डा. सुवेदी र देउजालाईलाई सयपत्री राष्ट्रिय सम्मान

  २०८० कार्तिक १४ गते १२:१८     विकासन्युज

बनेपा । सयपत्री राष्ट्रिय सम्मान डा. सुवेदी र देउजालाई प्रदान गरिने भएको छ । यस वर्षको सयपत्री राष्ट्रिय सम्मान वरिष्ठ साहित्यकार प्रा.डा.अभि सुवेदी र साहित्यकार रामसुन्दर देउजालाई प्रदान गरिने सयपत्री प्रतिष्ठान नेपाल जनागालका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

वरिष्ठ साहित्यकार एवं प्रतिष्ठानका सल्लाहकार मोहन दुवालको संयोजकत्वमा गठित श्रष्टा छनौट समितिले राष्ट्रिय स्तरबाट डा. सुवेदी र काभ्रेबाट देउजाको नाम सिफारिस गरेकोलाई प्रतिष्ठानको हिजो सोमबार बसेको बैठकले अनुमोदन गरेको थियो । सयपत्री प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको अवसरमा विगत २०५५ सालदेखि वर्षेनी जनागालमा साहित्यिक कार्यक्रम गरी राष्ट्रिय स्तरका एक र काभ्रेली साहित्यकार एक जोडीलाई दम्पत्ति सहित सयपत्री राष्ट्रिय सम्मानद्वारा सम्मानित गर्दै आएको छ ।

यस वर्ष आगामी कार्तिक २५ गते शनिबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औं जन्मजयन्तिको अवसरमा डा. सुवेदीलाई उनकी जीवनसंगिनी विन्दु सुवेदी र साहित्यकार देउजालाई उनकी जीवनसंगिनी सावित्री देउजाकासाथ सयपत्री राष्ट्रिय सम्मान २०८०द्वारा सम्मानित गरिनेछ ।

सयपत्री सम्मानमा सम्मानित जोडीलाई सम्मान पत्र, सयपत्रीको माला, दुवोको माला, दोसल्ला, र बाटो खर्च पाँच हजार एक नगद रहेकोछ । कार्यक्रममा देशका विभिन्न क्षेत्रका र जिल्लाका श्रष्टाहरुको कविता वाचन हुने समेत अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरे, कृष्णचन्द्र सिंह प्रधान, रमेश विकल, चित्तरन्जन नेपाली, माधवलाल कर्माचार्य, शेषराज शिवाकोटी, मोहन दुवाल, तुलसी दिवस, मन्जुल, डा. खगेन्द्र लुइटेल, मोदनाथ प्रश्रित, डा.रामप्रसाद ज्ञवाली, अर्जुन पराजुली, डा. सुरेजराज शर्मा, ज्ञानकाजी मानन्धरको दम्पत्ति सहित ६६ जनालाई सयपत्री राष्ट्रिय सम्मानबाट सम्मानित गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.