दशैंमा सहकारी पीडितको विचल्ली, मन्त्री निवासमा सञ्चालकहरुको भीड

  २०८० कार्तिक ८ गते ९:०६     अनुसा थापा

काठमाडौं । केही दिनअघि भूमि सुधार तथा सहकारी मन्त्रालयमा सर्वसाधारणको निकै नै भीड थियो । सहकारी सञ्चालकहरु आफ्नो सहकारीलाई समस्याग्रस्त घोषणा नगर्नका लागि अनुरोध गर्न पुगेका थिए । अर्कोतिर, समस्याग्रस्त घोषणा भइसकेका सहकारी सञ्चालकहरु त्यो हटाउनका लागि सहकारीमन्त्री रञ्जिता श्रेष्ठलाई भेट्न गएका थिए ।

मन्त्रालयमा मात्र होइन्, विभागमा पनि सहकारी सञ्चालकहरुको लस्कर थियो । सहकारी सञ्चालकहरु आफ्नो सहकारीलाई समस्याग्रस्त हुनबाट जोगाउन हरकोशिस गरिरहेका छन् । प्रलोभन देखाएर हुन्छ कि पहुँच लगाएर सहकारी सञ्चालकहरु आफ्नो योजना सफल पार्न जोडतोडका साथ लागिपरेका छन् । मन्त्री र विभागका महानिर्देशक भेट्ने दौडधुप चलेको छ ।

अहिले ठूलो संख्यामा सहकारी समस्यामा रहेको पाइन्छ । उनीहरुले बचतकर्ताको बचत फिर्ता दिन सकिरहेका छैनन् । यता, बचतकर्ताले सहकारीमा बचत गर्न नै छोडिदिएका छन् । सरकारले सहकारी जोगाउनका ऐन नै परिवर्तन गर्न लागेको छ । पहिलेको ऐनमा एउटा व्यक्तिले सहकारीमा २५ लाख रुपैयाँ मात्र राख्न पाउने उल्लेख छ । हाल सीमा हटाउन सहकारीका सञ्चालकहरुले माग गरिरहेको मन्त्रालयका एक अधिकारीले बताए ।

सहकारीले बचत फिर्ता नदिँदा लाखौ बचतकर्ताको दशैं नै खल्लो भएको छ । पैसा नहुँदा कतिपय गाउँ जान सकेनन् त कतिपयलाई दशैं मान्नै महामुश्किल पर्यो । यता, सहकारी सञ्चालकलाई चाँहि मन्त्री र विभागका महानिर्देशक भेटेर भ्याइनभ्याइ छ ।

आफ्नो निक्षेप डुबेपछि यसअघि सहकारी पीडितहरुले महिनौं आन्दोलन गरेका थिए । सरकारले उनीहरुको आन्दोलन रोक्न आश्वासन दियो । सात बुँदे सहमति गरेको थियो । यता, सहकारी पीडितहरुको समस्या समाधानका लागि सरकारले कमिटीसमेत गठन गरेको थियो ।

उक्त कमिटीले भदौ २५ गते प्रतिवेदन बुझाइसकेको छ । तर, सो प्रतिवेदन दराजमा थन्काइएको छ । बचतकर्ताहरु बचत गुमेपछि रोएर हिँडेका छन् । हजारदेखि करोडसम्म डुबेको छ । करोडपतिबाट रातारात सडकपति बनेका छन्, बचतकर्ता । यद्यपि, सहकारी सञ्चालकहरु अझैपनि कालो सिसा भएको गाडी चढेर हिँडेका छन् । सरकारचाँहि तिनीहरुलाई कारबाही गर्नुको साटो उल्टै तिनकै कुरा सुनिरहेको छ ।

One comment on "दशैंमा सहकारी पीडितको विचल्ली, मन्त्री निवासमा सञ्चालकहरुको भीड"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.