इन्टरनेट कम्पनीहरूको लुट धन्दा अन्त्य गर्न १५० रूपैयाँमै सेवा दिन लागेका छौं : विनोद अग्रहरी

  २०८० कार्तिक २१ गते १०:५०     विकासन्युज

काठमाडौं । सुपर भिजन नेटवर्कले नेपालगञ्जमा मासिक १५० रुपैयाँमा ५० एमबीपीएसको इन्टरनेट उपलब्ध गराउन सुरु गरेको छ । इन्टरनेट परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि कम्पनीले अहिले व्यावसायिक रूपमा इन्टरनेट सेवा विस्तार गर्ने तयारी गरिरहेको छ । न्यून मूल्यमा नै ‘टप स्पिड’ चल्ने इन्टरनेट सेवा ग्राहलाई उपलब्ध गराउँदा बजारमा यसको चर्चा बढेको छ । इन्टरनेटको गुणस्तर अरू कम्पनीको भन्दा कम नभएको दाबी गर्दै आएका सुपर भिजन नेटवर्कका सञ्चालक विनोद अग्रहरी न्यूतम मूल्यमा अधिकतम ग्राहकलाई सेवा दिने उद्देश्यसहित यो इन्टरनेट ल्याएको बताउँछन् । उनै सञ्चालक अग्रहरीसँग यो इन्टरनेट सेवाको विकास, इन्टरनेट विस्तारको योजना, कम मूल्यमा इन्टरनेट दिनुको उद्देश्यलगायत विषयमा विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् ।

नेपालमा समयक्रमसँगै इन्टरनेट विस्तार गर्ने कम्पनीहरूको संख्या बढ्दो छ, तपाईंहरूले पनि बजारमा आधुनिक प्रविधिको इन्टरनेट ल्याउनुभएको छ, सस्तो मूल्यमै ग्राहकलाई इन्टरनेट दिने योजना कसरी बन्यो ?

मेरो पहिला केवल टिभी नेटवर्क थियो । जुन मैले ३० करोड रुपैयाँ लगानी गरेर सञ्चालनमा ल्याएको थिएँ । केवल टिभीलाई इन्टरनेट कम्पनीले निःशुल्क गरिदिँदा मेरो व्यवसाय धराशायी भयो । नेपालगञ्जबाटै उक्त सेवा सुरु गरेको थिएँ । त्यो व्यवसाय धराशायी भएपछि इन्टरनेटमा हात हालेको हुँ । मान्छेले मासिक इन्टरनेट ८/९ सय रुपैयाँ तिरेर चलाइरहेका छन् । घर बाहिर निस्किँदा डाटा खोलेर चलाउनुपर्ने अवस्था छ । सोही कुरालाई मध्यनजर गर्दै जुन प्रविधि एकपटक पेमेन्ट गर्दा यी सबै समस्याको हल होस् भनेर यसको आविष्कार गरिएको हो ।

इन्टरनेटको अनुसन्धान गर्न मलाई करिब साढे दुई वर्ष लाग्यो । किनभने इन्टरनेटमा धेरै कमी–कमजोरी थियो । अहिले यी विषयमा सुधार भइसकेको छ । मैले यो सेवा करिब ८ करोड रुपैयाँ लगानी गरेर सञ्चालनमा ल्याएको हुँ । अनुसन्धानमा करिब साढे दुई करोड रुपैयाँ खर्च भयो ।

नेपालगञ्ज अहिले यसका प्रयोगकर्ता कति छन् ?

हामीले अहिले नेपालगञ्जमा ८ हजार जनालाई यो इन्टरनेट चलाउन दिएका छौं । उहाँहरूले निःशुल्क चलाइराख्नु भएको छ । इन्टरनेट परीक्षणका लागि उहाँहरूलाई निःशुल्क चलाउन दिएका हौं । उहाँहरूले करिब ८ महिनादेखि निःशुल्क इन्टरनेट चलाइराख्नु भएको छ । इन्टरनेटको गुणस्तर बढाउन सकियोस् र आएका समस्या समाधान गर्न सकियोस भनेर सेवा निःशुल्क गरिएको हो । देखिएका समस्या सबै समाधान गरी यूजरले पनि राम्रो छ भनिसकेपछि पश्चात् यसलाई लन्च गरेका छौं ।

यसलाई नेस वाइफाई नेटवर्क भनिन्छ । जुन नेपालमा पहिलोपटक आएको प्रविधि हो । यो हामी आफैंले विकास गरेको प्रविधि हो । तपाईंले डेढ सय रुपैयाँ शुल्क तिर्नुभयो भने पसलदेखि घरसम्म काम गर्छ । साथै, बसपार्क रेष्टुरेन्ट आदि सबै ठाउँमा मज्जाले चल्छ । यो फाइबर र वायरलेस दुवैबाट चलाउन सकिन्छ ।

तपाईंहरू व्यावसायिकरूपमा कहिलेदेखि अगाडि बढ्नुहुन्छ ?

