अब घरबाटै कम्पनी दर्ता गर्न सकिने, यस्तो छ प्रक्रिया

  २०८० असोज १० गते ११:३४     विकासन्युज

काठमाडौं । अब भौतिक रुपमा उपस्थित नभएरै घरमै बसेर अनलाइन मार्फत् कम्पनी दर्ता गर्न सकिने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले घरमै बसेर कम्पनी दर्ता गर्न सकिने व्यवस्था गर्न लागेको हो ।

असोज १५ गतेदेखि सबै काम अनलाइनबाटै गर्ने गरी कार्यालयले तयारी गरिरहेको छ । असोज १५ गतेपछि अब कम्पनी सम्बन्धि सबै काम अनलाइनबाटै हुने कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार बर्तराज पौडेलले जानकारी दिए ।

उनका अनुसार कार्यालयले असोज १५ गतेदेखि प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी अनलाइन मार्फत् दर्ता गर्न सकिने व्यवस्था लागू गर्न लागेको हो । कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटो छरितो, विश्वसनीय तथा प्रविधिमैत्री बनाउन कम्पनी दर्तालाई अनलाइनका माध्यमबाट गर्न लागिएको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ ।

सुरुवाती चरणमा नयाँ कम्पनी अनलाइन मार्फत् दर्ता गर्न सक्ने व्यवस्था लागू गर्दै विस्तारै नवीकरण पनि अनलाइनबाटै गर्न मिल्ने व्यवस्था लागू गर्न लागेको पौडेल बताउँछन् ।

नयाँ र पुरानोमा के छ फरक ?

कम्पनी रजिष्ट्रार कार्यालयले पहिलो पटक अनलाइन सिष्टम (सफ्टवेयर) सञ्चालन गर्न भने लागेको होइन । कार्यालयले वि.स २०७० सालदेखि अनलाइन मार्फत् कम्पनी दर्ताको प्रबन्ध गर्दै आएको छ । तर, यसअघिको सिष्टममा अपलोड भएका फाइलहरु बीना जानकारी कम्पनीका अधिकारीहरुले हेर्ने व्यवस्था थिएन ।

‘अहिले हामीले अनलाइन सिष्टम भनेपनि आधाभन्दा कम काम मात्र अनलाइन मार्फत भइरहेका छन्, अब पूर्ण रुपमा अनलाइमा जान खोजिएको हो’, उनले भने । इसअघि सेवाग्राहीले जानकारी नगराएसम्म कम्पनीका अधिकारीहरुले अपलोड भएको फाइलका विषयमा कुनै जानकारी पाउँदैनथे ।

‘यसअघिको सिष्टममा सेवाग्राहीले अनलाइन मार्फत डकुमेन्ट समिट गर्नुहुन्थ्यो, उहाँहरु कार्यालयमा आएर सबमिसन नम्बर हामीलाई दिएपछि मात्र हामीले उहाँहरुको फाइल हेर्न मिल्थ्यो’, कम्पनीका उपरजिष्टार पौडेलले भने, ‘अहिलेको सिष्टममा हामीले सबै अपग्रेड गरेका छौँ, भौतिक रुपमा उपस्थित बिनै कम्पनीका सबै काम अनलाइनबाटै हुन्छ ।’

उनले सबै काम अनलाइनबाटै हुने गरी कार्यालयले डिजिटल हस्ताक्षरको तयारी थालेको बताए । ‘अहिले डाटा अपलोडको काम अनलाइनबाटै गरेपनि अनुमति पत्र अथवा सिफारिस लिन कार्यालयमै धाउनु पर्ने बाध्यता छ, हामीले अनुमति पत्र लिन समेत कार्यालयमा आउन नपर्ने गरी डिजिटल हस्ताक्षरको तयारी थालेका छौँ, अब कम्पनीको सबै काम घरमै बसेर हुन्छ’, उनले भने ।

कम्पनीको तथ्यांक अनुसार हाल ३ लाख कम्पनी दर्ता छन् । उस्तै प्रकृति रहेका पब्लिक कम्पनीमा एक व्यक्ति एक व्यवसाय बाहेक अन्यमा बस्न पाइँदैन । तर, पूर्ण रुपमा अनलाइन सिष्टम लागू नहुँदा कम्पनीका सचिव, सञ्चालकहरु अन्य कम्पनीमा भए नभएको विवरण समेत विभागसँग छैन ।

कसैले उजुरी गरे अध्ययन गरेर प्रतिवेदन निकालिए पनि कम्पनीसँग त्यसको तथ्यांक छैन । कम्पनी रजिष्ट्रारको कार्यालयले प्रयोग गरिहेको पुरानो सफ्टवेयर परिवर्तन भएको र नयाँ सफ्टवेयर ल्याएपछि तथ्याङ्क स्थानान्तरण (डाटा माइग्रेसन) का लागि केही समय लाग्ने बताइएको छ । जसकारण नवीकरणका काम भने भौतिक रुपमै हुनेछन् ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कम्पनी दर्तालगायतका काम विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गरेको थियो । कार्यालयले असोेज १५ गतेपछि सबै काम अनलाइनबाट गर्नका लागि मन्त्रालयसँग थप जनशक्ति माग गरेको छ ।

‘अहिले हामीसँग सीमित संख्यामा मात्र कर्मचारीहरु हुनुहुन्छ, अनलाइन सिष्टम पूर्ण रुपमा लागुभएपछि यसका लागि थप जनशक्ति आवश्यक पर्छ, हामीसँग केही अपुग भएका कारण हामीले जनशक्ति माग गरेका छौं,’ उनले भने ।

उनका अनुसार लेखा, राजश्व र वित्तीय विवरण विश्लेषणका थप कर्मचारीहरु माग गरिएको हो । कार्यालयमा हाल आइटी (प्रविधि) क्षेत्रका कर्मचारीहरु भएकै कारण अन्य क्षेत्रका कर्मचारीको दरबन्दी माग गरिएको उनले बताए । हाल कम्पनीले अल्फाबेट अनुसार कार्यविभाजन गरेर काम गर्दै आएको छ । अनलाइन सिष्टम लागू भएपछि पनि सोही अनुसार काम गर्ने तयारी छ ।

इन्फो डेभलपर्सले कम्पनी अनलाइनको सम्पूर्ण काम गरिरहेको छ । १० वर्षअघि पुरानै सफ्टवेयर पनि इन्फो डेभलपर्सले नै तयार पारेको थियो । १० जनाको समूहले हाल कम्पनी दर्ताका सम्पूर्ण काम गरिरहेको बताइएको छ ।

के छ प्रक्रिया ?

सुरुमा कम्पनी रजिष्ट्रार कार्यालयको अनलाइन पोर्टलमा गएर प्रयोगकर्ताको आईडी बनाउनु पर्नेछ । बनेको युजर आइडी र पासवर्डको साहयताले कम्पनी दर्ता गर्ने साइट खुल्नेछ ।

साइटमा नयाँ कम्पनीका लागि फर्म आउनेछ । सो फर्म भरेर सबमिट गर्नु पर्नेछ । अन्तिममा सबमिसन नम्बरका आधारमा कम्पनीका अधिृकतहरुले तपाईंको प्रक्रियाका बारेमा जानकारी दिनेछन् ।

फर्म पुरा भएमा प्रक्रिया अगाडि बढ्छ भने अपुग भएको डकुमेन्ट पुनः राख्नका लागि सन्देश छोड्नेछन् । सोही आधारमा अनलाइनबाटै कम्पनी दर्ता गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.