सरकार र आन्दोलनकारी शिक्षकबीच ६ बुँदे सहमति

  २०८० असोज ५ गते १७:४०     विकासन्युज

काठमाडौं । सरकार र आन्दोलनकारी शिक्षकबीच ६ बुँदे सहमति भएको छ । तीन दिनदेखि शिक्षक महासंघको नेतृत्वमा ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ विरोधमा राजधानी केन्द्रित आन्दोलन गरेका शिक्षक र सरकारबीच शुक्रबार सिंहदरबारमा सो सहमति भएको हो ।

संददीय प्रणालीअनुसार नै विधेयकको प्रकृया अगाडि बढाउने सहमति सहित दुई पक्षबीचमा सहमति भएको मस्यौदामा उल्लेख गरिएको छ । सहमतिसँगै शिक्षकहरुले विद्यालय शिक्षा विधेयकमा असहमति र माग सहित राजधानी केन्द्रित भएर गरेको आन्दोलन स्थगत हुने भएको छ ।

हेर्नुहोस सहमतिको मस्यौदा
१. नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने ।

२. विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मा भएका देहायका व्यवस्थाहरुमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडी बढाउन सहजीकरण गर्ने

(क) शिक्षकको दश दश वर्षमा आवधिक बढुवा हुने व्यवस्था गर्न ।
(ख) माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवा हुनको लागि न्यूनतम पाँच वर्ष सेवा कायम गर्ने ।
(ग) प्रजातान्त्रिक एवं पेशागत आन्दोलन तथा द्वन्द प्रभावित शिक्षक तथा कर्मचारीको विस्थापित भएको मितिबाट पुनर्वहालीसम्म वा निवृत्त भएको वा सेवाबाट राजीनामा दिएको अवधिसम्म टुटेको सेवा अवधि निवृत्तभरण वा उपदान वा अन्य सुविधा प्रयोजनको लागि गणना गर्ने।
(घ) शिक्षक तथा कर्मचारीसम्बन्धी विभागीय कारबाही र सजाय सम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्ने ।
(ङ) विगतमा निम्नमाध्यमिक द्वितीय तथा प्राथमिक द्वितीय श्रेणी पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका शिक्षकको पद समायोजन गर्ने ।
(च) सम्बन्धित स्थानीय तहभित्र शिक्षक तथा प्रधानाध्यापकको सरुवा गर्दा विद्यालय व्यवस्थापन समितिको सहमतिमा गर्ने ।
(छ) शिक्षकले शिक्षा नियमावली, २०५९ बमोजिम पाइरहेको उपचार खर्चको व्यवस्थालाई समावेश गर्ने।
(ज) योगदानमा आधारित निवृत्तभरण प्रारम्भ हुने मिति निजामती कर्मचारीलाई भए सरह व्यवस्था गर्ने।
(झ) शिक्षकको निवृत्तभरण प्रयोजनको लागि अपुग हुने अवधि निजको अस्थायी सेवा अवधिबाट गणना गर्ने ।
(ञ) शिक्षकको सेवा प्रवेशको अधिकतम अवधि चालीस वर्ष कायम गर्ने ।
(ट) साविक उच्च माध्यमिक विद्यालयमा स्वीकृत दरवन्दी र अनुदानकोटामा कार्यरत शिक्षक, राहत शिक्षक, विशेष शिक्षक, छुट अस्थायी करार, प्राविधिक धार र शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकको सिमित प्रतिष्पर्धाका सम्बन्धी व्यवस्थालाई एक पटकको लागि आन्तरिक तर्फ पचहत्तर प्रतिशत कायम गर्ने ।

३. शिक्षा सम्बन्धी विज्ञ तथा नेपाल शिक्षक महासंघसमेतको सहभागितामा नियमावली तर्जुमा गर्ने र नियमावलीमा देहायका विषय समावेश गर्ने

