पर्यटन क्षेत्रका लागि बैंकको ब्याज तिर्ने चुनौति, डिजिटल मार्केटिङ आवश्यक

  २०८० असोज १० गते ८:०१     विकासन्युज

काठमाडौं । विज्ञहरुले नेपालको पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘हाम्रो पर्यटन, अब कता ?’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्यटन क्षेत्रका विज्ञहरुले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका हुन् ।

विद्यमान ऐन, कानूनहरुले पर्यटन क्षेत्रको विकास सम्भव नहुने भन्दै ऐन, कानूनलाई समयानुकुल परिमार्जन गर्दै समृद्ध बनाउनुपर्ने उनीहरुले बताएका छन् । त्यस्तै विज्ञहरुले पर्यटन क्षेत्रको विकासका लागि स्पष्ट कार्ययोजना हुनुपर्ने धारणा समेत राखेका छन् ।

पर्यटन विभागका निर्देशक कालिप्रसाद भुजेलले पर्यटन विभागलाई नै नेपालको कुनै ऐन, कानूनले नचिन्ने अवस्था रहेको बताए । पर्यटन विभागले मन्त्रालयको सचिवले दिएको अधिकार प्रत्यायोजनबाट काम गरिरहेको उनको भनाइ छ । उनले ऐनले विभागलाई निश्चित बाटोहरु दिएमा काम अगाडी बढाउन सकिने भन्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए । नेपालको विकासमा पर्यटन क्षेत्रको विकल्प नभएको उनको भनाइ छ ।

‘पर्यटन विभागलाई कुनै ऐन र कानूनले चिन्दैन, पर्यटन ऐनले पर्यटन विभाग नै चिन्दैन, मन्त्रालयको सचिवले दिएको अधिकार प्रत्यायोजनबाट काम गर्नु परेको छ, अब बन्ने नयाँ ऐनले काम गर्न आधार तय गर्नेछ,’ उनले भने, ‘नेपालमा पर्यटनको विकल्प छैन, उत्पादनमुखि उद्योगहरु सञ्चालन गरेर विश्व बजारमा बेच्न सक्ने अवस्था छैन, त्यसैले पर्यटक भित्राउन सकेमात्रै भविष्य उज्वल छ ।’

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रमा नीतिगत स्पष्टता आवश्यक रहेको बताए । व्यक्तिपिच्छे फरकफरक बाटो हिँड्ने गरिएको भन्दै पर्यटन विकासका लागि एउटै बाटो बनाउनुपर्ने उनको भनाइ छ । नीतिमा स्पष्टता दिएपछि पूर्वाधार विकासमा जोड दिनुपर्ने उनले बताए । उनका अनुसार पर्यटनको विकासका लागि अध्ययन गर्न विज्ञ समूह नै बनाउनुपर्ने छ ।

‘पर्यटनको विकासमा बनाइएको बाटो गलत छ, पर्यटन कस्तो बनाउने भन्नेमा छलफल आवश्यक छ, प्रधानमन्त्री फेरिँदैमा भाषा फेरिनु हुँदैन, मुख्य मार्गदर्शन अनुसार अघि बढ्नु पर्याे, व्यक्तिपिच्छेको बाटो भएर कहिले यो देश बन्छ ?,’ उनले भने, ‘नीतिगत रुपमा हामी स्पष्ट छैनौँ, नीति स्पष्ट नभएपछि व्यक्तिपिच्छेको भएको हो, नीति स्पष्ट भएपछि पूर्वाधार निर्माणमा आउनुपर्छ, पर्यटन ऐन तुरुन्त अगाडी बढाउनुपर्यो ।’

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजाल पर्यटन क्षेत्रमा हाल भएका कानूनहरुको कार्यान्वयन भएमात्रै पनि धेरै राहत हुने बताउँछन् । ऐन, कानून भएर मात्रै नहुने भन्दै त्यसलाई कार्यान्वयन गर्ने मान्छेपनि उपयुक्त हुनुपर्ने उनको भनाइ छ । सम्बन्धित मन्त्रालयको मन्त्रि, सचिव र सरोकारवाला अन्य व्यक्तिहरु पर्यटन क्षेत्र बुझेको भएमात्रै यस क्षेत्रको विकासमा काम गर्न सकिने उनले बताए ।

