मर्यादाक्रममा समेटिएन निजी क्षेत्र, चन्द्र ढकालको मुख्य अजेण्डा ओझेलमा

  २०८० कार्तिक १४ गते १६:०३     विकासन्युज

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सोमबार राष्ट्रिय मर्यादाक्रमसम्बन्धी विधेयक २०७९ को प्रतिवेदन पारित गरेको छ । सरकारले विधेयक दर्ता गरेको ८ महिनापछि विधेयकको दफाबार छलफल भएर समितिले विधेयकको प्रतिवेदन परिमार्जनसहित पारित गरेको हो ।

समितिले पारित गरेको प्रतिवेदनमा राष्ट्रपति देखि शिक्षकसम्मको मर्यादाक्रम छुट्याइएको छ । मर्यादाक्रममा राष्ट्रपतिदेखि शिक्षकसम्म अटाउँदा देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेका निजी क्षेत्रको संस्थागत नेतृत्व गरेका र स्वतन्त्र हिसाबले राज्यमा योगदान पुर्याइरहेका व्यक्तित्वहरु भने सो मर्यादाक्रममा अट्न सकेका छैनन् ।

निजी क्षेत्रले आफुहरुलाई मर्यादाक्रममा समेट्नु पर्ने आवाज उठाउन थालेको लामो समय भइसकेको छ । तर, निजी क्षेत्रमा यसमा समेट्न सरकारले तदारुकता देखाएको छैन ।  निजी क्षेत्रका नेताहरूले लामाे समयदेखि यसका लागि लविङ गरिरहेकाे भएपनि त्यसले सफलता पाउन सकेकाे छैन ।

यस पटक निजी क्षेत्र पनि आफुहरुलाई सरकारले मर्यादाक्रममा समेट्छ भन्ने अपेक्षामा थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केही कार्यक्रममा सरकारले निजी क्षेत्रलाई मर्यादाक्रममा समेट्ने तयारी गरिरहेको धारणा पनि दिएका थिए । तर, अन्ततः सरकारले निजी क्षेत्रलाई समेटेन ।

यसअघि एउटा सार्वजनिक कार्यक्रममा अध्यक्ष ढकालले व्यवसायीको पनि मर्यादाक्रम निर्धारणका लागि आफूहरुले पहल गरेको र यसमा सरकार सकारात्मक रहेको बताएका थिए। महासंघकाे अध्यक्ष भएपछि सार्वजनिक गरेका प्रमुख अजेण्डाहरू मध्ये व्यवसायिक नेताहरूको मर्यादाक्रम पनि हुनु पर्ने बताएका थिए ।

मर्यादाक्रममा निजी क्षेत्रलाई नसमेटिएको विषयमा नेपाल अफ चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले पनि असन्तुष्टि व्यक्त गरेका छन् । उनले समाजमा योगदान पुर्याएका अन्य क्षेत्रका व्यक्तिहरुलाई पनि मर्यादाक्रममा समेटेको भए राम्रो हुने तर्क गरे ।

सरकारले ल्याएको मर्यादाक्रमलाई सामन्ती सोचको उपजको रुपमा केही व्यक्तिहरुले आलोचना पनि गरेका छन् । नागरिक अगुवा तथा लेखक खगेन्द्र संग्रौलाले मर्यादाक्रमप्रति कटाक्ष गर्दै आफ्नो टोलको कुकुरलाई मर्यादाक्रममा छुटाएको भन्दै एक्समा स्टाटस लेखेका छन् ।

सरकारले वर्षेनी रुपमा राज्य वा समाजमा विभिन्न क्षेत्रबाट विशिष्ट योगदान पुर्याउनेहरुलाई विभुषण प्रदान गर्दै आएको जसमा निजी क्षेत्र र अन्य क्षेत्रका व्यक्तिहरु पनि समेटिने गरेका छन् । तर, सरकारले राज्यको औपचारिक निकायमा रहेर भन्दा धेरै योगदान पुर्याएका निजी क्षेत्र वा स्वतन्त्र विशिष्ट व्यक्तिहरुलाई मर्यादाक्रममा भने समेट्ने काम गरेन ।

उसो प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले पनि विभिन्न सार्वजनिक कार्यक्रममा निजी क्षेत्रलाई मर्यादाक्रममा समेट्ने आश्वासन दिँदै आएका छन् ।  गत चैतमा भएको महासंघको वार्षिक साधारणसभामा पनि उनले सो विषय बोलेका थिए । तर, उनले प्रतिवद्धता गरेअनुसार काम हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.