क) कार्यसम्पादन मुल्याङ्कन गर्दा शिक्षकको हकमा प्रधानाध्यापकले र प्रधानाअध्यापकको हकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मूल भूमिका हुने गरी व्यवस्था गर्ने,
ख) पेशागत हक हित लगायतका नेपाल शिक्षक महासंघ सम्बन्धी अन्य विषयहरु,
ग) सार्वजनिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा अभिभावकको बाहुल्य हुने गरी संख्या निर्धारणा सम्बन्धी विषय,
घ) विद्यालय शिक्षक तथा कर्मचारीले पाउने दुर्गम भत्ता, महति भत्ता तथा रोड वृद्धि तथा समायोजन लगायतका सुविधा सम्बन्धी विषय
ङ) सार्वजनिक विद्यालयका शिक्षकको संचित विदा र सो बापतको रकमसम्बन्धी विषय ।
(च) शिक्षक तथा विद्यालय कर्मचारीको तहगत प्रणाली र तहमा समायोजनसम्बन्धी विषय ।
(छ) शिक्षक अनुमतिपत्रसम्बन्धी व्यवस्था र साविक उच्च माध्यमिक विद्यालययमा नियुक्त पाएका शिक्षकको छुट अनुमतीपत्रसम्बन्धी विषय ।
(ज) आंशिक शिक्षक सम्बन्धी विषय ।
(झ) शिक्षक अभिभावक संघसम्बन्धी विषय ।
(ञ) शिक्षक सेवा आयोगको परीक्षामा विद्यालय शिक्षकले आन्तरीक प्रतिष्पर्धा गर्नेसम्बन्धी व्यवस्था ।
(ट) यस अघि नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघ बीच मिति २०७८/११/९ मा भएको समझदारीलाई प्रत्यायोजित विधायनको व्यवस्था बमोजिम प्रारम्भिक बालविकाससम्बन्धी व्यवस्था गर्ने विषय र सेवाबाट अवकाश हुँदा प्राप्त गर्ने सुविधा सम्बन्धी विषय ।

४. राष्ट्रिय मापदण्डमा समावेश गर्ने विषय :

क) विद्यालय कर्मचारीको दरबन्दीको विषय,
ख) सार्वजनिक विद्यालयमा कार्यरत कर्मचारीको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आवद्धता लगायतका सुविधाको विषय,
ग) संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीको नियुक्ति पत्र प्रदान गर्ने विषय, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आवद्धता लगायतका सुविधा र अभिलेख व्यवस्थापनको विषय,
घ) विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तालिम तथा क्षमता अभिवृद्धिसम्बन्धी विषय,
ङ) विद्यालय कर्मचारीको छनोट सेवा सुविधा तथा शर्तसम्बन्धमा एकरुपता कायम गर्न नमुना कानून तर्जुमा सम्बन्धमा,
च) शिक्षकको दरबन्दी मिलान तथा पद मिलानसम्बन्धी व्यवस्था स्थानीय आवश्यकता, विषयगत व्यवस्था, विद्यार्थी संख्या र विद्यार्थीको पहुँचलाई आधार बनाउने र यस विषयमा सम्बन्धित शिक्षा कार्यालयबाट समन्वय गर्ने विषय ।
(छ) संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका विषयमा संयन्त्र बनाउने र संयन्त्रमा शिक्षक तथा कर्मचारीको पेशागत संस्थाको प्रतिनिधित्व हुने विषय ।

५. विद्यालय शान्तिक्षेत्र भन्ने मान्यताका साथ सबै किसिमका विद्यालयका काम कारवाही आवश्यक सेवा संचालन सम्बन्धी संघीय कानूनको परिधिभित्र पारी पठन पाठन सञ्चालन हुने व्यवस्था गर्ने र शिक्षकलाई आवश्यक सुरक्षाको प्रत्याभूति प्रदान गर्ने।

६. नेपाल शिक्षक महासंघद्वारा आह्वान गरिएका काठमाडौ केन्द्रित सबै किसिमका कार्यक्रमहरु आजको मितिबाट सार्वजनिक लगायत सबै किसिमका विद्यालयमा अध्ययन अध्यापनलाई नियमित गरी पठन पाठन सञ्चालन गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.