घट्यो आयातसँगै निर्यात, यी हुन धेरै आयात हुने वस्तुहरु

  २०८० असोज ३० गते १३:४३     विकासन्युज

काठामाडौं । पछिल्लो समय विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुुको निर्यातमा कमी आउन थालेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको दुई महिनाको तथ्यांक अनुसार आयातसँगै निर्यातमा कमी आएको हो ।

आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा कुल वस्तु निर्यात ७.८ प्रतिशतले कमी आई २६ अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३४.९ प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १५.६ प्रतिशतले कमी आएको छ भने र चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३३८.५ प्रतिशत र ५.१ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, अलैंची, पार्टिकल बोड, पोलिस्टर धागो, जुस लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, जुटका सामान, ऊनी गलैचा, औषधी (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा कुल वस्तु आयात ५.१ प्रतिशतले कमी आई २५९ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.० प्रतिशतले कमी आएको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.२ प्रतिशत र २१.५ प्रतिशतले कमी आएको छ भने चीनतर्फको आयात २५.४ प्रतिशतले वृद्घि भएको छ ।

वस्तुगत आधारमा एम.एस. तार, छड, बार तथा क्वाइल, तयारी पोशाक, विद्युत्तीय उपकरण, लत्ताकपडा, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, औषधी, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले कमी आई २३३ अर्ब ३० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ९.४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ३२ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २६ अर्ब २३ करोड रुपैयाँ बराबरको भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.