शिक्षाको नाममा बाहिरिने रकममा दोब्बरले वृद्धि

  २०८० कार्तिक २४ गते १५:३८     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा शिक्षाको नाममा विदेशीने रकमको मात्रामा दोब्बरले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा शिक्षाको नाममा विदेशीने रकम ३२ अर्ब ९२ करोड पुगेको हो ।

प्रतिवेदनअनुसार अघिल्लो वर्षमा सोही अवधिमा शिक्षाको नाममा १७ अर्ब ८९ करोड रुपैयाँ मात्रै बाहिरिएको थियो । चालु आर्थिक वर्षको तीन महिनामा शिक्षा, भ्रमण लगायतका क्षेत्रमा खर्च बढ्न पुगेको छ । प्रतिवेदनअनुसार समीक्षा अवधिमा खुद सेवा आय २९ अर्ब ५६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब ७४ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५१.३ प्रतिशतले वृद्धि भई १७ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ अर्ब २४ करोड रहेको थियो ।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ७६.१ प्रतिशतले वृद्धि भई रु.५१ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २९ अर्ब ४१ करोड रहेकोमा शिक्षातर्फको व्यय १७ अर्ब ८९ करोड रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.