यसको परीक्षण सफल भइसकेको छ । कुनै समस्या छैन । हामीले मंसिर १ गतेदेखि युजरबाट पैसा उठाउने तयारी गरेका छौं ।

तपाईंहरूको यो सेवा कहाँ–कहाँ उपलब्ध छ ? उपत्यका अथवा सहरी क्षेत्रमा पनि यो इन्टरनेट भित्र्याउने लक्ष्य राख्नुभएको छ ?

यो सेवा अहिले नेपालगञ्जमा मात्र उपलब्ध छ । यदी कसैले अन्य ठाउँमा यो सेवा विस्तार गर्न खोज्यो भने प्राविधिक सहयोग निःशुल्क दिन्छौं । ताकी अर्को ठाउँको मान्छेले पनि यो इन्टरनेट सेवा सस्तोमा पाओस् । कसैले कुनै ठाउँमा खोल्न चाहनुभयो भने सम्पर्क गर्न सक्नुहुन्छ । इन्टरनेटमा अर्बाैं खर्बौं रुपैयाँ लुट भइरहेको छ । यो इन्टरनेट विस्तारसँगै इन्टरनेटका प्रयोगकर्ताले पनि यसको महगो शुल्क तिर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास हामीले लिएका छौं ।

यसको प्रयोग कसरी गर्ने, यो नेट जडान गर्दा तार वा राउटरको पैसा पनि तिर्नुपर्छ ?

यसलाई आफ्नो व्यक्तिगत फोनमा कनेक्ट गरेर पनि चलाउन सकिन्छ । हामीले जसरी सीममा रिचार्ज गर्छौं त्यसरी नै गर्नु पर्ने हुन्छ । मोबाइलबाट अन्य फोन तथा डिभाइसमा कनेक्ट गरेर पनि चलाउन सकिन्छ । घरमा चलाउने हो भने राउटर जोडेर चलाउनुपर्ने हुन्छ । राउटर र तार चाहिँ आफैंले तिर्नु पर्ने हुन सक्छ । वायरलेसमा पैसा पर्दैन । यदि फाइबारबाट लग्नु पर्यो भने सुविधा अनुसार राउटरको शुल्क तिर्नु पर्ने हुन्छ । आवश्यकताका आधारमा एमबीपीएस बढाउन सकिन्छ ।

१५० रुपैयाँमै इन्टरनेट उपलब्ध गराउँदा तपाईंहरूलाई कति फाइदा हुन्छ ?

यो इन्टरनेट ६/७ वर्ष चल्छ । त्यसपछि नयाँ प्रविधि आउन सक्छ । त्यो अवधिभित्र नै लगानी र नाफा उठाइसक्नुपर्ने हुन्छ । हामीले एक वर्षमा ८० हजारभन्दा बढी प्रयाेगकर्ताले यो नेट चलाउने अपेक्षा राखेका छौं । ८० हजार प्रयाेगकर्ता भएपछि डेढ सयले मासिक रकम भुक्तानी गरे भने करिब १ करोड २० लाख रुपैयाँ रकम संकलन हुन्छ । हाम्रो प्रशासनिक खर्च अथवा अन्य खर्च ४० लाख रुपैयाँसम्म भयो भने ६०/७० लाख रुपैयाँ बचत हुन्छ । सोही अनुपातमा हाम्रो लगानी एक वर्षभित्र उठ्ने लक्ष्य राखेका छौं । अर्को विषय केवल टिभी तारबाट पनि यो नेट चलाउन सकिन्छ । इन्टरनेटले गर्दा त्यो फाइबरको सदुपयोग भयो । अहिले हामीसँग करिब ४० जना कर्मचारी छन् ।

यो इन्टरनेटलाई देशव्यापी बनाउने योजना पनि छ ?

इन्टरनेटमा धेरै लुट भइरहेको छ । यसबाट उपभोक्ता ठगिएका छन् । इन्टरनेटमा भएको लुटतन्त्र हटाउन सस्तो इन्टरनेट उपलब्ध गराउने हाम्रो योजना छ । यसलाई क्रमिकरूपमा विस्तार गर्न सकिन्छ । एउटै सहरभित्र फरक–फरक ठाउँमा घर र व्यवसाय भएकाहरूले १५० रुपैयाँ शुल्क तिरेर दुई ठाउँमा नै चलाउन सक्ने छन् । १५० रुपैयाँमा ५० एमबीपीएस इन्टरनेट दिँदा पनि आफूलाई फाइदा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.