएर गोल्ड मेडलिस्ट भए ।

गोल्ड मेडलिस्ट बनेपछि…

कुनै पनि पुरस्कारले छुट्टै हौसला दिन्छ । ५ कक्षामा पाएको १५० रुपैयाँको खुसी एक थियो भने, २०६८ सालमा पाएको यो पदकको खुसी अर्कै थियो । उनलाई त्यसपछि अन्त काम खोज्न जान परेन । उनले जुन विषयबाट पदक पाए, पछि त्यही विषय अन्तर्गतको विभागकै प्रमुखका रुपमा काम गर्न सुरु गरे । गोल्ड मेडलिस्ट भइसकेपछि के हुँदो रहेछ ? भन्ने विकासन्युजको जिज्ञासामा उनले भने, ‘यसले विगतको संघर्षलाई न्याय गरेको जस्तो देखिन्छ, अर्को साथीभाई, समाज, इष्टमित्रले गर्ने व्यवहार, सम्मान त एक प्रकारको हुन्छ नै, त्योभन्दा सामाजिक चाप पनि उत्तिकै हुँदो रहेछ ।’

यो पदक पाएकाहरूलाई कुनै ठाउँमा आवेदन खुलेको छ भने अरुलाई भन्दा गोल्ड मेडलिस्टहरुलाई प्राथमिकता हुन्छ । तर, यसलाई कुनै कानुनीरुपमा अंकभार गरेको छैन । कतिपय अवस्थामा पदक प्राप्त गरेरमात्र केही हुँदैन ।

‘निरन्तर त्यो विषयसँग साक्षात्कार गरिएन भने आफैंलाई हिनता बोध पनि गराउँछ, त्यो अनुसारको आफ्नो प्रस्तुति हुनुपर्छ,’ उनले भने ।

पढ्ने कसरी ?

तपाईं कसरी अध्ययन गर्नुहुन्छ ? घोकेर वा बुझेर ? कतिलाई घोकेरै कण्ठ हुन्छ, बुझ्न सजिलो हुन्छ भने कतिपयलाई बुझेर पढ्ने बानी हुन्छ । जे होस् मान्छेले अध्ययन गर्ने आफ्नै तरिका हुन्छ । स्कुलदेखि स्नातकोत्तरसम्म टप भएका पीताम्बरको दिमाग तीक्ष्ण थियो । शिक्षकले पढाएको कुरा उनले पछि दोहोर्याएर पढ्न पर्दैन थियो । त्यसैले होला उनी आफुले पढ्दा कहिल्यैपनि नोट बुक बनाएर अध्ययन गरेनन् ।

‘साथीहरू स्कुलमा पढेको कुरा घरमा आएर नोटमा सार्थे, धर्सा तानेर चिटिक्क मिलाउँथे । तर, मैले त्यस्तो कहिल्यै गरिनँ, यो मेरो कमजोरी भन्ने कि के भन्ने,’ उनी मुस्कुराउँदै भन्छन् ।’

उनको पढ्ने बानी थिएन । जति हुन्छ दिमागले क्याच गर्थ्यो । पढ्दा एक अनुच्छेदले के भन्थ्यो त्यसको आशय बुझ्थे उनी । उनी भन्छन्, ‘यसको मतलब मैले नपढेरै टप भइन्छ भनेको होइन, पढ्ने तर बुझेर पढ्ने ।’

विद्यार्थीलाई पढ्दा लगाव र मिहिनेत चाहिने उनी सुनाउँछन् । उनका अनुसार पढाइमा धेरै समय एउटै विषयमा बिताउनु भन्दा पनि धेरै विषयवस्तुहरूलाई समायोजन गर्ने कला हुनुपर्छ ।

‘म धेरै साथीहरुलाई एउटै विषयमा घण्टौं घोकिरहेको देख्छु, त्यो नगरौं, हरेक एक घण्टा पढिसकेपछि ५/१० मिनेट त्यसको आफैंले समीक्षा गर्नुपर्छ, घोकेर भन्दा सम्झेर बुझेर पढेको कुरा दिमागमा बस्छ ।’

उनी बिहानको समय बढी पढ्थे । उनलाई एकै ठाउँमा बसेरभन्दा घुम्दै पढ्न मन पर्छ । ‘मैले पढ्दा वाक्यहरु याद गर्न तिर कहिल्यै लागिनँ, एउटा हरफमा दुई तीनवटा शब्द हुन्थे त्यसलाई बढी ध्यान दिन्थें,’ उनी भन्छन्, ‘एउटा शब्द पढिसकेपछि त्यो शब्दसँग जोडिने अरु कुन-कुन शब्दावली हुन्छन्, त्यस्तो शब्दहरू बुन्ने कुरा महत्वपूर्ण हुन्छ ।’

पढाइमा संरचनाले पनि फरक पार्ने उनी बताउँछन् । ‘हाम्रो परीक्षा प्रणाली र पढाउने शैली पनि बदल्नुपर्छ, किताब र नोटमा जुन कुरा छ त्यही मात्रै पढाउने अभ्यास छ,’ उनी भन्छन्, ‘त्यसले कोर्सका लागि त राम्रो गर्ला तर विद्यार्थीको ज्ञानको दायरा बढाउन मद्दत गर्दैन ।’

विदेश जान मन लागेन

अहिले नेपालमै बसेर पढ्ने भन्दा विदेश जानेको संख्या बढिरहेको छ । विश्वविद्यालयहरूबाट गोल्ड मेडलिस्ट भएकाहरू पनि स्वदेशमा काम पाइएन भनेर विदेश गइरहेका छन् ।

तपाईंलाई विदेश जान मन लागेन भन्ने जिज्ञासामा उनले भने, ‘मैले आइएस्सी पढ्दापढ्दै विश्वविद्यालयका इमेल खोज्ने काम गरेँ, जब म लेख्न थाले त्यसपछि मलाई दुई किसिमले अप्ठ्यारो भयो, एउटा म लेख्न थालिसकेको थिएँ, अर्को अब विदेश जाँदा ढिलो हुन्छ भन्ने भयो ।’

पीताम्बर स्नातकोत्तर पढ्दै गर्दा देशको अवस्था र उनले लिएर पढ्ने गरेको विषय मिल्दोजुल्दो थियो । देशमा सशस्त्र युद्ध चलिरहेको थियो । ‘मलाई स्वदेश बस्न धेरै कुराले साथ दियो, पढ्ने विषय, देशको परिस्थिति र समय, त्यसैले पनि म विदेश गइनँ,’ उनले भने ।

अर्को उनको संगत पनि विदेश गएर फर्केका र नेपालमै केही गर्नुपर्छ भन्नेहरूसँग भयो । त्यसैले पनि आफू विदेश नगएको अनुभव सुनाए । त्रिचन्द्र कलेजबाट बीएस्सी वातावरण विज्ञानमा उत्तीर्ण गरेका उनको मुख्य विषय तथ्यांकशास्त्र र वातावरण विज्ञान थियो । धेरै साथीहरूले भौतिकशास्त्र पढिसकेपछि अमेरिका जान सहज हुन्छ भन्थे । भौतिकशास्त्र पढेका उनका धेरै साथी अहिले पनि अमेरिकामै छन् ।

‘आफ्नै देशमा बसेर काम गर्न पाउँदा सन्तुष्ट छु । तर, अहिले हाम्रो देशको शैक्षिक अवस्था देख्दा मन दुख्छ,’ निराश हुँदै उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.