अमेरिकी सिनेटर र ओलीबीच भेट : एमसीसी र शान्ति प्रक्रियाबारे चासो

  २०८० भदौ १७ गते १७:२८     विकासन्युज

काठमाडौं । अमेरिकी सिनेटर क्रिस भान होलेन र नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा आइतबार ओली र होलेनबीच शिष्टाचार भेट भएको हो । नेपाल भ्रमणमा रहेका होलेनले अध्यक्ष ओलीसँगको भेटमा शान्ति प्रक्रियाको बाँकी कामबारे चासो व्यक्त गरेका थिए ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको बताए । उनले सिनेटरले नेपालको शान्ति प्रक्रियाको बारेमा जिज्ञासा राखेको र अध्यक्ष ओलीले आफू सरकारमा रहँदा नै शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन पहल गरेको बताएको जानकारी दिए ।

अहिले पनि अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुनेगरी टुंगोमा पुग्नुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर अघि बढ्ने ओलीले बताए ।

भेटमा सिनेटरले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) एमसीसी नेपालले अनुमोदन गरेर कार्यान्वयन गर्न सुरु गरेकोमा खुसी लागेको बताएका थिए । अमेरिकाले सम्झौता कार्यान्वयन गर्न सुरु भएकोमा अमेरिका सकारात्मक रहेको बताए ।

होलेन शुक्रबार नेपाल आएका हुन् । होलेन अमेरिकी संसदको विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.