महासचिव गुटेरेसको लुम्बिनी भ्रमण : विश्वभर शान्ति प्रवाह हुने अपेक्षा

  २०८० कार्तिक १२ गते १३:१७     भरत केसी

 

लुम्बिनी । संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ को अप्रिलमा बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गरेका थिए । त्यस भ्रमणसँगै लुम्बिनीको विकास र प्रचारप्रसारमा महत्त्वपूर्ण थालनी भयो ।

राष्ट्रसङ्घका तेस्रा महासचिव ऊको त्यो भ्रमणसँगै लुम्बिनीको विकासमा महत्त्वपूर्ण योगदान पुगेको बताइँदै आएको छ । उनको पहलमा यस क्षेत्रको विकासका एउटा अन्तर्राष्ट्रिय समिति गठन भएको थियो । त्यसक्रममा महासचिव ऊले लुम्बिनीको विकास पर्याप्त नभएको देखेर तत्कालीन राजा महेन्द्रसँगको भेटमा लुम्बिनीको विकासका लागि आफू सहयोग गर्न तयार रहेको धारणा व्यक्त गरेका थिए ।

विश्वका शान्तिप्रेमी र बौद्धमार्गीको पवित्र थलो भएकाले ऊको लुम्बिनी भ्रमणपछि यसलाई पर्यटकीय क्षेत्र एवं तीर्थस्थल बनाउने योजना अन्तर्राष्ट्रियस्तरमै तय गरिएको थियो । त्यस भ्रमणपछि लुम्बिनीको योजनाबद्ध विकास सुरुआत भएको मानिन्छ ।

जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाङ्गेले राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊकै आग्रहमा लुम्बिनीको गुरुयोजना तयार गर्नुभएको थियो । उक्त गुरुयोजना र लुम्बिनीको विकास तथा प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरको समिति गठन गर्ने कार्यमा पनि संयुक्त राष्ट्रसङ्घकै भूमिका रहेको छ ।

सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक टाङ्गेले तयार पारेको गुरुयोजना ४५ वर्ष बितिसक्दा पूरा हुन सकेको छैन । गुरुयोजनाअनुसार अहिलेसम्म करिब ८५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । त्यसपछि अहिलेसम्म संयुक्त राष्ट्रसङ्घका महासचिव तथा पदाधिकारीले लुम्बिनीलाई विशेष चासो र महत्त्वका साथ हेर्दै आएका छन् ।

राष्ट्रसङ्घको महासचिवका रूपमा ड्याग ह्यामरकेजोल्ड, ऊ थान्त, ज्याभियर पेरेज डि कुइलर, कर्ट वाइल्डहाइम र बानकी मुनले लुम्बिनीको भ्रमण गरेका थिए ।

राष्ट्रसङ्घका महासचिवका रुपमा हाल एन्टोनियो गुटेरेस मङ्गलबार लुम्बिनी भ्रमणका लागि आउने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ । उनी आउने राष्ट्रसङ्घको छैटौँ महासचिव हुन् ।

महासचिव गुटेरेसको भ्रमणबाट लुम्बिनीको विकासका कोषेढुङ्गा सावित हुने लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बताए । ‘नेपाल भ्रमण गर्ने हरेक राष्ट्रसङ्घका महासचिवको बुद्धको जन्मस्थल भ्रमण गर्नु लुम्बिनीकै इतिहास, गौरव र बुद्धको सन्देश संसारभर पुर्‍याउन सफलता मिलेको छ’, उनले भने, ‘यसपटक पनि भ्रमणले निरन्तरता पाउने भएकाले लुम्बिनीवासीका लागि यो गौरवको विषय बनेको छ ।’

महासचिव गुटेरेसको भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ समेत लुम्बिनी आउने कार्यक्रम तय भएको कोषका उपाध्यक्ष डा लामाले जानकारी दिए । यसबाट राष्ट्रसङ्घको रोहवरमा दस वर्षे युद्धपछि माओवादी पार्टी शान्ति प्रक्रियामा आएको र विस्तृत शान्तिसम्झौता हुँदै हाल संविधान कार्यान्वयन र शान्ति प्रक्रियाकै अन्तिम चरणमा रहेको अवस्थामा महासचिवको लुम्बिनी भ्रमणका बेला प्रधानमन्त्रीसमेतको सहभागिताले विश्वभर शान्तिको सन्देश जाने उनले बताए ।

राष्ट्रसङ्घको मुख्य उद्देश्य विश्वमा शान्तिको सन्देश पुर्‍याउनु हो । महासचिवको लुम्बिनी भ्रमणले नेपालको भूमिबाट विश्वभर शान्तिको सन्देश पुग्नु नेपालका लागि गौरवको विषय भएको उपाध्यक्ष लामाको भनाइ थियो । यस भ्रमणले अहिले विभिन्न मुलुकबीच भइरहेका युद्धलाई नेपालबाट शान्तिको सन्देश प्रभाहित हुनु नेपालका लागि अर्को गौरवको विषय हुने भएको छ । यस भ्रमणले नेपालमा अहिले देखिएको आर्थिक सङ्कटलगायत समस्या समाधान गर्न, लुम्बिनीलाई धार्मिक पर्यटकीय हिसाबले विकास गर्न, बृहत्तर लुम्बिनीको पर्यटन प्रवद्र्धनबारे विश्वभर प्रचारप्रसार गर्न र संसारका सम्पूर्ण मानवको शान्तिका लागि सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

महासचिव गुटेरेसको स्वागतका लागि कोषले आवश्यक तयारीसमेत गरिसकेको कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिए । उनका अनुसार मङ्गलबार बिहान करिब ९ बजेदेखि १० बजेभित्र महासचिव गुटेरेस लुम्बिनीमको औपचारिक कार्यक्रममा रहनेछन् ।

महासचिव गुटेरेस शान्तिदीप हुँदै मायादेवी मन्दिरमा पुगेर प्रार्थना गर्नाका साथै र त्यहाँको वातावरण अवलोकन गर्नुहुने कोषले जनाएको छ । कोषकतर्फबाट त्यहाँ लुम्बिनी क्षेत्र र गुरुयोजनाका विषयमा जानकारीपश्चात् सञ्चारकर्मीसँग गुटेरेसले आफ्नो शान्तिको सन्देशसहितको भनाइ राख्ने कार्यक्रम तय भएको सदस्यसचिव शाक्यले बताए ।

महासचिव गुटेरेस शान्तिदीपबाट मायादेवी मन्दिरसम्म पैदलै जाने र त्यसक्रममा स्थानीय आमा समूह, लुम्बिनीस्थित विभिन्न भिक्षु भिक्षुणीले स्थानीय कलासंस्कृतिसहित स्वागत गर्ने कार्यक्रम छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.