प्रतिनिधि सभामा बैंकिङ कसुर र भन्सार विधेयक प्रस्तुत

  २०८० कार्तिक १२ गते १५:४९     विकासन्युज

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा बैंकिङ कसुर र भन्सार विधेयक पेस भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० तथा भन्सार विधेयक २०८० प्रस्तुत गरिएको हो

दुवै विधेयक अर्थमन्त्री डा. प्रकाशशरण महतका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेका छन् ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख भएअनुसार बैंकिङ कसुर तथा सजाय ऐन संशोधन प्रक्रिया अघि बढाइएको हो । मौद्रिक नीतिमा वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्‍याउने गैरव्यावसायिक तथा उच्छृंखल गतिविधिलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी विद्यमान बैंकिङ कसुर ऐन २०६४ मा समसामयिक संशोधन प्रक्रिया अघि बढाइने उल्लेख छ ।

बैंक तथा वित्तीय क्षेत्रका कमर्चारीलाई गालीगलौज गर्ने, दुर्व्यवहार गर्ने तथा अराजक गतिवधि गर्ने कार्य बढेपछि त्यसलाई निरुत्साहित गर्न राष्ट्र बैंकले ऐन संशोधनको आवश्यकता महसुस गरेको जनाइएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतले अभियान नै सञ्चालन गरेर केही महिनाअघि बैंक वित्तीय संस्थाका कर्मचारीमाथि कालोमोसो दल्ने तथा दुर्व्यवहार गर्ने गर्दै आएका थिए ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संसदका दुवै सदनलाई कात्तिक १४ गते मंगलबार अपराह्न ४ बजे सम्बोधन गर्नेसम्बन्धी जानकारी गराए । महासचिव गुटेरेसले सम्बोधन गर्ने दिन संसदमा औपचारिक पोसाकमा उपस्थित हुन पनि उनले सांसदहरुलाई निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.