६३ वर्षदेखि भेडा पाल्दै आएका किसान भन्छन् : कृषि अनुदान भन्ने थाहा छैन

  २०८० कार्तिक १६ गते १३:१५     विकासन्युज

बागलुङ । शिरमा हरियो गलबन्दी । शरीरमा मैलिएका कपडा । बुढ्यौली उमेर । चाउरिएको अनुहार । ढल्दै गरेको उमेर । तर पनि काम गर्ने जोस जाँगर भने कत्ति घटेको देखिन्न । हिजोआज पहेँलो त्रिपालले छाएको गोठ छेउमै भटिन्छन्, रनबहादुर सिर्पाली ।

बागलुङको सबैभन्दा दुर्गम गाउँ तमानखोला गाउँपालिका ५ का सिर्पालीले व्यावसायिक रुपमा भेडापालन गर्न थालेको ६३ वर्ष भयो । ९ वर्षकै उमेरदेखि गोठालो गर्न थालेका उनी अहिले ७२ वर्षका भए ।

एउटै पेसामा यति लामो समयसम्म निरन्तरता दिइ राख्ने यासदै होलान् । सरकारी कर्मचारी भए पनि २० वर्षमात्रै जागिरमा रहन्छन् । तर, सिर्पाली दशकौँसम्म एउटै पेसामा अनवरत लागिरहेका छन् । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म भेडाबाख्राको स्याहारमै व्यस्त हुन्छन् ।

विकट गाउँमा जन्म हुँदा सानैबाट गोठालो लाग्नुपरेको गुनासो उनले गरे । बाल्यकालमा अहिलेको जस्तो पढ्ने-लेख्ने चलन नभएको हुँदा पढ्न नपाएको उनले बताए । अहिले पनि तमानखोला दुर्गम नै मानिन्छ । पहाडैपहाडले घेरिएको तमानखोलाका अधिकांश नागरिक रनबहादुर जस्तै पशुपालनमा लागेका छन् । अग्ला भीरपाखा र पशुपालनका लागि राम्रो वातावरण रहेको हुँदा पशु पाल्न सहज हुने उनीहरु बताउँछन् ।

अझै १० वर्ष एक डेढ सय भेडा पाल्न सक्ने उनले बताए । गाउँमा पाका पूर्खादेखि खेतीपाती गर्ने र पशुपालन गर्दै आएको हुँदा आफूले पनि सानैदेखि यही पेसा अंगालेको उनको भनाइ छ । नयाँ पुस्ताले भने भेडापालनमा चसो नदिएको उनको अनुभव छ ।

चार वर्ष अगाडिसम्म बुकीमा हजारौँ भेडा र सयौँ गोठाला भेटिने गरेकामा अहिले त्यो संख्या निकै न्यून भएको सिर्पालीले बताए । समय परिवर्तनसँगै गाउँघरमा पेसा पनि फेरिँदै गएको हुँदा व्यापार व्यवसाय गर्ने बढ्न थालेको उनको भनाइ छ ।

‘सहर बजारमा सुविधा धेरै हुन्छ, हाम्रा गाउँठाउँमा बल्ल अलिअलि विकास हुन थालेको छ, पहिले मोटर गाडी देख्न सहर जानुपर्‍यो, अहिले गाउँमै गाडी गुड्छन्, भेडाबाख्राले पनि अहिले त गाडी देख्न पाए, हाम्रो जमानामा साह्रै दुःख थियो, नुन, चामल बटौली (बुटवल) पुगेर ल्याउनुपर्थ्यो, हिजोआज घरमै पाइन्छ,’ उनले भने, ‘हामी सानो हुँदा गाउँभरिका मान्छेले भेडाबाख्रा पाल्थे, एउटा घरमा कम्तीमा पनि १ सय भेडाबाख्रा र गाईभैँसी हुन्थे, अचेल त्यस्तो छैन, युवा बजार जान थाले, विदेश जान थाले, त्यही भएर गोठालो गर्ने पनि घटे ।’

सिर्पालीका भेडाको बथानमा काला, सेता र खैरो रङ्गा पाठापाठी र माहु भेडाबाख्रा छन् । हुलमूलमा हराउने हुँदा ती सबैका सिङमा रातो, हरियो लगायतका रंग लगाइएका छन् । बर्खामा बुकी र हिउँदमा बेँसी झर्ने गर्दा घाँस र दाना पुर्‍याउन सहज हुने भएको छ । भेडापालनबाटै परिवार चलाउँदै आएको उनी बताउँछन् ।

पाँच भाइबहिनी छोराछोरी यही पेसाबाटै हुर्काएको र पढाएको जनाउँदै तीन छोरा र दुई छोरीको विवाहसमेत भेडा बेचेरै गरेको उनको भनाइ छ । आफूहरुले अहिलेसम्म भेडापालन गर्दै आए पनि छोराछोरीले यसतर्फ चासो नै नदिएको उनले बताए ।

उनले भेडा र गोठको सुरक्षाका लागि दुई कुकुर पालेका छन् । दुई कुकुरलाई गोठको दुई पट्टि बाँधेका छन् । यसले गर्दा गोठ सुरक्षित हुने उनी बताउँछन् । पहिले-पहिले गोठ बलाङ, मान्द्रो (बाँसको चोयाबाट बनेको सामान)ले बनाउने गरेका उनले अचेल त्रिपाल र टेन्टले छाएका छन् ।

स्थानीय, प्रदेश र संघीय सरकारले कृषिकका लागि हरेक वर्ष अनुदानका कार्यक्रम ल्याउने गरेको छ । तर ती कार्यक्रमले रनबहादुर जस्ता सयौँ किसानलाई अझै पनि छुनसकेको छैन । उनी भन्छन्, ‘कृषि अनुदान भन्ने मलाई थाहा छैन ।’ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.