नेपालीलाई मलेसियामा काम पाउन सकस, आम्दानी घट्दै

  २०८० कार्तिक १३ गते ११:०७     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपालीहरु सबैभन्दा बढी जाने देशमध्येको एक हो मलेसिया । धेरै नपढेर र धेरै सीप नभएपनि मलेसिया गएर नेपालीहरुले राम्रो कमाइ गर्दै आएका छन् । हाल मलेसियामा मलेशियामा पाँच लाख नेपाली आप्रवासी कामदारहरू रहेको अनुमान पनि गरिन्छ ।

तर, पछिल्लो समय नेपाली कामदारलाई विदेशमा काम पाउन सकस भइरहेको बुझिएको छ । मलेशियामा केही समयदेखि पहिलाको जस्तो नियमित काम पाउन गाह्रो भइरहेको त्यहाँका आप्रवासी नेपालीहरूले गुनासो गरेका छन् । त्यहाँको समस्याबारे कतिपय कामदारका आफन्तले नेपालको वैदेशिक रोजगार विभागमा उजुरी पनि दिन थालेका छन् ।

वैदेशिक रोगजार विभागका अधिकारीहरू पनि समस्या समाधानका लागि काम गरिरहेको बताउँछन् । विभागका महानिर्देशक मदन दाहालले कामदारका आफन्तले काम नपाएको विषयमा उजुरी गरेको बताए । उनले ती समस्या समाधानका लागि विभाग काम गरिरहेको बताए । उनका अनुसार कामदारले अतिरिक्त समय काम नपाउँदा न्यूनतम १,५०० रिङ्गिटभन्दा बढी कमाउन नसकेको केही गुनासो पनि सुनिएको छ ।

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भण्डारीले जस्तै महानिर्देशक दहालले पनि समस्या लम्बिँदै गए आगामी दिनमा गाह्रो हुन सक्ने सङ्केत गरे ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्षले पनि मलेशियामा नेपाली कामदारलाई पछिल्लो समय समस्या भइरहेको बताए । वैदेशिक रोजगारमा जाने नेपालीहरूमध्ये खास गरी अर्धदक्ष र अदक्ष कामदारका लागि मलेशिया आकर्षक गन्तव्यको रूपमा रहेको छ ।

मलेशियास्थित आप्रवासी कामदारको हकहितको क्षेत्रमा काम गर्दै आएका एक नेपालीका अनुसार कतिपय कम्पनीले माग घटेपछि साप्ताहिक बिदाको समय बढाउन थालेको पाइएको छ ।

‘माग घटेकोले उत्पादन घटाउनु परेको भन्दै पहिला हप्तामा एक दिनमात्र बिदा दिने कतिपय कम्पनीले हप्ताको शनिवार र आइतवार दुई दिन बिदा दिन थालेका छन्,’ नाम उल्लेख नगर्ने सर्तमा उनले भने।

कामदारलाई कतिपय कम्पनीहरूले ‘ओभरटाइम’ अर्थात्‌ तोकिएको भन्दा अतिरिक्त समयमा काम दिन पनि छाडेका कामदारहरूले गुनासो गरेका छन् । ‘ओभरटाइम काम दिँदा तलब बढ्ने भएर कम्पनीहरूले काम नदिएका होलान्,’ ती नेपालीले भने ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार मलेशियामा पछिल्लो समय खास गरी सरसफाइ र सेवासम्बन्धी कम्पनीहरूमा नियमित काम पाउन समस्या देखिएको छ ।

‘विशेष गरी सर्भिस सेक्टरमा जानुभएका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरू केही समय कामविहीन भएर बस्नुपरेको हामीलाई जानकारी आएको छ,’ उनले भने।

‘अहिलेसम्म समस्याले ठूलै रूप त लिइसकेको छैन, तर बजार खस्कँदै गयो भने भविष्यमा धेरै नेपालीले रोजगारी गुमाउन सक्छन्,’ भण्डारीले थपे ।

विगतमा काममा जाने नेपालीहरूले भिसा अवधि सकेपछि अझ गर्न चाहनेहरूले थपाएर काम गर्दै आएका थिए । तर, अहिले धेरै कम्पनीले भिसा अवधि थपाउन आवश्यक नरहेको नेपाली कामदारलाई भन्न थालेका विवरणहरू आएका छन् । बिबिसीको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.