जलवायु अनुकुलनको लागि छुट्याइएको रकम नेपालले पाउनु पर्छ : महासचिव गुटेरेस

  २०८० कार्तिक १४ गते ११:२२     विकासन्युज

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जलवायु अनुकुलनको लागि छुट्याइएको कोषको रकम नेपालले पाउनुपर्ने बताएका छन् ।

मंगलबार अन्नपूर्ण बेसक्याम्प अवलोकन भ्रमणपछि पोखरामा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । महासचिव गुटेरेसले जलवायु अनुकुलनको लागि बनाइएका कोषहरुको रकम जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल लगायतका देशहरुले पाउनुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनका कारण पीडित बनेको नेपाललाई समर्थन गर्न अन्य देशहरुलाई आग्रह गरे । उनले जलवायु परिवर्तनको असर कम गर्न हिमाल र हिमनदी जोगाउनुपर्ने बताए ।

उनले भने,‘हामीले यी अद्भुत हिमालहरू र यी अद्भुत हिम नदीहरू जोगाउनुपर्छ । जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल र नेपालजस्ता अन्य देशहरूलाई समर्थन गर्न आवश्यक छ । जलवायु परिवर्तनका कारण धेरै भागहरू भूस्खलन भएका छन् । धेरै समुदायमा जुन गहिरो रूपमा परेको नकारात्मक असर छ यसलाई मैले अन्तर्राष्ट्रिय समुदायमा अपिल गर्नेछु । पीडित समुदायको रक्षा गर्न र जलवायु अनुकुलनको लागि धेरै कोषहरू पनि छन् । यी कोषहरू क्षति कम गर्न र पीडित जनताको फाइदाका लागि बनाइएका हुन् । त्यसको उपयोग हुनुपर्छ ।’

महासचिव गुटेरेसले जलवायु परिवर्तनकै कारण धेरै ठाउँमा भूस्खलन भएको भन्दै यसबाट पीडित समुदायका लागि विश्वस्तरबाटै प्रभावकारी कदम चाल्नुपर्ने बताए । उनले जलवायु परिवर्तनको असरलाई कम गर्न प्रभावकारी ऐक्यववद्धता आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.