‘हाल भएका नियम, कानूनहरु पूर्ण रुपमा कार्यान्वयन हुनु पर्छ, ५० प्रतिशत मात्रै भएपनि धेरै राहत पुग्छ, अनि त्यो कार्यान्वयन गर्ने मान्छे पनि उपयुक्त हुनुपर्छ, मन्त्री, सचिव पर्यटन बुझेको मान्छे आउनुपर्छ,’ उनले भने ।

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपक जोशीले पर्यटन क्षेत्रको विकासमा पहिलो चुनौतिको रुपमा पूर्वाधारको अवस्था रहेको बताए । उनका अनुसार नीतिगत स्थिरता र नेतृत्व स्थिर हुन नसक्दा पनि यस क्षेत्रमा समस्या भएको हो । उनले पर्यटन क्षेत्र विगत ४० वर्ष अघिको जत्तिको पनि राम्रो हुन नसकेको टिप्पणी हुने गरेको उल्लेख गरे ।

‘सबैभन्दा ठूलो चुनौति पुर्वाधार कै छ, अर्को चुनौति नीतिगत स्थिरता, नेतृत्वको स्थिरताले पनि प्राथमिकता कायम गर्न दिएको छैन, आजभन्दा ४० वर्ष अगाडी नेपालको पर्यटक एकदम राम्रो थियो तर, अहिले झनझन खस्किदै आएको छ,’ उनले भने ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोलाले देशको नीति पर्यटनमैत्री नभएको भन्दै पर्यटनमैत्री नीति बनाउनु जरुरी रहेको बताए । पर्यटकलाई विमानस्थल, अध्यागमनमा समस्या हुने गरेको भन्दै यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । त्यस्तै संघीय सरकारले पर्यटन विकासका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने उनले बताए ।

‘पर्यटनमैत्री नीति बनाउनु जरुरी छ, विमानस्थलदेखि अध्यागमनमा समस्या छ, कर्मचारीलाई व्यक्तिगत रुपमा खुशी नबनाएमा काम नहुने, पर्यटन गन्तव्यहरुको संरक्षण, पर्यटनसँग सम्बन्धित सम्भावना बोकेको ठाउँलाई संरक्षण गर्दै गुरुयोजना अनुसार नै काम गर्नुपर्छ,’ उनले भने, तत्कालिन, अल्पकालिन र दिर्घकालिन गुरुयोजनाको कन्सेप्टमा गइदिने हो भने स्थानीय सरकारले पनि त्यसैमा टेकेर बाध्यता भएर उसले अन्त खर्च नगरीकन त्यहाँ भएका पर्यटन गन्तव्यहरुलाई नै संरक्षणतिर लगानी गर्नुपर्ने देखिन्छ ।’

होटल एशोसिशयन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले नेपालमा दिन प्रतिदिन होटलहरु थप भइरहेका भन्दै यसमा खुशी हुनुपर्ने बताए । होटल सञ्चालन क्षमताको एकतिहाइ क्षमतामा मात्र होटल सञ्चालन भइरहेको उनको भनाइ छ । काठमाडौं, भैरहवा र पोखराको विमानस्थल राम्रोसँग चलाउन सके ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने अवस्थामा होटल क्षेत्र रहेको उनले बताए ।

‘काठमाडौं, भैरहवा, पोखराको विमानस्थल राम्रोसँग चलाउने हो भने ३५ लाख पर्यटकलाई हामी सेवा दिनसक्छौँ, त्यो क्षमता हामीसँग आजै छ, हाम्रो समस्या भनेको पूर्वाधार नै हो, पर्यटन, होटलको जति ह्याण्डिल गर्ने हाम्रो क्षमता हो, त्यसको हाराहारीमा हामी एकतिहाईको क्षमतामा मात्रै सञ्चालन भएको छ, बैंकबाट कर्जा लिएको छ, साँवा, ब्याज तिर्ने कसरी हो भन्ने चुनौति नै हो हाम्रो लागि,’ उनले भने ।

नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)का अध्यक्ष रमेश थापाले पर्यटक आवागमन गर्ने सडक चुस्त, दुरुस्त हुनुपर्नेमा जोड दिए । त्यस्तै पर्यटकहरुलाई घुम्नका लागि एकद्वार प्रणाली बनाउनुपर्ने उनले बताए ।

‘बाटोलाई चुस्त, दुरुस्त राख्नुपर्यो, एउटा पर्यटक जति पनि ठाउँमा घुम्नको लागि जान खोज्छ, उसको लागि एकद्वार प्रणाली बनाउनु पर्यो, डिजिटाइज गर्नुपर्यो, पर्यटकलाई दिने सेवा, सुविधामा एकद्वार प्रणाली ल्याउनुपर्छ, यसले उनीहरुलाई घुम्न सहज हुन्छ,’ उनले भने ।

टुरिष्ट गाइड एशोसिशयन अफ नेपाल (टुर्गान)का अध्यक्ष बद्री नेपालले देशमा अनुभवी गाइडहरु घट्दै गइरहेको बताए । उनले टुरिष्ट गाइडहरु प्रोत्साहित हुन नसकेको बताए । उनले गाइडहरु दुई महिना काम गरेर बाँकी १० महिना बेरोजगार बस्नुपर्ने अवस्था आउनु नहुने बताए ।

‘अनुभवी गाइडहरु घट्दै गइरहनुभएको छ, हामीलाई प्रोत्साहित गरिएको छैन, दुई महिना गाइड पाइएन भनिन्छ, तर त्यो गाइड दुई महिना काम गरेर अर्को १० महिना बाँच्न सक्ला ? हामीले उसलाई वर्षभरी इन्गेज गराउन सकिएन भने हामीले त्यो दुई महिनाको मात्रै संख्या हेरेर गाइड पुगेन भन्नु कति उपयुक्त होला ? अरु बेला हजारौँ गाइडहरु सुतेर बसेको अवस्थालाई मध्यनजर गर्नुपर्छ कि भन्ने मलाइ लाग्छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै गाउँ पर्यटन प्रवद्र्धन मञ्चका उपाध्यक्ष तारालाल धरेलले नेपालमा पर्यटनको विकासका लागि डिजिटल मार्केटिङ आवश्यक रहेको बताए । उनले पर्यटन क्षेत्रलाई समृद्ध बनाउनका लागि विज्ञ समूह बनाएर काम गर्नुपर्ने बताए । नेपाल डिजिटल रुपमा कमजोर रहेको उल्लेख गर्दै उनले यसलाई बलियो बनाए धेरै पर्यटक ल्याउन सकिने बताए । हवाइ उडानका कारण पर्यटकहरुले धेरै कष्ट भोग्नु परिरहेको भन्दै यसतर्फ पनि सरोकारवाला निकायको उनले ध्यानाकर्षण गराए ।

‘डिजिटल्ली हामी अलि कमजोर छौँ, नेपालमा यदी साँच्चिकै पर्यटक ल्याउने हो भने, नेपाललाई साँच्चिकै पर्यटनबाट समृद्ध बनाउछौँ भने डिजिटल केही न केही भएको छ, जहाँ पुग्नुपर्ने हो, जति हुनुपर्ने हो त्यति डिजिटल मार्केटिङ हामीले विश्वव्यापी रुपमा गर्न सकेका छैनौँ, विज्ञ समूह बनाऔँ, नीजि क्षेत्र, सरकारी निकाय र व्यवसायिक संघसंस्थाको विज्ञ समूह बनाएर योजना बनाएर अघि बढ्नुपर्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.